प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा अरुणा कार्की ६३ वर्षको उमेरमा पनि चिकित्सकीय पेसामा सक्रिय छिन्। मोडेल अस्पताल काठमाडौंमा कार्यरत डा कार्कीमा कामप्रतिको जोस–जाँगर र उत्साह युवामा भन्दा कम देखिँदैन।
आफैं गाडी चलाएर उनी बिहान ९ बजे मोडेल अस्पताल पुग्छिन्। कहिले ओपीडी, कहिले राउण्ड त कहिले अप्रेसन थिएटरमा बिरामीको उपचारमा व्यस्त रहन्छिन्। र, बेलुक ४ बजे घर फर्किछिन् डा कार्की।
उनको यो दैनिकीलाई नियाल्दा कसैले सोच्नै सक्दैन– डा कार्की कयौं पटक बिरामी भएर अस्पतालको बेडमा सुतेकी थिइन्। क्यान्सरले थला परेकी थिइन् र आफ्नै शरीरमा १४ पटक सर्जरी गराएकी थिइन्। तर उनी हरेक पटक रोगलाई जितेर उठेकी छिन्। र, आफ्नो चिकित्सकीय पेसामा सक्रिय छिन्।
‘म त सानैदेखि बिरामी भइरहन्थें, बाल्यकालमै बिरामी भएर धेरै पटक तुलसीको मोठमै सारेका थिए रे,’ डा कार्कीले भनिन्, ‘अहिलेसम्म मेरो शरीरमा १४ पटक सर्जरी भयो, कोमामा पनि पुगें।’
विश्वमा कोभिडको महामारी फैलिँदै गर्दा उनको शरीरमा क्यान्सर प्रवेश गर्यो।
डा कार्कीको जिब्रोमा सानो बिमिरा जस्तो घाउ थियो। ४ वर्षसम्म ठिक नभएपछि उनले नेपाल र भारतमा समेत ओरल, हाइजिनिस्टहरु, इएनटी र सर्जनहरुलाई समेत देखाइन्। सामान्य समस्या भनेर उनीहरुले डा कार्कीलाई भिटामिन बि कम्प्लेक्सहरु खान सुझाए।
विस्तारै घाउका कारण उनी पिरो, अमिलो खान नसक्ने भइन्। एक दिन ऐना हेर्दा जिब्रोको घाउ डल्लो भएजस्तो महसुस भयो। त्यसपछि घाउ परिवर्तन भएको देखेपछि उनले इएनटीको चिकित्सकलाई बायोप्सी गराउन लगाइन्।
उनी नियमित बिरामीको सेवामै व्यस्त थिइन्। बायोप्सीको रिपोर्ट सामान्यतया एक सातामा आउँछ। तर उनलाई आफैंले काम गर्ने अस्पतालबाट एक सातामा रिपोर्ट दिइएन। १० दिनसम्म रिपोर्ट नआएपछि उनले ल्याबमा फोन गरेर ‘मेरो रिपोर्ट खै ?’ भनेर सोधिन्।
ल्याबका टेक्निसियनले चिकित्सकले रिपोर्ट लगिसकेको बताए। आफूलाई रिपोर्ट किन नदिएको होला भनेर उनी अचम्ममा परिन्। रिपोर्टमा के थियो र भनेर सोधिन् तर सामान्य छ भनेर जवाफ दिए।
जब अस्पतालका निर्देशकले बोलाएर रिपोर्ट देखाए उनी निःशब्द बनिन्। ‘प्याथोलोजीका चिकित्सकले रिपोर्टमा क्यान्सर देखिएपछि मलाई नभनी अन्य ठाउँमा पनि देखाउनुभएछ। अन्तिममा रिपोर्ट निर्देशकलाई दिनुभएछ। निर्देशकले बोलाएर तिम्रो रिपोर्टमा क्यान्सर देखिएको छ भन्नुभयो,’ उनले सम्झिइन्, ‘मलाई त केही बोल्नै आएन, एक छिन साइलेन्ट बसें।’
त्यसपछि निर्देशकलाई भनिन्, ‘म भोलि नै भारत गएर उपचार सुरु गर्छु।’
आफ्ना ससुराको पनि क्यान्सरको उपचार भारतमै गरेकाले उनले आफ्नो उपचार पनि भारतमै गराउन चाहेको बताएपछि सबैले सपोर्ट गरे। डा कार्की क्यान्सर पत्ता लागेको भोलिपल्टै भारत गइन् र राजीव गान्धी अस्पतालमा जिब्रोको अप्रेसन गरिन्।
‘क्यान्सर सुरुवाती चरणमा रहेछ, राजीव गान्धी अस्पतालमा ७ घण्टा लामो अप्रेसन भयो,’ उनले सम्झिइन्। जिब्रोको अप्रेसन गर्दा उनलाई आफ्नो बोलीमा समस्या हुन्छ कि भन्ने चिन्ता लागेको थियो। तर आवाज केही लरबरिएको जस्तो भए पनि बोली उनको भने हराएको छैन।
‘मलाई सबैभन्दा ठूलो डर जिब्रोको अप्रेसनपछि बोल्न सकिनँ भने बिरामीलाई कसरी सचेतना जगाउने, कसरी चिकित्सा पेसामा रहने भनेर चिन्ता लाग्थ्यो,’ उनले भनिन्, ‘धन्न मेरो बोली केही भएन। सुरुमै बोल्ने प्रयास गरें। कहिलेकाहीँ लरबरिए पनि बोली हराएन।’
अप्रेसन गरेको १० दिनपछि उनी नेपाल फर्किइन्। नेपाल फर्किएको ३ महिनापछि चिकित्सकहरुको सल्लाहअनुसार हरिसिद्धी अस्पतालमा रेडियोथेरापी सुरु गरिन्।
अनुहारमा रेडियोथेरापीको विकिरणको असर नपरोस् भनेर मुकुण्डो लगाइन्थ्यो। रेडियोथेरापीले उनको घाँटीमा कालो दाग बसिसकेको थियो। त्यो दाग छोप्न उनी मध्य गर्मीमा समेत सलले घाँटी छोपेर हिँड्थिन्। आफूले ओढेको सल दाम्लोजस्तै लाग्ने गरेकी उनी बताउँछिन्।
‘दाग छोप्न घाँटीमा बेरेको सल दाम्लो जस्तै लाग्थ्यो, यो दाम्लो कहिलेसम्म लगाउनुपर्ने होला भनेर दिक्क हुन्थे,’ डा कार्कीले सम्झिइन्।
रेडियोथेरापी गराइरहँदा चिकित्सकले आराम गर्न सुझाव दिए पनि उनी भने मोडेल अस्पतालमा ड्युटीमा जान्थिन्।
‘घरमै बस्दा एक्लोपनले सताउँथ्यो। अस्पतालमा बिरामीलाई आफ्नो कहानी सुनाउँदा उनीहरुमा हिम्मत आउँथ्यो,’ उनले भनिन्, ‘रेडियोथेरापी लिन जान्थें, थेरापी सकेर आफैं गाडी चलाएर मोडेल अस्पतालमा काम गर्न आउँथें।’
क्यान्सर उपचारको क्रममा उनी २ वर्षसम्म तरल खाना खाएर बाँचिन्। अहिले भने दाल, भात तरकारीसम्म खानसक्ने अवस्थामा छिन्।
रोगसँग लड्दै, उठ्दै
डा कार्कीका बुबा सरकारको बन विभागमा जागिरे थिए। उनी जन्मिँदा परिवार पाल्पामा थियो। डा कार्की जन्मिएपछि उनका बुबा जागिर छाडेर नवलपरासीमा बसाइ सरे र जमिनदारी गर्न थाले।
डा कार्कीलाई बाल्यकालदेखि नै रोगले सताउथ्यो। सिकिस्त भएर आमाबुबाले कयौं पटक तुलसीको मोठमा सारेको उनले सुनाइन्। भनिन्, ‘आमा भन्नुहुन्थ्यो, म सानोमा पनि धेरै बिरामी हुन्थें रे, सिकिस्त बिरामी भएर मलाई कयौं पटक तुलसीको मोठमा राख्नुहुन्थ्यो रे।’
डा कार्कीले बाल्यकालदेखि ६३ वर्षको उमेरसम्ममा लागेका रोगहरुबारे बेलिबिस्तार लगाइन्, ‘मलाई निमोनिया भएको छ, टन्सिलाइटिसको अप्रेसन गरेको छ, एपेन्डिसाइटिसको अप्रेसन गरेको छ, पिसाब नलीको पत्थरीको अप्रेसन, बाल्यकालमा दाहिने हात भाँचिएर तीन महिनासम्म प्लास्टर गरिएको छ। ठूलो भएपछि पनि छातीमा ट्युमर भएर ट्युमरको अप्रेसन गरियो, पाठेघरको नलीमा बच्चा बसेर अप्रेसन गरिएको छ। पित्त थैलीमा भएको पत्थरीको अप्रेसन र टाउको दुखाइका कारण अस्पतालमा तीन दिनसम्म कोमामा समेत पुगेकी छु।’
डाक्टर बनाउने बुबाको चाहना
पाल्पामा जन्मिए पनि डा कार्की काठमाडौंमा हुर्किन्। बाबुआमा नवलपरासी बसाइँ सरे पनि छोराछोरीलाई पढ्न काठमाडौं पठाए। कार्की भानुभक्त मेमोरियल स्कुलमा पढ्न थालिन्। ९ र १० कक्षा भने लैनचौरको कन्या हाई स्कुलमा पढिन्।
‘त्यो बेलामा पनि बुबाले काठमाडौंमा घर बनाएर हामीलाई काठमाडौंमा राखेर पठाउनुभयो,’ उनले भनिन्, ‘त्यो जमानमा पनि बुबाले ठूलो आँट गरेर हामीलाई काठमाडौं राखेर पढाउनुभयो । काठमाडौं नआएको भए सायद म डाक्टर बन्ने थिइनँ।’
१६ वर्षको उमेरमा एसएलसी पास गरेकी उनले त्रिचन्द्रमा आईएस्सी पढिन्। छोरीलाई डाक्टर बनाउने बुबाको सपनालाई उनले आफ्नो सपना बनाइन्।
सोभियत संघमा दाइले पनि मेडिसिन पढिरहेकाले उनले स्कलरसिपको फारम भरिन्। २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिएपछि जनता विद्रोहमा थिए। त्यतिबेला सोभियत संघ जानु कम्युनिस्ट बन्नु भन्ने बुझिन्थ्यो। अझ छोरी मान्छेलाई अर्काको घर जाने जात भनेर समाजले हेर्ने नजर नै फरक हुन्थ्यो। तर बुबाको साथ र दाइ पनि सोभियत संघ नै भएकाले उनलाई एमबिबिएस पढ्न जान असहज भएन। उनले सोभियत संघ गएर एमबीबीएस अध्ययन गरिन्।
१० मिनेटमै विवाह
सोभियत संघमा एमबीबीएस अध्ययनको क्रममा नेपालबाटै गएका सन्तोष इन्जिनियरिङ पढ्दै थिए। उनीहरुको भेट सोभियत संघमै भयो र विवाह पनि गरे।
‘हाम्रो विवाह कोठाभित्रै भएको थियो। बहिनीले पठाइदिएको कपडा लगाएर म दुलही बनें, सन्तोष दुहाला बने। डा किरण शर्मा ब्राह्मण थिए, उनले मन्त्र पढे, हामीले औंठी साटासाट गर्यौं। मैले सन्तोषलाई तीनफेर घुमेँ, त्यसपछि माला लगायौं, सन्तोषले मलाई सिन्दुर लगाइदिए,’ उनले हाँस्दै विवाह गरेको दिन सम्झिइन्, ‘१० मिनेटमै विवाह सकियो।’
विवाह सकिएपछि साथीहरुलाई भने पार्टी दिएको उनले सुनाइन्। डा कार्कीले भनिन्, ‘हाम्रा साथीहरु लगभग ७० जना थिए, पार्टीको खर्च सात सय डलर आएको थियो।’
भ्यागुताको शरीरमा पिसाब परीक्षण गरेर गर्भवती जाँच
अहिले गर्भ परीक्षणका लागि पिसाब परीक्षण गर्ने किटहरु पाइन्छ। रगत जाँचबाट पनि गर्भ परीक्षण हुन्छ। तर डा कार्की गर्भवती हुँदा अहिलेजस्तो गर्भ परीक्षण गर्ने किट थिएन। गर्भवती भएको शंका लागेपछि अस्पताल वरपर भ्यागुता खोज्न जानुपथ्र्यो।
उनले आफू पहिलो पटक गर्भवती हुँदा भ्यागुताको शरीरमा पिसाब पठाएर त्यसको शरीरभित्र आएको परिवर्तन हेरेर गर्भवती भए÷नभएको पत्ता लगाएको सुनाइन्। ‘मैले भ्यागुतामा परीक्षण गरेपछि आफू गर्भवती भएको थाहा पाएँ,’ उनले सुनाइन्।
सन् १९८६ मा चेर्नोवेलको आणविक भट्टीमा विस्फोट भएको समयमा उनी पहिलो पटक गर्भवती भएकी थिइन्। सोही विस्फोटको असर गर्भमा रहेको बच्चामा पर्ने भएपछि कार्कीले चाहेर पनि पहिलो बच्चा जन्माउन पाइनन्। गर्भवती भएको डेढ महिनामा गर्भपतन गराइन्।
‘मेरो पहिलो बच्चा इतिहासको भयानक चेर्नोवेल विस्फोटले लगिदियो,’ उनी भावुक भइन्, ‘मजस्तै धेरैले त्यो विस्फोटमा आफ्नो गर्भमा हुर्किरहेको बच्चा गुमाए।’
पहिलो गर्भ पतन गराएको ६ महिनापछि कार्की फेरि गर्भवती भइन्। तर चेर्नोवेलको विस्फोटको असर अझै सकिएको थिएन। तर उनीहरुले गर्भपतन गराउने सोचेका थिएनन्। नियतिको खेल उनको दोस्रो गर्भ आफैं खेर गयो।
नेपाल फर्किएर प्रसूति गृहमा पहिलो चिकित्सकीय अभ्यास
सन् १९८८ मा एमबीबीएस सकेर डा कार्की सोभियत संघबाट नेपाल फर्किइन्। उनका श्रीमान् भने तीन महिनाअघि नै नेपाल फर्किसकेका थिए। नेपाल फर्किएर उनी श्रीमन्सँग घर नगई बहिनीहरुसँग माइत गइन्। पछि श्रीमान्को परिवार डा कार्कीलाई घरमै लिन गए र सन्तोषको परिवारमा भित्र्याए।
नेपाल फर्किएर उनले प्रसूति गृहमा मेडिकल अफिसर भएर काम सुरु गरिन्। ५ वर्षसम्म प्रसूति गृहमा हुँदा उनले सिनियर हाउस अफिसर पदमा पनि काम गरिन्। काठमाडौं मोडेल अस्पताल खुलेपछि भने उनी त्यहाँ काम गर्न थालिन्।
प्रसूति गृहमै काम गर्दैगर्दा डा कार्की फेरि गर्भवती भइन् तर उनको गर्भ तेस्रो पटक पनि बसेन।
‘एक महिनासम्म रगत बग्यो, पाठेरघमा रगत जमेको भनेर सफा गराएँ, तर बच्चा नलीमा बसेको रहेछ, नली फुटेपछि फेरि पाठेघरमा रगत जम्मा भएछ,’ उनले भनिन्, ‘पाठेघरको एउटा नली नै काटेर फाल्नुपर्यो। तेस्रो गर्भ पनि रहेन।’
त्यसपछि भने उनले दुई छोरी र एक छोरा जन्माइन्। तीनै सन्तानलाई अप्रेसन गरेर जन्माएको डा कार्कीले बताइन्।
सन् १९९३ मा मोडेल अस्पताल सञ्चालनमा आएपछि उनी प्रसूति गृह छाडेर मोडेल अस्पतालमा काम गर्न थालिन्। सन् १९९६ मा मोडेल अस्पतालमा प्रसूति वार्ड स्थापना भयो। त्यतिबेला उनी बंगलादेश गएर प्रसूति तथा स्त्रीरोगमा विशेषज्ञता हासिल गरेर फर्किएकी थिइन्। उनले त्यही बेलादेखि मोडेल अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागमा काम गर्न थालिन्।
मोडल अस्पतालले विभिन्न जिल्लामा गर्ने स्वास्थ्य शिविरहरुमार्फत डा कार्कीले देशका विभिन्न ठाउँमा पुगेर प्रसूति तथा स्त्रीरोगका बिरामीको उपचार गरेकी छन्।
डा कार्की प्रजनन स्वास्थ्यसम्बन्धी तालिम दिन फिदिम, इलाम, बिर्तामोड, धनकुटा, धरान, विराटनगर, राजविराज, लहान, गाईघाट, जनकपुर, वीरगञ्ज, सिन्धुली, खुर्कोट, चरिकोट, पलाञ्चोक भगवती, जिरी, पाँचखाल, चौतारा, हेटौंडा, भरतपुर, चोरमारा, नवलपुर, पोखरा, बागलुङ, बुटवल, कपिलवस्तु, भैरहवा, घोराही, तुल्सीपुर, नेपालगञ्ज, सुर्खेत, जुम्ला, धनगढी, कञ्चनपुर लगायत विभिन्न ठाउँमा पुगेकी छन्।
डा कार्की प्रसूती तथा स्त्रीरोग सम्बन्धी तालिम र कन्फ्रेन्सका लागि मलेसिया, सिंगापुर, स्विडेन, अमेरिका, दक्षिण कोरिया, इथियोपिया, कम्बोडिया, पाकिस्तान, क्यानडा लगायतका देशमा पनि पुगेकी छन्।
डा कार्कीले आफूलाई लागेको रोग, रोगसँग लड्न जीवनमा गरेका संघर्ष र जीवनबारे ‘श्वेत लिली’ नामक पुस्तकसमेत लेखेकी छन्।
आफ्नो पुस्तकले बिरामीहरुलाई पनि जीवनमा अघि बढ्न र रोगसँग लड्न हिम्मत मिल्ने उनले बताइन्।
श्वेत लिली मेरो घरमा रहेको फूलको नाम हो। त्यो श्वेल लिलीको सानो पालुवा अहिले मेरो कोठाभरि भएको छ,’ उनले भनिन्, ‘श्वेत लिली मेरो साथी भएकी छन्। त्यसैले पुस्तकको नाम पनि यही राखें।’
डा कार्कीलाई आफ्नो जीवन रहेसम्म चिकित्सा पेसा र प्रसूति तथा स्त्रीरोगबारे सचेतना जगाउन सक्रिय रहिरहने चाहना छ।
‘अहिले म ६३ वर्षको भएँ, अझै बाँचिरहेको छु, अझै काम गरिरहेको छु भन्ने सन्देश दिइरहन चाहन्छु,’ उनी भन्छिन्, ‘म बाँचुन्जेल बिरामी नै हेरिरहन्छु। क्याम्पहरुमा सचेतनाको काममा हिँडिरहन्छु।’