काठमाडौं- बागलुङको ढोरपाटन नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा फैलिएको दादुरा नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानअन्तर्गत हालसम्म ५ हजार ६५६ जनालाई दादुरा–रुबेला खोप लगाइएको छ।
फागुन २० गतेदेखि ढोरपाटन नगरपालिकाका यी वडाहरूमा दादुरा फैलिन थालेपछि राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले प्रभावित क्षेत्रमा तत्काल खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए।
उनका अनुसार खोपबाट वञ्चित समुदायलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको हो।
ढोरपाटन नगरपालिकाका तीन वडामा ११३ वटा दादुराका शंकास्पद केस देखिएका थिए। तीमध्ये २१ जनाको नमुना संकलन गरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु मा परीक्षण गर्दा ७ जनामा दादुरा पुष्टि भएको थियो।
सबैभन्दा धेरै संक्रमण वडा नम्बर ८ मा देखिएको थियो। संक्रमितमध्ये करिब ८३ प्रतिशत दलित समुदायका व्यक्ति रहेका थिए।
डा. गौतमका अनुसार अधिकांश संक्रमितले विगतमा दादुरा विरुद्धको खोप नलगाएको पाइयो।
“हाल खोपको कभरेज राम्रो भए पनि विगतमा खोप नलगाएका कारण संक्रमण फैलिएको देखिन्छ,” उनले भने।
संक्रमण देखिएलगत्तै जिल्ला, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीको टोली फिल्डमा खटिएको र प्रभावित क्षेत्रबाट नमुना संकलन गरी परीक्षण गरिएको उनले जानकारी दिए।
उपचारको अवस्था
दादुराबाट प्रभावित बिरामीहरूको उपचार बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा भइरहेको छ।
बुर्तिबाङ अस्पतालमा भर्ना भएका ६३ जना बिरामीमध्ये ३९ जना निको भएर घर फर्किएका छन्, भने २४ जनाको उपचार जारी छ।
बोबाङ स्वास्थ्य चौकीमा भर्ना भएका १० जनामध्ये ४ जना निको भएका छन् भने ६ जनाको उपचार भइरहेको छ।
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीले सक्रिय खोजी, जोखिम सञ्चार, स्वास्थ्य सचेतना तथा निगरानी कार्यलाई निरन्तरता दिएको टेकुस्थित बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ।
प्रभावित समूह
दादुरा प्रभावित व्यक्तिहरू ६ महिनादेखि ४८ वर्ष उमेर समूहका छन्। बिरामीमध्ये पुरुष ५७ र महिला ५६ जना रहेका छन्। संक्रमितमध्ये १६ वर्षकी एक गर्भवती महिला र १८ वर्षकी स्तनपान गराइरहेकी महिला पनि रहेकी छन्।
बिरामीहरूमा सामान्यदेखि जटिल प्रकारका लक्षण देखिएका थिए। केहीमा पखाला, निमोनिया, पेट दुखाइ तथा नाकबाट रगत बग्ने समस्या पनि देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
दादुरा कस्तो रोग हो ?
दादुरा (मिजल्स) एक अत्यन्त संक्रामक भाइरल रोग हो, जुन विशेष गरी ५ वर्षमुनिका बालबालिकामा बढी देखिन्छ।
यो रोग श्वासप्रश्वासमार्फत हावाबाट सर्छ। यसका मुख्य लक्षणहरूमा उच्च ज्वरो, खोकी, रुघा, आँखा रातो हुनु र शरीरमा रातो बिमिरा देखिनु पर्छन्।
संक्रमित व्यक्तिको सम्पर्कमा आएको १०–१२ दिनपछि लक्षण देखिन सुरु हुन्छ।
दादुरा संक्रमित व्यक्तिबाट डाबर देखिनु भन्दा ४ दिनअघि र देखिएको ४ दिनपछि सम्म अरूमा सर्न सक्छ।
दादुराबाट कसरी बच्ने ?
दादुराबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय दादुरा–रुबेला खोप हो।
मुख्य उपाय
खोप लगाउने:
९ महिनामा पहिलो मात्रा
१५ महिनामा दोस्रो मात्रा
छुटेमा २४ महिनाभित्र अनिवार्य लगाउने
भिटामिन ‘ए’ सेवन:
स्वास्थ्यकर्मीको सल्लाह अनुसार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने
बिरामीलाई अलग्गै राख्ने:
संक्रमित व्यक्तिलाई केही दिन छुट्टै कोठामा राख्ने
स्वास्थ्य सरसफाइमा ध्यान दिने