स्वास्थ्य क्षेत्र धेरै विषयहरुले भरिपुर्ण छ। आजको २१ औं शताब्दीमा मानिसहरुको दैनिक जीवनको हरेक क्रियाकलापलाई स्वास्थ्यको दृष्टिकोणले हेर्ने गरिन्छ। यसमा क्षेत्रमा चिकित्सक, प्रयोगशालाकर्मी, जनस्वास्थ्यकर्मीदेखि औषधि विज्ञानमा कार्यरत सम्पूर्ण व्यक्ति पर्दछन्। सबै स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको भूमिका धेरै नै प्रसंशायोगुय छ। यीनै विषयमध्ये जनस्वास्थ पनि स्वास्थ्य क्षेत्रको एक प्रमुख विषयको रुपमा रहेको छ।
यसैबीच पछिल्लो समय महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रकोपले गर्दा पनि जनस्वास्थ्य पेशाले विश्वमा छुट्टै छाप छोड्न सफल भएको छ। कोभिड–१९ को कारणले गर्दा हरेक क्रियाकलापमा उल्लेख भएको जनस्वास्थ्यका मापदण्ड भन्ने शब्दले पनि यसको थप महत्व बढाईरहेको छ। विगतका वर्षमा मानिसहरुको मानसपटलमा हात धुन सिकाउने विषयको रुपमा मात्रै सिमित जस्तो देखिएको जनास्वस्थ्यले महामारीको समयमा विश्वलाई खोपको माध्यमबाट आफूलाई जनमानसमा थप परिचित गराउन र आफ्नो दायरा फराकिलो देखाउन सफल भएको छ।
जनस्वास्थ्य विषय स्नातक तहको परामेडिक्सतर्फ छुट्टै विषयको रुपमा अध्ययन गर्ने गरिन्छ। स्नातक तहमा यस विषय अध्ययन गर्न प्लसटुमा विज्ञान संकाय लिएको तथा स्वास्थ्य विज्ञानको कुनै पनि विषय अध्ययन गरेर समकक्षता लिएको हुनुपर्छ भने स्नाकोत्तर अध्ययन गर्नको लागि स्वास्थ्य विज्ञान संकायमा स्नातक गरेको हुनु पर्दछ। चिकित्सा शिक्षा आयोगको भर्ना प्रक्रिया हेर्दा हाल स्नातक तहमा ३७ वटा शैक्षिक संस्थामार्फत १ हजार ३ सय ५० वटा कोटा रहेको छन् भने स्नाकोत्तर तर्फ १३ शैक्षिक संस्थामार्फत १ सय ६५ वटा कोटा रहेको छन्। भर्ना प्रक्रिया हेर्दा स्नाकोत्तरतर्फ धेरै जसो कोटामा विद्यार्थी भर्ना भएको देखिएको छ भने स्नातक तर्फका आधिकाश शैक्षिक संस्थाहरुमा विधार्थीको अभाव देख्न सकिन्छ। यसै वर्ष चिकित्सा शिक्षा आयोगबाट लिएको स्नातक तर्फको परीक्षामा १ हजार ३ सय ५० सिटमध्ये ९ सय ३१ सिट रिक्त रहेको छ। यसले पनि आभिभावक र विधार्थीको रोजाईको विषय नभएको निष्कर्ष निकाल्न सकिन्छ।
विसं २०७२ सालमा गएको भूकम्पको अवस्थाले सिर्जना गराएको जनस्वास्थ्य अध्ययन गर्ने विधार्थीको चाप हालको अवस्था हेर्दा ठ्याकै विपरित देख्न सकिन्छ। कुनै पनि अभिभावकले आफ्ना सन्तानले अध्ययन गर्ने विषयको बारेमा बुजेर मात्र अध्यापन गराउने गर्छन्। हालको परिस्थिति हेर्दा यो विषय न त आभिभावक न त विधार्थीको छनोटमा परेको देख्न सकिन्छ। कुल १ हजार ३ सय ५० मध्ये दुई तिहाई प्रतिशत भन्दा बढी कोटा खालि हुनुले यसलाई पुष्टि गरेको छ। हालसम्म अध्ययन गरेका विद्यार्थीहरुको पनि वैदेशिकयात्राको लहरले गर्दा पनि जनस्वास्थ्य पेशाको भविष्य माथि प्रश्न चिन्न खडा भएको छ।
जागिरको कम अवसर, निम्न आय, चर्को अध्ययन शुल्क र वैदेशिकभविष्यको खोजि जस्ता कारणले गर्दा विद्यार्थीहरुको अन्तर्रास्ट्रिय विश्वविद्यालयमा आकर्षित हुने गरेको देखिन्छ। यस्तो परिस्थितिको कारण नेपालमा जनस्वास्थ्य विषय अध्ययन गराउने शैक्षिक संस्थाहरु थप बेरोजगार उत्पादन गर्ने थलो बन्नेमा दुई मत छैन।
हाल त्रिभुवन विश्वविधालयमा स्नातक तह अध्ययनरत एक विद्यार्थी भन्छन्, हालको अवस्थामा जनस्वास्थ्य अध्ययनपछि आफ्नो भावी योजना प्रष्ट नभएको र अध्ययन पश्चात केही समयको वैदेशिक अनुभब लिएर पछि आफ्नै देशमै केही गर्ने सोच भएको बताउँछन्। नेपालमा जनस्वास्थ्यको क्षेत्र व्यापक भएता पनि आफू निपुर्ण नभए दिगो रुपमा स्थापित हुन गाह्रो हुने उनको बुझाई छ। वैदेशिकशिक्षाको सन्दर्भमा उनि भन्छन् “नेपालमा चिकित्सा शिक्षा व्यवारिक र राम्रो भएता पनि विश्वविधालयमा हुने चरम राजनीतिले गर्दा यहाँ थप अध्ययनलाई समय खर्च गर्न सकिने अवस्था छैन।“ नेपालमा चिकित्सा क्षेत्र अध्ययन गर्न लाग्ने खर्चले विदेशको राम्रो विश्वविधालयमा छात्रवृत्तिमा अध्ययन गर्न सकिने उनको भनाई छ।
जनस्वास्थ्य अध्ययन गरेर जागिरे जिवनमा रहेका अर्का एक जनस्वास्थ्यकर्मीको बुझाईमा जनस्वास्थ्य क्षेत्रमा जागिरका लागि ज्यादै न्यून अवसर रहेको र खुलेका विज्ञापनमा पनि न्यूनतम योग्यतामा जनस्वास्थ्यसँगै समाजशास्त्र अध्ययन गरेकालाई पनि प्राथमिकता राखिदा आफूहरु आवसरबाट बन्चित हुनु परेको छ। अहीलेको आवस्थामा रोजगारी योग्यताले मात्रै भन्दा पनि पहुँचको आधारमा प्राप्त हुने भएकोले निजि संस्थाका जागिरमा पनि सन्तुष्ट हुने सकिने अवस्था नरहेको उनी बताउँछन्। उनको बुझाईमा नेपालमा स्नातक र स्नाकोत्तर तहको अध्ययनको गुणस्तर ज्यादै न्यून रहेको र अध्ययन शुल्क पनि धेरै भएको हुँदा स्नातकमा जनस्वास्थ्य अध्ययन गरेका जनस्वास्थ्यकर्मीहरु सुनिश्चित भविष्यको खोजीमा बिदेशीन बाध्य छन्।
यस विषयमा जनस्वास्थ्यमा क्षेत्रमा कार्यरत गण्डकी प्रदेशका एक जनस्वास्थ आधिकृत भन्छन्, “विशेषगरीअहिलेका पिँढी बुजेर भन्दा पनि अरुको देखासिकी गरेर जनस्वास्थ्य क्षेत्रमा आएका कारण उनीहरुमा भविष्यमा के गर्ने भन्ने अन्योल रहने गरेको छ। यदि विषयको बारेमा राम्रोसँग बुझेर अध्ययन गर्ने मेहनेती विद्यार्थीको भविष्य उज्वल रहने कुरामा सङ्कोच छैन।“ अहिलेको समयमा संघदेखि प्रदेश सम्मको लोकसेवामा यो विषयमा राम्रो अवसर रहनुका साथै स्वास्थ्य क्षेत्र रहेका रास्ट्रिय तथा अन्तरास्ट्रिय गैरसरकारी संस्थामा पनि उत्तिकै अवसर रहेको उहाँकोे बुझाई छ। यस बाहेक शिक्षण क्षेत्र, निजि व्यक्तिगत लगानीमा गरिने ब्यापार, अनुसन्धानको क्षेत्र, कन्सल्टेन्सी सेवाहरुलाई पनि उनले अवसर रहेको बताउँछन्। हालको अवस्थामा जनस्वास्थ्य क्षेत्रमा मात्र नभई सबै क्षेत्रका ब्यक्ति विदेशिने लहर रहेको देखिएको भन्दै उनले कोही पढ्न र सिक्न जान्छन् भने केहीले आफ्नो पेशा नै परिवर्तन गरेर उतै बस्न जाने गरेको अवस्था रहेको बताउँछन्।
विदेश जानुको पछाडी पनि धेरै कारण हुन्छन जस्तै कसैलाई पैसा कमाउने इच्छा हुनसक्ला, कोहिले देशमा अब अवसर छैन भनेर जाने निर्णय लिएको हुनसक्छन्। कोही अरु साथी आफन्त गएको देखेर गएका हुन सक्छन्। यी सबै कुरालाई नजिकबाट सम्बन्धित सरोकारवालाहरुले विश्लेषण गर्नुपर्ने अहिलेको आवश्यकता हो। हालको आवस्थामा जनस्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले यस क्षेत्रको उपयुक्त योजना, वार्षिक जनशक्ति उत्पादन र यसको खपतको बारेमा विश्लेषण नगर्नु नै मुख्य समस्याको रहेको बताउँछन्। यदि यी समस्यालाई तालमेल गर्न सकिएको खण्डमा बल्ल यस क्षेत्रको प्रगति हुने देखिन्छ। यसका लागि अध्ययन गर्न तोकिएको सिट संख्या, पढ्ने विद्यार्थीको संख्या, पढेर बजारमा आउनेको जनशक्तिको संख्या र विभिन्न क्षेत्रमा रोजगारीको अबसरको संख्यामा तालमेल हुन जरुरी छ।
समग्रमा जनस्वास्थ्य क्षेत्रमा अवसर र चुनौतिहरु दुवै रहेका छन्। यदि यस क्षेत्रको बारेमा थाहा पाएर मिहेनेत गर्न सकियो भने भविष्य उज्ज्वल हुनेमा दुइ मत छैन। कोहि वैदेशिक अध्ययनमा गएर केहि नयाँ कुरा सिकेर आउँछन् भने नयाँ कुरालाई प्रयोगात्मक रुपमा परीक्षण गर्ने उपयुक्त क्षेत्र बन्न सक्ने प्रबल सम्भावना पनि उत्तिकै रहेको छ। तसर्थ देशमा रोजगारीका अवसर सृजना गर्न र वैदेशिकबसाईलाई निरुत्साहित गर्न सम्बन्धित निकाय र सरोकारवालाहरुको ध्यान जान जरुरी हुने देखिन्छ। नत्र जनस्वास्थ्य अध्ययन बेरोजगार जनशक्ति उत्पादन गर्ने माध्यम बन्ने पक्का छ।