चिकित्सा विज्ञानको अभिन्न अंगका रुपमा उदीयमान क्षेत्र हो, मेडिकल ल्याबरोटरी साइन्स । बिरामीको उपचारपूर्व रोगको सही पहिचान (निदान) एवम् शारीरिक कार्यप्रक्रिया बुझ्न चिकित्सकले विभिन्न किसिमका जाँचको सहयोग लिनुपर्ने हुन्छ । कारक तत्व र यससँग सम्बन्धित परिवर्तनको लेखाजोखा गरेर मात्र रोगको सही उपचार सम्भव छ । सामान्य भाषामा विभिन्न किसिमका शारीरिक जाँच गर्ने र त्यसबाट प्राप्त नतिजालाई उपचार पद्दतिमा समावेश गर्नुलाई निदान भनिन्छ, जुन मेडिकल प्रयोगशाला विज्ञानको कार्यक्षेत्र हो ।
कुनैपनि रोग लाग्नुमा शरीरको कार्यप्रक्रिया र त्यसमा असर गर्ने बाह्य तत्वको मुख्य भूमिका हुन्छ । समयमा नै उक्त कारक तत्वको पहिचान गर्न सके रोगको सही व्यवस्थापन भई अनावश्यक शारीरिक, मानसिक र आर्थिक समस्याबाट छुटकारा पाउन सकिन्छ । भनिन्छ, रोगपछि उपचार गर्नुभन्दा, रोग लाग्न नदिनु नै वेश हुन्छ । सही पहिचान भएमा रोग लागिसकेपछि पनि अनावश्यक झन्झट र समस्याबाट छुटकारा पाउन मद्दत हुन्छ ।
विशेषतः धेरैजसो अस्पताल र उपचार केन्द्रमा बिरामीको उपचारमा तीन तहको कार्यव्यवस्था पाइन्छ । सवैभन्दा पहिले बिरामी आफ्नो असहजता र शंकास्पद लक्षणसहित प्राथमिक चिकित्सककहाँ पुग्ने गर्छन् । चिकित्सकीय प्रारम्भिक जाँचपछि बिरामीलाई लागेको रोग वा समस्याको यथार्थ स्थिति बुझ्न र कारक तत्व पत्ता लगाउन बिरामीको शारीरिक नमुनालाई प्रयोगशालामा जाँच गरिन्छ । प्रयोगशाला जाँचबाट रोगको यथार्थ पहिचान भई समयमै उपचार हुनसक्छ । यद्यपि सबै किसिमका रोगको प्रयोगशाला जाँच सम्भव नहुन पनि सक्छ, यस्तो अवस्थामा अन्य नैदानिक (डाइग्नोष्टिक) विधि जस्तैः रेडियोलोजी आदिको प्रयोग गर्न सकिन्छ ।
चिकित्सा प्रयोगशाला विज्ञान आफैंमा जटिल र विविधतायुक्त क्षेत्र हो । यसमा हुने विभिन्न किसिमका जाँचको भिन्नाभिन्नै विशेषता र महत्व हुने भएकाले एउटै जाँचबाट सबै किसिमका रोग पहिचान हुन सक्छन् । एउटै जाँचको पनि विभिन्न रोगमा छुट्टाछुट्टै मुल्यांकन र विश्लेषण हुने भएकाले यसमा बढी नै विशेषज्ञताको आवश्यकता पर्दछ । सही समयमा सही प्रकारको जाँच गरेमा त्यसबाट प्राप्त नतिजाले रोगको यथार्थ धरातलमा पुर्याउन मद्दत गर्छ । रगतमा हुने जाँच र अन्य नमुना जस्तै खकार, दिसा–पिसाबमा हुने जाँचहरूको आ–आफ्नै विशेषता हुन्छन् । आम मानिसमा प्रयोगशालाजन्य जाँच भन्नाले एउटै जाँच भन्ने मानसिकता पाइन्छ । तर यथार्थमा त्यसो नभई यसभित्र सयौं एवंम् हजारौं प्रकारका जाँच छन् भन्ने बुझनुपर्छ । विज्ञानको विकाससँगै भएको आधुनिकीकरण र विश्वव्यापीकरणले मेडिकल ल्याबरोटरी साइन्स अहिलेको सर्वाधिक चर्चा र महत्व बोकेको क्षेत्रमा पर्दछ । विशेषज्ञ वैज्ञानिकले धेरैजसो मेडिकल ल्याबरोटरी साइन्सकै क्षेत्रबाट नोबेल पुरस्कारसम्म प्राप्त गर्न सफल भएका उदाहरण प्रसस्तै छन् ।
विकसित देशमा मेडिकल ल्याबरोटरी साइन्स एउटा छुट्टै वैज्ञानिक केन्द्रका रुपमा विकास भइसकेको भएपनि हाम्रोजस्तो विकासशील देशमा यसले अझै राम्रो फड्को मार्न सकेको छैन । नेपालको मेडिकल प्रयोगशाला विज्ञान बल्लतल्ल वामे सर्ने अवस्थामा रहेको मुल्यांकन गर्न सकिन्छ । सामान्यतः मेडिकल ल्याबरोटरी साइन्सअन्तर्गत क्लिनिकल माइक्रोबायोलोजी, बायोकेमेष्ट्री, हिमाटोलोजी, हिस्टो–साइटोप्याथालोजी, जेनेटिक्स एवं मोलिकूलर विभागमा हुने जाँच र विशेषज्ञताले गर्दा फरक–फरक रुपमा स्थापित भएको मान्न सकिन्छ ।
वर्तमान परिप्रेक्ष्यमा विभिन्न किसिमका खतरनाक र नयाँ–नयाँ रोगको विकास/उत्पत्ति भएसँगै यसको पहिचान र सही व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । संक्रामक रोगको बिगबिगी र उपचार पद्दतिको अभावका कारण कैयौं व्यक्तिले अकालमै मृत्युवरण गर्नुपर्ने अबस्था छ । कैंयौं बिरामी पर्ने र मृत्युसमेत हुने स्वाइन फ्लु, वर्डफ्लू, डेंगु र इन्सेफलाइटस जस्ता रोगको समयमै पहिचान गर्न सके मात्र उपचार भई रोग निको हुने अवस्था सिर्जना गर्न सकिन्छ । तत्काल सही रुपमा संक्रामक तत्वको पहिचान गरी आवश्यक औषधि सुझाउनु सबै प्रयोगशाला विज्ञानको अहिलेको चुनौती हो ।
विद्यमान अवस्था
नेपालमा प्रयोगशाला विज्ञान र यससँग सम्बन्धित व्यवसायको नियमन गर्ने सरकारी निकाय नेपाल स्वास्थ्य व्यवसायी परिषद् हो । प्रयोगशालाकर्मीको नियमित दर्ता, सुपरीवेक्षण र अनुगमन गर्ने काम यसको मुख्य कार्यक्षेत्र हो । यससँगै मुलुकभर सञ्चालित मेडिकल प्रयोगशालाको नियमित अनुगमन, स्तरोन्नति र आवश्यक व्यवस्थापन पनि यसले गर्ने गर्दछ । नेपालमा स्नातक तह वा सोभन्दा माथि योग्यताप्राप्त व्यक्तिलाई विशेषज्ञका रुपमा मेडिकल टेक्नोलोजिष्ट दर्जाको व्यवस्था छ भने सोभन्दा मुनिका प्रयोगशालाकर्मीलाई ल्याब टेक्निसियनको दर्जा दिइन्छ । स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार प्रत्येक प्रयोगशालामा कम्तिमा एकजना मेडिकल टेक्नोलोजिष्टको व्यवस्था हुनुपर्छ । तर, सरकारी दरबन्दीको अवस्था हेर्ने हो भने मुलुकभर जम्मा २५–३० जनाको मात्र पदपूर्ति छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को दर्ता तथ्यांकनअनुसार नेपालमा मेडिकल प्रयोगशालाको विशेषज्ञमा करिब ३७ जना, स्नातक मेडिकल टेक्नोलोजिष्ट करिब सातसय २५ जना र ल्याब टेक्निसियन करिब ९५६ जना दर्ता भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एकमात्र केन्द्रीय रेफरेन्स प्रयोगशालाका रुपमा छ । देशभर अञ्चलमा १४, जिल्लामा करिब ७० र स्वास्थ्य केन्द्रस्तरमा प्रयोगशाला सेवा उपलब्ध छ, तर स्रोतसाधनको अभाव, राजधानीकेन्द्रित जनशक्ति र सेवाभाव उत्पन्न गर्ने खालको उत्प्रेरणा नहुँदा यस क्षेत्रको समयोचित विकास हुन सकेको छैन ।
महत्व
नेपालमा नियमकानुनको राम्रोसँग पालना नभएपनि विकसित राष्ट्रमा कुनैपनि औषधि प्रयोग गर्न पर्याप्त आधार चाहिन्छ । आधार निर्माणमा प्रयोगशालाको विशेष भूमिका रहन्छ । सामान्य अर्थमा बिरामी ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या लिएर आएमा यसका कारण धेरै हुन सक्छन् । एउटा सिर्जनशील डाक्टरको उचित अनुमानलाई प्रयोगशालामा परीक्षण गरी रोगको कारण पत्ता लगाइन्छ, त्यसअनुसार औषधि सेवन गर्न दिइन्छ ।
नेपालमा प्रयोगशालाको विकास राजधानी र केही ठूला सहरकेन्द्रित भएकाले आजपनि हामी नेपालीले अन्धाधुन्ध औषधि सेवन गर्ने गरिरहेका छौं । सिधै औषधि पसलबाट किनेर खाने हाम्रो बानी नै भैसकेको छ । एन्टिबायोटिक संक्रमण गराउने जीवाणुलाई मार्न सक्छ कि सक्दैन भनी अध्ययन प्रयोगशालामा गरेर मात्र बिरामीले सेवन गर्नुपर्छ । परीक्षण नै नगरी एन्टिबायोटिक खाने भएकाले नै जीवाणुले आफ्नो क्रियाकलाप परिवर्तन गरि उक्त एन्टिबायोटिकबाट नमर्ने सामथ्र्य विकास गरेका हुन्छन् । यस्तै हुँदै जाने हो भने कुनैपनि एन्टिबायोटिकले काम नगर्ने अवस्था नआउला भन्न सकिन्न ।
रोग लागेको थाहा पाएपछि बिरामीले उचित औषधि सेवन र जीवनशैली परिवर्तन गरेपछि पनि रोगको अवस्था र जटिलता हेरि फेरि प्रयोगशालाजन्य जाँचको आवश्यकता पर्दछ । मोफसलका ग्रामीण भेगमा बस्ने बिरामी सधैं राजधानी बसेर उपचार गराइरहन सक्दैनन् । यस्तो अबस्थामा एउटा मधुमेहको बिरामीले रगतमा चिनीको मात्रा थाहा पाउन सहरमै धाउनुपर्ने अबस्था छ, जुन हामी सबैको साझा चुनौती हो ।
रोग समयमै पत्ता लगाउनु पनि जोखिम न्यूनिकरणको राम्रो उपाय हो । एउटा एचआइभी संक्रमित मान्छेमा लक्षणअनुसार रोग पहिचान गर्न सम्भव छैन । प्रयोगशालामा नियमित रुपमा यौनकर्मी वा उच्च जोखिमका मानिसले परीक्षण गर्नुपर्ने असल उपाय हुनसक्छ । संक्रमित भएको थाहा पाएपछि समयमा औषधि सेवन गरेमा सरदर आयु बढाउन पनि सकिन्छ, साथमा अरुलाई समेत संक्रमण हुनबाट बचाउन उत्तम उपाय हुन्छ ।
प्रयोगशालाले महामारी, प्रकोपका बेला पुर्याउने योगदान अतुलनीय छ । प्रयोगशालाबाट निस्कने वार्षिक प्रतिवेदन, अध्ययनहरुको रिपोर्ट, डाक्टर, नर्स, फर्मासिष्ट र अन्य स्वास्थ्यकर्मीका लागि अति आवश्यक हुन्छ । यस्तो तथ्यहरुले हाम्रो ठाउँमा भएका रोगको चाप, एन्टिबायोटिक प्रयोगको नीति आदि बनाउन सहयोग पुर्याउँछ ।
प्रयोगशाला सुधारका उपाय
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार, सबै जिल्लामा रहेका प्रयोगशालालाई भौतिक संरचना तथा आवश्यक बनावटमा ध्यान दिने ।
- सरकारीस्तरमा नै प्रयोगशालाको नीति निर्माण गरी लागु गर्ने ।
- आवश्यक दरबन्दीअनुसार सबै ठाउँमा सरकारी निकायबाट दक्ष जनशक्ति नियुक्त गर्ने र प्रत्येक जिल्लामा कम्तिमा स्नातक गरेको मेडिकल टेक्नोलोजिष्टको व्यवस्था गर्ने ।
- प्रयोगशालाको नियमन गर्ने सरकारी संस्था राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सबै प्रयोगशालाको नियमित चेकजाँच गर्ने र वर्गीकरण गर्ने ।
- प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीको दर्ता गर्ने नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पनि नियमित रुपमा मेडिकल कलेजको अनुगमन गर्ने र परीक्षाप्रणालीको आधारमा दर्ता गर्ने पद्दति विकास गर्ने ।
- प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सक, बिरामीसँग प्रत्यक्ष संलग्न भई, रोगको छिटोछरितो र भरपर्दो विधिबाट रोगको पहिचान गर्ने ।
- राजनीतिक भागबण्डाभन्दा पनि दक्षताका आधारमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षसहित कार्यकारी निकायमा नियुक्त गर्ने ।
- नयाँ–नयाँ प्रयोगशालाका विधिको लगातार अपडेटका साथै तालिमको व्यवस्था गर्ने ।
अन्त्यमा,
प्रयोगशाला चिकित्साशास्त्रको अभिन्न अङ्ग हो । सबै रोगको पहिचान गर्ने नै प्रयोगशाला भएकाले सम्बन्धित निकायले यस विषयमा समयमै ध्यान दिनु जरुरी छ । कुनैपनि एड्स शंका गरिएको बिरामीको रोगको निश्चितता प्रयोगशालाको जाँच विना कदापी सम्भव छैन । त्यसैले गर्दा, प्रयोगशालाको स्तरवृद्धि गरी सबै जाँचको नतिजा नेपालमै दिनसके हाम्रो जस्तो गरिब मुलुकका जनता मेदान्त, समितिभेज अस्पताल खोज्दै विदेश धाउन त पर्दैनथ्यो नि, के त्यो सम्भव छैन र ?
- सुन्दर खड्का, पिजि इन क्लिनिकल माइक्रोबायोलोजी, त्रिवि शिक्षण अस्पताल