काठमाडौं- नेपाल चिकित्सक संघले कटारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साहमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनको समर्थनमा प्रेस विज्ञप्ति जारी गरेको छ। संघका महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिनमा डा. साहको भूमिका सकारात्मक रहेको स्पष्ट पारिएको छ।
गत जेठ ११ गते कटारी अस्पतालमा पोस्टमार्टम सम्बन्धी घटनालाई लिएर मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साहमाथि दुर्व्यवहार भएको थियो। उक्त घटनाको सत्यतथ्य, प्रमाण र सम्बन्धित पक्षहरूको धारणा अध्ययन गर्न जेठ २० गते कटारीमा एक सर्वदलीय तथा सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरिएको थियो। नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं कोशी प्रदेश संयोजक डा. रोशन खड्काको उपस्थितिमा भएको उक्त छलफलले समस्या समाधानका लागि सहजीकरण गरेको संघले जनाएको छ।
संघका अनुसार केही व्यक्ति र सञ्चार माध्यमले वास्तविक तथ्यलाई बंग्याएर अतिरञ्जित ढंगले प्रस्तुत गरेको पाइएको छ। डा. साहले घटनासँग सम्बन्धित तथ्यहरू प्रमाणसहित सार्वजनिक गर्दै अस्पताल, स्वास्थ्यकर्मी र सेवाग्राहीको हितलाई केन्द्रमा राखी संयमित र जिम्मेवार भूमिका निर्वाह गरेको ठहर संघको छ।
'सीमित स्रोत–साधनका बीच अस्पतालको सेवा प्रवाहलाई निरन्तरता दिँदै, आफ्नो मातहतका कर्मचारीहरूको सुरक्षा र मनोबललाई प्राथमिकता दिनुका साथै सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला पक्षहरूसँग संवाद र समन्वय कायम गर्न डा. साह सफल हुनुभएको छ,' संघले भनेको छ।
व्यक्तिगत सुरक्षा चुनौतीका कारण अस्पताल छाड्न बाध्य भएको अवस्थामा समेत अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित हुन नदिन डा. साहले गरेको पहल प्रशंसनीय रहेको संघले उल्लेख गरेको छ।
विगत १० वर्षदेखि कटारी अस्पतालमा निरन्तर सेवा प्रदान गर्दै आएका डा. साहको योगदानको मूल्यांकन गर्दै उनलाई पुनः अस्पतालमा सेवा दिने वातावरण बनाउन आग्रह र समर्थन गर्ने सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकप्रति संघले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
स्वास्थ्य सेवा जस्तो अति संवेदनशील क्षेत्रमा समाचार सम्प्रेषण गर्दा तथ्यको पुष्टि, सन्तुलन, संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई विशेष ध्यान दिन नेपाल चिकित्सक संघले सम्पूर्ण सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूलाई हार्दिक आग्रह गरेको छ।