१. परिचय
स्तनपान नवजात शिशुको जीवनको पहिलो र सबैभन्दा महत्वपूर्ण पोषण स्रोत हो। यसले शिशुलाई आवश्यक पोषक तत्व प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, मस्तिष्क विकास तथा भावनात्मक सुरक्षा सुनिश्चित गर्दछ। विश्व स्वास्थ्य संगठनले जन्मपछिका पहिलो ६ महिनासम्म पूर्ण स्तनपान (exclusive breastfeeding) सिफारिस गरेको छ। खोज अनुसन्धानबाट १२ महिना नै स्तनपान गराउँदा ४.३% ले स्तन क्यान्सरको जोखिम कम हुने देखाएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ६ महिनामुनिका करिब ५६% शिशु मात्र पूर्ण स्तनपानमा रहेका छन्, यसले स्तनपान प्रवर्धन अझै सार्वजनिक स्वास्थ्यको प्राथमिक आवश्यकता भएको संकेत गर्दछ। आयुर्वेदले स्तनपानलाई “स्तन्य” को रूपमा व्याख्या गर्दै यसलाई मातृ स्वास्थ्यको प्रतिविम्ब मान्दछ।
२. आयुर्वेदिक सैद्धान्तिक आधार
आयुर्वेद अनुसार स्तन्य “रस धातु” बाट उत्पन्न हुने उपधातु हो। आहार पाचन भएपछि बन्ने रस धातुको गुणस्तरले स्तन्यको मात्रा र गुण निर्धारण गर्दछ। यस प्रक्रियामा पाचन प्रणाली (अग्नि), शरीरका दोषहरू (वात, पित्त, कफ) र शारीरिक नलीहरू (स्रोतस) को सन्तुलन अत्यन्त महत्वपूर्ण हुन्छ।
अग्नि (पाचन शक्ति): यदि आमाको पाचन शक्ति (अग्नि) मन्द छ भने, आहारबाट पोषण अवशोषण सही तरिकाले हुन पाउँदैन र स्तन्य निर्माणमा अवरोध पुग्छ।
दोषहरूको भूमिका: वात दोष वृद्धि हुँदा स्तन्य प्रवाह अवरुद्ध हुन सक्छ, पित्तको असन्तुलनले दूधको गुणस्तर (तातोपन, अम्लता) बिगार्न सक्छ र कफ दोषको सन्तुलन सीधा स्तन्य उत्पादनसँग सम्बन्धित हुन्छ।
३. स्तनदूध कमीका कारण
अल्पस्तन्यता (Hypogalactia) बहुआयामिक समस्या हो, यसलाई आयुर्वेदले निम्न कारणहरूसँग जोडेर हेर्दछ:
पोषणको कमी: आमाले पर्याप्त प्रोटिन, फ्याट, भिटामिन र खनिज पदार्थ नलिएको खण्डमा दूध उत्पादन घट्छ।
शारीरिक अवस्था: अविकसित स्तनका ग्रन्थिहरू र हर्मोनल विकारहरूले गर्दा दूध उत्पादन कम हुन सक्छ।
संक्रमणजन्य अवस्था: स्तनमा चोट, चिरफार गरेको वा कुनै रोगको संक्रमण भएको बेलामा पनि दूध उत्पादन कम हुन सक्छ।
औषधि सेवन: कुनै व्याधिजन्य कारणले गर्दा इस्ट्रोजेन (estrogen) हर्मोनजन्य औषधि सेवन गरेको अवस्थामा पनि दूध उत्पादन कम हुन सक्छ।
मानसिक तनाव: तनावले दूध निष्कासनका लागि आवश्यक अक्सिटोसिन (Oxytocin) हर्मोनलाई दबाउँछ, जसले गर्दा स्तनमा दूध भएर पनि बाहिर निस्कन कठिन हुन्छ।
प्रसूति पश्चातको कमजोरी: सुत्केरी अवस्थामा हुने रक्तक्षय, अत्यधिक थकान र ऊर्जाको अभावले शरीरलाई दूध उत्पादन गर्न असक्षम बनाउँछ।
निद्रा र जीवनशैली: पर्याप्त निद्राको कमी र अपर्याप्त पानीको सेवनले पनि दूधको मात्रामा नकारात्मक प्रभाव पार्दछ।
सामाजिक तथा आर्थिक कारण: शिक्षा, स्थान र आयस्तर अनुसार स्तनपान अभ्यासमा भिन्नताको प्रभाव पर्दछ।
४. स्तन्यवर्धनमा आहार र जीवनशैली
स्तन्य उत्पादनमा आहार र जीवनशैलीको भूमिका औषधिभन्दा पनि बढी प्रभावकारी हुन सक्छ। यसका मुख्य पक्षहरू निम्न छन्:
पोषण र रस धातु: आयुर्वेदमा स्तनदूधलाई 'रस धातु' को उपधातु मानिन्छ। यसको अर्थ, आमाले खाएको आहार पाचन भएपछि बन्ने रस जति गुणस्तरीय हुन्छ, स्तनदूध पनि त्यति नै राम्रो र पर्याप्त हुन्छ। त्यसैले, शरीरलाई दूध उत्पादन गर्न सक्षम बनाउन पर्याप्त प्रोटिन, फ्याट, भिटामिन र मिनरल्सयुक्त पौष्टिक आहार अनिवार्य हुन्छ।
पाचन प्रणालीको महत्त्व: आयुर्वेदका अनुसार यदि आमाको पाचन (अग्नि) कमजोर छ भने जतिसुकै पोसिलो खाए पनि शरीरले त्यसलाई सोस्न सक्दैन, जसले दूध उत्पादनमा कमी ल्याउँछ। ज्वानो जस्ता द्रव्यले यही पाचन प्रक्रिया सुधारेर अप्रत्यक्ष रूपमा दूध बढाउन मद्दत गर्छन्।
नियमित स्तनपान र पानी: पर्याप्त मात्रामा पानी पिउनु र नियमित रूपमा स्तनपान गराउनु दूधको मात्रा कायम राख्नका लागि आधारभूत जीवनशैलीका अंग हुन्। नियमित स्तनपानले हर्मोनहरूलाई सक्रिय राख्न सहयोग गर्छ।
औषधिसँगको समन्वय: शतावरी जस्ता आयुर्वेदिक औषधिहरूले शरीरको हर्मोनल प्रणालीमा काम गरे पनि, यदि आहार र जीवनशैली ठिक छैन भने ती औषधिको प्रभाव निकै सीमित हुन्छ।
५. आयुर्वेदिक स्तन्यजनन द्रव्यहरू
आयुर्वेदमा स्तन्य वृद्धि गर्ने द्रव्यहरूलाई “स्तन्यजनन” भनिन्छ:
शतावरी (Asparagus racemosus): प्रत्यक्ष स्तन्यवर्धक, फाइटोइस्ट्रोजेन (phytoestrogen) युक्त, प्रोल्याक्टिन (prolactin) वृद्धि गर्ने
ज्वानो (Trachyspermum ammi): पाचन सुधार गरेर अप्रत्यक्ष रूपमा स्तन्य वृद्धि गर्ने
दशमूल तेल: मालिसद्वारा तनाव घटाउने, अक्सिटोसिन (oxytocin) स्राव बढाउने
६. आधुनिक विज्ञानसँग समन्वय
आधुनिक चिकित्सामा आवश्यक अवस्थामा डोम्पेरिडोन (Domperidone) जस्ता औषधिहरू प्रयोग गरिन्छ, जसको प्रयोग चिकित्सकीय निगरानीमा गरिनु आवश्यक हुन्छ।
आधुनिक विज्ञान अनुसार:•
Prolactin → दूध उत्पादन
Oxytocin → दूध निस्कासन
NDHS २०२२ अनुसार पूर्ण स्तनपान दर ५६% मात्र रहेको देखिन्छ, जसले सहरीकरण, जीवनशैली परिवर्तन र कार्यभारको प्रभाव संकेत गर्दछ। आयुर्वेदिक दृष्टिकोणले भने पोषण, पाचन, मानसिक सन्तुलन र जीवनशैली सुधारमार्फत स्तन्यवृद्धिलाई सहयोग गर्ने समग्र (holistic) पद्धतिमा जोड दिन्छ। दुवै प्रणालीको उचित समन्वयले मातृ–शिशु स्वास्थ्य सुधारमा सहयोग पुर्याउन सक्छ।
७. मातृ–शिशु स्वास्थ्य प्रवर्धन कार्यक्रम
नेपालमा मातृ–शिशु स्वास्थ्य सुधारका लागि लक्षित कार्यक्रम आवश्यक छन्।
उद्देश्य:
स्तनपान दर वृद्धि
कुपोषण न्यूनीकरण
मातृ–शिशु मृत्युदर घटाउने
लक्षित समूह:
स्तनपायी आमाहरू (विशेष गरी सुत्केरी)
कुपोषित तथा ग्रामीण क्षेत्रका महिलाहरू
कार्यक्रम गतिविधि:
आयुर्वेदिक औषधि (शतावरी, दशमूल) प्रयोग
स्वास्थ्य शिक्षा र जनचेतना
स्वास्थ्यकर्मी तालिम
८. चुनौती र सावधानी
औषधिको मानकीकरणको अभाव
विशेषज्ञ परामर्शको आवश्यकता
सहरी क्षेत्रमा स्तनपान दर कम हुनु
बोतलको दूध (Bottle feeding) को वृद्धि
त्यसैले औषधि मात्र होइन, आहार, जीवनशैली र व्यवहार परिवर्तन आवश्यक हुन्छ।
९. निष्कर्ष
स्तनपान मातृ–शिशु स्वास्थ्य प्रवर्धनको आधारभूत स्तम्भ हो। आयुर्वेदले स्तन्य उत्पादनलाई पोषण, पाचन र मानसिक अवस्थासँग जोडेर दीर्घकालीन समाधान प्रदान गर्दछ। नेपालमा पूर्ण स्तनपान दर अझै सन्तोषजनक नभएकाले आयुर्वेदिक ज्ञान र आधुनिक स्वास्थ्य प्रणालीबीच समन्वय आवश्यक देखिन्छ। सही आहार, जीवनशैली र औषधिको संयोजनले अल्पस्तन्यताको समस्या प्रभावकारी रूपमा समाधान गर्न सकिन्छ।
-(लेखक शम्भु चापागाईं प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँका वरिष्ठ कविराज निरीक्षक हुन्।)