काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) अन्तर्गत वीर अस्पतालस्थित राष्ट्रिय ब्रेन ट्युमर केन्द्र (एनबीटीसी)ले विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक गरेको राष्ट्रिय बहुकेन्द्रीय तथ्याङ्कअनुसार नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो क्रममा रहेको देखिएको छ।
केन्द्रले सोमबार सार्वजनिक गरेको वि.सं. २०८१ र २०८२ को तथ्याङ्कअनुसार २०८२ मा देशभर करिब ३ हजार जना ब्रेन ट्युमरका बिरामी उपचारका लागि पुगेका छन्। यो संख्या अघिल्लो वर्षको करिब २ हजार ६ सयको तुलनामा १५.४ प्रतिशत बढी हो।
नेपालभरका २० भन्दा बढी न्युरो केन्द्रबाट संकलित तथ्याङ्कअनुसार सन् २०८२ मा उपचारमा आएका बिरामीमध्ये १ हजार ५०२ जना पुरुष र १ हजार ४९८ जना महिला रहेका छन्। औसत उमेर ४६.३२ वर्ष रहेको अध्ययनले देखाएको छ भने ३० देखि ५० वर्ष उमेर समूहका बिरामीको संख्या सबैभन्दा बढी रहेको जनाइएको छ।
तथ्याङ्कअनुसार ग्लियोमा दुवै वर्षमा सबैभन्दा धेरै देखिएको ब्रेन ट्युमर हो। सन् २०८२ मा उच्च-ग्रेड ग्लियोमा (HGG) को अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ। केन्द्रका अनुसार यसले बिरामीहरू रोग गम्भीर बनेपछि मात्रै उपचारका लागि अस्पताल पुग्ने प्रवृत्ति रहेको संकेत गर्छ।
यस्तै, मेनिन्जियोमाको हिस्सा २०८१ को ७.४ प्रतिशतबाट बढेर २०८२ मा २७.१ प्रतिशत पुगेको छ भने ग्रेड–३ मेनिन्जियोमा १५ प्रतिशतले घटेको तथ्याङ्कमा उल्लेख छ। यसलाई सकारात्मक संकेतका रूपमा लिइएको छ।
प्रदेशगत रूपमा बागमती प्रदेशबाट सबैभन्दा धेरै अर्थात् ३६.४ प्रतिशत बिरामी उपचारका लागि आएका छन्। तर कर्णाली र सुदूरपश्चिम प्रदेशमा सेवाको पहुँच अझै न्यून रहेको अध्ययनले देखाएको छ।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा. राजीव झाले प्रारम्भिक पहिचान र समयमै उपचारमा जोड दिँदै ब्रेन ट्युमरका बिरामीको संख्या वर्षेनि बढ्दै गएको बताए। उनले प्रारम्भिक अवस्थामै रोग पहिचान र उपचार गर्न सके धेरै बिरामीको जीवन बचाउन सकिने उल्लेख गरे।
यस अवसरमा नेपालमा न्युरोअन्कोलोजी सेवाको विकासमा योगदान पुर्याएको भन्दै डा. चारधाम बुढाथोकीलाई 'च्याम्पियन अफ न्युरोअन्कोलोजी केयर २०२६' सम्मान प्रदान गरिएको केन्द्रले जनाएको छ।
केन्द्रले नेपालमै जटिल ब्रेन ट्युमरको उपचारलाई थप प्रभावकारी बनाउन हाइब्रिड अपरेटिङ रुम, रेडियोसर्जरी मेसिन तथा इन्ट्राअपरेटिभ ट्युमर फ्लोरेसेन्स प्रविधिको तत्काल आवश्यकता रहेको औँल्याएको छ।
यसैबीच, वीर अस्पतालले विगत दुई वर्षदेखि लागू गर्दै आएको ब्रेन ट्युमर शल्यक्रिया शुल्क निःशुल्क गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ। अस्पतालले जुन महिनाको अन्त्यसम्म सम्पूर्ण ब्रेन ट्युमर शल्यक्रियाको शुल्क मिनाहा गर्ने निर्णय गरेको जनाएको छ। अस्पतालका अनुसार यसबाट आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने बिरामीहरूलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।