काठमाडौं- भनिन्छ, छाला भित्री रोगको ऐना हो। ‘मिरर अफ इन्टरनल डिजिज !’ छालालाई धेरैले सुन्दरतासँग मात्र जोडेर हेर्ने गर्छन्। तर छालाको सम्बन्ध व्यक्तिको सुन्दरतासँग मात्र होइन, शारीरिक स्वस्थतासँग पनि जोडिएको छ। छालामा हुने विभिन्न खालका समस्याहरुले मानिसको शारीरिक स्वस्थतालाई पनि झल्काउँछ।
छालामा हुने समस्यालाई कसैले पनि सहजै बेवास्ता गर्न सक्दैन। बाहिरी भागमा समस्या हुने भएकाले जोकोहीले पनि छालाको समस्या देख्न सक्छ। तर सामान्य भन्दै गरिएको हेलचेक्र्याइँले भने समस्यालाई जटिल बनाइदिन्छ। छालाको समस्या भूगोल, मौसम र व्यक्तिको शारीरिक अवस्थाअनुसार फरक हुन्छ। नेपालमा आम रुपमा देखिने केही यस्ता छालासम्बन्धी समस्याहरु छन्, जुन समस्याबाट प्रायः व्यक्तिहरु गुज्रिसकेका छन् या भनौं गुज्रिरहेका छन्।
देशकै मुख्य अस्पतालहरु वीर, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्यतयः देखिने छालासम्बन्धी आम समस्याबारे हामीले बुझ्ने प्रयास गरेका छौँ। यी मुख्य अस्पतालहरुमा देशका ७७ वटै जिल्लाबाट बिरामीहरु उपचारका लागि पुग्ने गर्छन्।
वीर अस्पतालमा दैनिक २ सय, त्रिवि शिक्षण अस्पतालमा २ सयदेखि ३ सय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बिरामी छालासम्बन्धी समस्या लिएर पुग्छन्। जसमध्ये मुख्य रुपमा देखिएका पाँच वटा छालासम्बन्धी समस्याको बारेमा चर्चा गर्ने प्रयास गरेका छौँ। यी समस्याहरु नेपालमा पनि वर्षेनी बढ्दै गइरहेको छाला रोग विशेषज्ञहरु बताउँछन्।
यी समस्या के हुन्, किन हुन्छ र रोकथाम कसरी गर्न सकिन्छ भनेर हामीले अस्पतालका विभागीय प्रमुखहरुसँग नै कुराकानी गरेका छौँ। उनीहरुसँग गरिएको कुराकानीका आधारमा यी रोगहरुको बारेमा विस्तृत रुपमा चर्चा गरिएको छः
१. एक्जिमा
एक्जिमा आम रुपमा देखिने छालासम्बन्धी प्रमुख समस्या हो। वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा एक्जिमाको समस्या पहिलो नम्बरमा आउँछ। एक्जिमाको समस्या लिएर पुग्ने बिरामीको संख्या यी अस्पतालहरुमा सबैभन्दा आम र धेरै छन्।
बाहिरी छालामा देखिने समस्या एक्जिमा हो। एक्जिमा आफैँमा बृहत शब्दकोष हो। यस अन्तर्गत विभिन्न समस्याहरु पर्छन्। छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने, अलिअलि पानी बगिरहने, छाला कडा हुने जस्तो समस्या हुन्छ। वीर अस्पतालमा आउने करिब २ सय जना बिरामीमध्ये ८० जनामा एक्जिमाको समस्या हुने गरेको छाला तथा यौन रोग विभागकी प्रमुख प्राडा अनुपमा कार्की बताउँछिन्।
एक्जिमाको समस्या व्यक्तिअनुसार फरक पर्ने बताउँदै उनले भनिन्, ‘साबुन, सर्फ, माटो लगातार छुनुपर्ने व्यक्तिमा हातमा एक्जिमा हुन्छ। कसैलाई कागज, चक, कसैलाई कानमा लगाउने टपले एलर्जी हुन्छ। त्यो पनि एक्जिमा अन्तर्गत नै पर्छ।’
प्रायः बिरामीहरु दाद वा एलर्जी भएको भन्दै अस्पताल पुग्छन्। छालालाई सकेसम्म सुख्खा हुन नदिन उनको सुझाव छ। एक्जिमाको कारण व्यक्ति अनुसार फरक हुने भएकाले कारण पत्ता लगाएर नै उपचारमा जानुपर्ने उनी बताउँछिन्।
त्रिवि शिक्षण अस्पतालमा पनि एक्जिमा पहिलो नम्बरमै पर्छ। दैनिक पुग्ने २ सयदेखि ३ सय जना बिरामीमध्ये करिब १५ प्रतिशत बिरामी एक्जिमाकै हुन्छन्। त्रिवि शिक्षण अस्पतालको छाला रोग विभागका प्राडा द्वारिका श्रेष्ठका अनुसार एक्जिमा धेरै प्रकारको भए पनि ‘कन्ट्याक्ट डर्माटाइटिस’ सबैभन्दा आम समस्या हो। कुनै वस्तुको सम्पर्कमा आउने बित्तिकै छालामा एलर्जी गर्ने, चिलाउने समस्या हुन्छ।
‘एक्जिमाको रोकथाम भनेकै जुन कुराले एलर्जी गराउँछ। पहिचान गरेर त्यो वस्तुबाट टाढा बस्नु नै हो,’ उनले भने।
कतिपय व्यक्तिलाई वंशाणुगत कारणले गर्दा पनि एक्जिमाको समस्या हुन्छ। यो समस्या सानै उमेरदेखि पनि हुन सक्छ। सामान्य एक्जिमा एलर्जी गराउने वस्तुको सम्पर्कबाट टाढा रहँदा ठिक हुन्छ। तर जटिल खालका एक्जिमाका लागि भने छाला रोग विशेषज्ञसँगको परामर्शमा औषधि नै खानुपर्ने डा श्रेष्ठ बताउँछन्।
२. फंगल इन्फेक्सन
वीर, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै दोस्रो नम्बरमा रहेको समस्या हो, फंगल इन्फेक्सन (संक्रमण)।
गर्मीमा पसिना, वायुमा आद्र्रताको वृद्धि अनि शरीर गुम्सिनाले यो रोग लाग्छ। यो एक प्रकारको ढुसी (फंगाइ) को कारण हुन्छ। कास लाग्नु, खुट्टा पानी÷हिलोले खानु, घाँटी वरपर सेतो दुबी आउनु, नङ पहेंलो हुनु, बाक्लो हुनु, दाद आउनु, १६ वर्षभन्दा मुनिका बालबालिकाको कपालमा खोइरो लाग्नु फंगल इन्फेक्सन हो।
फंगल इन्फेक्सन हुँदा हात र खुट्टाको औँलाको बीचमा चिलाउने, रातो हुने र छाला उप्किएर छालामा टिकटिक सेतो छाला देखापर्ने, छालामा गोलो रिङ आकार बन्ने, छालामा फोका उठ्ने, कपाल झरेर घाउ हुने लगायतका समस्या देखा पर्छन्।
पानीमा धेरै काम गर्ने, दिनभर जुत्ता लगाउनुपर्ने, कस्सिएको (टाइट) कपडा÷भित्री वस्त्र लगाउने व्यक्तिमा फंगल इन्फेक्सनको समस्या बढी देखिने पाटन अस्पतालका प्रमुख कन्सल्टेन्ट छाला रोग विशषेज्ञ प्राडा भाष्करमोहन कायस्थले बताए। पाटन अस्पतालमा छालासम्बन्धी समस्या लिएर आउने करिब १ सय जना बिरामीमध्ये गर्मीमा फंगल इन्फेक्सनका २० प्रतिशतजति हुन्छन्।
‘गर्मी महिनामा पसिना गुम्सिन्छ। तापक्रम र पसिना गुम्सिदा संक्रमण हुने सम्भावना बढी हुन्छ,’ उनले भने।
समयै उपचार नगरे यो संक्रमण शरीरमा फैलदै जान्छ। फंगल इन्फेक्सन बढी गर्मी महिनामा बढी हुने भएकाले कस्सिएको र शरीर निकै गुम्सिने कपडा नलगाउन उनको सुझाव छ। फंगल इन्फेक्सन एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले तौलिया लगायत कपडाहरु साझा रुपमा प्रयोग गर्नु हुँदैन।
गर्मी महिनामा फंगल इन्फेक्सनको समस्या बढ्ने गरेको त्रिवि शिक्षण अस्पतालका छाला रोग विशेषज्ञ डा श्रेष्ठ बताउँछन्। यो अस्पतालमा करिब २ सयमध्ये २० जना बिरामी फंगल इन्फेक्सनको हुने गरेको उनले बताए। वीर अस्पतालमा फंगल इन्फेक्सनको समस्या लिएर जाने बिरामीको संख्या करिब ३८ जना हुन्छन्।
३. डण्डीफोर
डण्डीफोर आम समस्या हो। डण्डीफोर किशोरावस्थामा बढी आउँछ। डण्डीफोर रोगभन्दा पनि व्यक्तिको छालाको प्रकारमा भर पर्छ। अनुहारमा अत्यधिक तेल आइरहेको छ। र, त्यसलाई राम्रोसँग सफा गरिएन भने पनि डण्डीफोर आउँछ। हर्मोनल कारणले पनि डण्डीफोरको समस्या निम्तिन्छ। डण्डीफोर व्यक्तिको खानपान, जीवनशैली र सरसफाइमा पनि निर्भर गर्छ।
वीर अस्पतालकी डा कार्कीका अनुसार डण्डीफोरको समस्या लिएर आउनेमा अधिकांश १२ वर्षदेखि २५ वर्ष समूहका हुन्छन्। र, दैनिक करिब ३९ जना बिरामी डण्डीफोरको समस्या लिएर वीर अस्पताल पुग्छन्।
डण्डीफोर उमेरसँग सम्बन्धित समस्या भएको पाटन अस्पतालका डा कायस्थ बताउँछन्। सामान्यतयाः २५ वर्षसम्म मात्र डण्डीफोर आउने भए पनि कसैलाई विशेषगरी महिलामा २५ वर्षपछि पनि डण्डीफोरले सताउने गरेको उनले बताए।
डा कायस्थका अनुसार महिलामा २५ वर्षपछि डण्डीफोर आउने दुई वटा कारणहरु छन्, एक– पाठेघरमा भएको डिम्बासय तथा सिस्टको समस्या। दोस्रो– अनावश्यक क्रिमको प्रयोग।
उनले भने, ‘२५ वर्षपछि कसैलाई डण्डीफोरको समस्या आएको छ भने हामी पहिला औषधिको बारेमा सोध्छौं। महिलामा महिनावारीको बारेमा पनि सोध्छौं। चाया–पोतोमा अनावश्यक औषधि लगाउँदा पनि डण्डीफोरको समस्या भएर आउनेहरु धेरै छन्।’
अनुहारमा डण्डीफोर छ भने चिल्लो क्रिम लगाउनु हुँदैन। हातले छुने, निचोर्ने गर्नु हुँदैन। यसो गर्दा अनुहारमा झन् दाग बस्न सक्छ। आफूखुसी औषधि र मल्हम लगाउनु हुँदैन। डण्डीफोरको समस्या बढ्दै गए छालारोग विशेषज्ञसँग जाँच गराउन उनको सुझाव छ। जंक फुड, गुलियो, चिल्लो, डेरीजन्य खानेकुरा कम गरे डण्डीफोरको समस्याबाट बच्न सकिन्छ।
त्रिवि शिक्षण अस्पतालका डा श्रेष्ठ अनावश्यक उपचारमा नजान आग्रह गर्दै भन्छन्, ‘अहिले धेरै किसिमको उपचारहरु बजारमा आएका छन्। यसले फाइदाभन्दा बेफाइदा हुन सक्छ। डण्डीफोरको उपचार नहुने भन्ने हुँदैन। त्यसैले छाला रोग विशेषज्ञसँग नै उपचार गर्नुपर्छ।’
४. चाया–पोतो र सेतो दुबी
अहिले धेरैलाई चाया–पोतोको समस्या देखिन्छ। चाया–पोतोको समस्याले व्यक्तिको सामाजिक र मानसिक रुपमा असर गरिरहेको हुन्छ। झट्ट हेर्दा अनुहारमा देखिहाल्ने भएकाले चाया–पोतोको समस्याबाट धेरै जना हैरान हुन्छन्।
छालामा एक प्रकारको मेलानिन तत्व हुन्छ। यही मेलानिनकै कारण कुनै पनि व्यक्तिको छाला गोरो र कालो हुन्छ। मेलानिन बढी या थोरै भएर होइन, यसको प्रकारले छालाको रङ निर्धारण गर्ने हो।
हर्मोनल या घामको किरणले गर्दा छालामा चाया–पोतो आउने पाटन अस्पतालका डा कायस्थले बताए। ‘चाया–पोतो आउने मुख्य कारण नै घामको किरण हो। जुन सेलमा बढी घाम लाग्छ, त्यहाँ बढी चाया–पोतो आउँछ,’ उनले भने।
मोबाइल, कम्प्युटर लगायतबाट आउने ब्लु रेजले पनि चाया–पोतो बढाउन सहयोग गर्छ। चाया–पोतो र सेतो दुबीको समस्या पाटन अस्पतालमा लिएर जाने बिरामीको संख्या ५ देखि १० प्रतिशत हुन्छन्।
चाया–पोतोको सबैभन्दा प्रभावकारी उपाय नै सन्सक्रिम भएको उनले बताए। सन्सक्रिमको प्रयोगबिना छालालाई घामको किरणबाट जोगाउन सकिँदैन। सन्सक्रिम पनि आफ्नो छाला अनुसार चिकित्सकले दिएको सुझावका आधारमा मात्र प्रयोग गर्नुपर्ने उनी बताउँछन्।
थाइरोइड, तनावले पनि चाया–पोतोको समस्यालाई थप बढाउने गरेको वीर अस्पतालकी डा श्रेष्ठ बताउँछिन्। डण्डीफोरको लागि जस्तै चाया–पोतोमा पनि व्यक्तिले आफूखुसी औषधि र मल्हमको प्रयोग गर्ने गरेको उनले बताइन्। बजारमा उपलब्ध विभिन्न कस्मेटिक सामग्री आफूखुसी प्रयोग नगर्न उनको सुझाव छ।
‘जथाभावी सामान लगाउँदा अनुहारमा दाग बस्ने र चाया–पोतोको समस्या ल्याउन सक्छ। घामबाट सक्दो बच्नुपर्छ। अरुको सल्लाहले कुनै पनि औषधि अनुहार लगाउनु हुँदैन,’ उनले भनिन्।
सेतो दुबीको उपचार पनि छाला रोग विशेषज्ञसँग मात्र गर्न उनको सुझाव छ।
५. एलर्जी
शरीरभन्दा बाहिरी तत्वको असरबाट जोगाउन शरीरले देखाउने एक किसिमको अवाञ्छित प्रतिक्रिया एलर्जी हो, जहाँ शरीरले ती बाहिरी तत्वको असरबाट जोगाउन विभिन्न लक्षण देखाउँछ।
उदाहरणका लागि कसैलाई साङ्लासँग कुनै पनि समस्या हुँदैन। तर कुनै व्यक्तिलाई साङ्लाको झुसबाट हाच्छ्युँ आउने, शरीर जिलाउने अथवा दम आउने पनि हुन सक्छ। त्यही साङ्लामा भएको प्रोटिनको प्रतिक्रियालाई नै एलर्जी भनेर बुझ्छौं। एलर्जी व्यक्तिअनुसार फरक हुने वीर अस्पतालकी डा श्रेष्ठ बताउँछिन्।
कतिपय व्यक्तिमा विभिन्न औषधिको समेत एलर्जी हुने बताउँदै उनी भन्छिन्, ‘बिरामी आफैँले ध्यान पु¥याउनुपर्छ कि के खानेकुरा वा औषधि खाँदा एलर्जी भयो। बिरामी आफैँले पनि पत्ता लगाउने कोसिस गर्नुपर्छ।’
छालामा डाबर आउने समस्या धेरैजसो एलर्जीकै कारण हुन्छ। कुनै पनि खानेकुरा, औषधि, संक्रमणले हुन सक्छ। डाबर आउने समस्या यही कारणले नै हुन्छ भन्ने छैन। यो समस्या व्यक्तिअनुसार फरक पर्छ।
६ हप्तासम्म डाबरको समस्या भए ‘अक्युट अर्टिकारिया’ भनिने डा कायस्थ बताउँछन्। यो समस्या धेरैजसो संक्रमणकै कारण हुन्छ। तर कसैलाई ६ हप्ताभन्दा बढी पनि डाबर आउने समस्या हुन्छ। ६ हप्ताभन्दा बढीसम्म डाबर आउने समस्या भए यसलाई ‘क्रोनिक अर्टिकारिया’ भनिन्छ।
यो समस्या भए कारण थाहा पाउन निकै गाह्रो हुन्छ। क्रोनिक अर्टिकारिया भए कहिलेकाहीँ कारण थाहा नपाउँदा मधुमेह र रक्तचापमा जस्तो जीवनभर औषधि खानुपर्ने हुन सक्छ। सबै डाबरको समस्या निको हुँदैन। कसैलाई यो समस्याले निश्चित समय वा जीवनभर सताइरहन सक्छ। पाँच वर्ष, दस वर्ष वा जीवनभर औषधि खानुपर्ने हुन सक्छ। कसैलाई तातो, चिसो, हावा, पानी, बोट–बिरुवा जे कुराले पनि डाबरको समस्या हुन सक्छ।
चिलाउने समस्या भनेको डाबर या एलर्जीले मात्र हुँदैन। छाला चिलाउनुको कारण एलर्जी मात्र हुँदैन। धेरैजसो बिरामीले छाला चिलाउने बित्तिकै मलाई एलर्जी भयो भन्छन्। तर एलर्जीले मात्र छाला चिलाउँदैन। लुतो, फंगल इन्फेक्सन, एक्जिमाले पनि छाला चिलाउँछ। लुतो एलर्जी होइन। जनै खटिरा निको भएपछि दुख्छ। तर कसैलाई निको भएपछि पनि चिलाउँछ। छाला सुख्खा भए पनि चिलाउँछ। वृद्धावस्थामा पनि छाला चिलाउँछ।
बाहिरी कारणसँगै शरीर भित्रको कारणले पनि छाला चिलाउँछ। मधुमेह, थाइरोइड, रगत बढी या कम भए, क्यान्सर, मिर्गौला रोग, डायलाइसिस भएपछि र गर्ने बेला पनि छाला चिलाउँछ। रगत क्यान्सर भएका बिरामीमा झन् धेरै नै चिलाउँछ। चिलाउने कारणहरु सीमित छैनन्। छाला चिलाउनुको कारण धेरै नै छन्। तर सबै चिलाउने समस्या एलर्जीका कारण हुँदैन।
केही व्यक्तिले चिलाउने समस्याबाट बच्न स्टेरोइड ट्याबलेट खाने गर्छन्। चिकित्सकको सल्लाहबिना खाने यस्ता औषधिले चिलाउन त कम होला नहोला तर अर्को रोग निम्त्याउँछ। स्टेरोइड औषधिले मोटोपना बढ्ने, रक्तचाप, मधुमेह, डण्डीफोर आउने, हड्डी कमजोर हुने, रगत जम्ने जस्ता समस्या निम्त्याउँछ। कुनै पनि औषधि चिकित्सकको सल्लाह र प्रेस क्रिप्सन बिना खानु हुँदैन। चिलाउने, डाबर आउने समस्या भए छाला रोग विशेषज्ञसँग जाँच गराउनुपर्छ।
६. ब्याक्टेरियल संक्रमण (घाउ–खटिरा)
छालासम्बन्धी देखिने अर्को आम समस्या हो, ब्याक्टेरियल संक्रमण। बच्चा र वयस्कहरुमा देखिने ब्याक्टेरियल संक्रमण फरक हुन्छन्।
बच्चाको नाकको वरिपरि पहेलो घाउ आउँछ। यो घाउ दुख्दैन, चिलाउँदैन। खुट्टामा ठूला पिपका फोकाहरु आउँछ। टाउकोमा स–साना पिलो आउने पनि हुन्छ। कुनै ठाउँमा चोट लाग्यो भने ब्याक्टेरियल संक्रमणका कारण पाक्ने समस्या पनि हुन्छ।
ब्याक्टेरियल संक्रमण दुई किसिमको हुन्छ। एक, प्राइमरी ब्याक्टेरियल संक्रमण र दोस्रो, सेकेण्डरी ब्याक्टेरियल संक्रमण। सरसफाइको कमी लगायत विभिन्न कारणले आफैँ घाउ–खटिरा आउनु प्राइमरी ब्याक्टेरियल संक्रमण हो। चिलाएको ठाउँमा, दाद आएको भागमा कन्याउँदा ब्याक्टेरियल संक्रमणका कारण घाउ पाक्नु सकेण्डरी संक्रमण हो।
ब्याक्टेरियल संक्रमण सरुवा रोग र सरसफाइको कमीका कारण हुने भएकाले बालबालिकामा सहजै सर्ने पाटन अस्पतालका डा कायस्थले बताए। मधुमेह भएका बिरामीलाई पनि घाउ–खटिरा आउने समस्या भइरहन्छ। बालबालिकामा हुने संक्रमणको समयमै उपचार गर्न आवश्यक रहेको उनले बताए।
‘बच्चामा छालामा हुने ब्याक्टेरियल संक्रमण छ भने समयमै उपचार चाहिन्छ। समयमै उपचार भएन भने मिर्गौला रोग निम्त्याउन सक्छ,’ उनले भने।
अभिभावकलाई आफ्ना बच्चाको सरसफाइमा ध्यान दिन, समस्या छ भने समयमै उपचार गर्न र फोहोरमैलामा खेल्न नदिन उनको सुझाव छ।
७. कोठी
शरीरका विभिन्न भागमा हामी कोठी देख्छौं। कोठीको रङदेखि आकार व्यक्तिअनुसार फरक हुन्छन्। कुनै कोठीले अनुहारको सुन्दरता बढाउँछ। तर अनावश्यक रुपमा वृद्धि हुने र धेरै कोठीले अनुहारको सुन्दरतामा कमी पनि ल्याउँछ। कति कोठीले त शरीरभित्र भइरहेका रोगहरुको संज्ञा पनि दिन्छ। निश्चित कोष आफ्नो ठाउँमा हुनुपर्नेमा अर्को ठाउँमा गएर जम्मा हुन्छ, जसलाई कोठी भनिन्छ।
सबै कोठी क्यान्सर र समस्याजनक हुँदैन। तर कोठीको समय समयमा परीक्षण गराइरहनुपर्छ। कोठीको आकार र रङमा परिवर्तन आए, रगत आए, चिलाए तत्काल परीक्षण गराउनुपर्ने पाटन अस्पतालका डा श्रेष्ठ बताउँछन्। यस्तो अवस्थामा चिकित्सकले कोठी शल्यक्रिया गरेर निकाल्ने गर्छन्। तर कुनै कोठीहरु निकाल्न सकिँदैन। कोही व्यक्तिको आधा अनुहार नै कोठीले ढाकेको हुन्छ। यस किसिमको कोठीहरु निकाल्न नसकिने उनले बताए।
उनले भने, ‘कोठीको आकार र रङमा परिवर्तन आउनु भनेको शरीरको भित्री कारण हुन्छ। यो रोगसँग सम्बन्धित हुन सक्छ। त्यसैले परीक्षण गराउनुपर्छ।’
छाला बिग्रिएपछि मात्र अस्पताल
छालासम्बन्धी आम रुपमा देखिइरहने प्रमुख समस्या यिनै हुन्। मानिस मा छाला स्वास्थ्य र हेरचाहसम्बन्धी जनचेतना तुलनात्मक रुपमा बढ्दो छ। तर पर्याप्त छैन। गलत सूचना र सही जानकारीको अभावमा मानिसहरु भड्किरहेका छन्। उनीहरु छालालाई सुन्दर बनाउन चाहन्छन् तर छाला विशेषज्ञसँग यो विषयमा कमै मात्र परामर्श गर्छन्। साथीभाइको अनावश्यक सरसल्लाह र आफूखुसी प्रयोग गर्ने क्रिम र मल्हमले छालालाई झनै बिगारिरहेका छन्।
वीर, त्रिवि, शिक्षण अस्पतालमा पुग्ने अधिकांश व्यक्तिहरु छालमा समस्या हुने बित्तिकै जाँदैनन्। छाला बिग्रिएर जटिल भइसकेपछि मात्र अस्पताल पुग्नेहरु धेरै छन्।
वीर अस्पतालको छाला तथा यौन रोग विभागमा सामान्य समस्या हुने बित्तिकै अस्पताल पुग्ने बिरामीको संख्या अत्यन्तै न्यून छ।
विभागीय प्रमुख डा कार्की भन्छिन्, ‘औषधि पसलमा गएर मल्हम लगाएर नआउने बिरामी निकै कम हुन्छन्।’
डण्डीफोर, चाया–पोतो, दाद लगायतका छालासम्बन्धी समस्या भएकाहरु पहिले औषधि पसल अनि पार्लरमा धाउने गरेको उनी बताउँछिन्। अनावश्यक औषधि र कस्मेटिक सामग्रीले अनुहार नबिग्रिँदासम्म अस्पताल आउने बिरामी निकै कम छन्। कतिपय व्यक्तिहरुले साथीको सुझावमा बिना परीक्षण आफूखुसी मल्हम लगाउने, औषधि दल्ने समेत गरेको उनले बताइन्।
‘एक पटक होइन, पटकपटक पार्लरमा गएर ठिक नभएपछि हामीकहाँ आउने धेरै छन्,’ उनले भनिन्।
अनावश्यक औषधिको प्रयोगले छाला बिग्रिएर मात्र आउने गरेको पाटन अस्पतालका डा कायस्थ बताउँछन्। यो समस्या महिला र पुरुष दुवैमा उस्तै भएको उनले बताए। चाया–पोतोमा मेलाकेयर, स्टेरोइड, स्किन साइन, क्युटी केयर लगायत क्रिमको अनावश्यक प्रयोगले अनुहार बिग्रिएर धेरै बिरामीहरु आउने गरेको उनले बताए।
छाला बिग्रिएर आउने बिरामीलाई उनको पहिलो प्रश्न हुन्छ, ‘कुन चायाको औषधि लगाउनुभएको हो ?’ उनले भने, ‘धेरैजसो साथीहरुले भनेका क्रिमहरु लगाउने गरेको, औषधि पसलमा गएर चाया–पोतो, डण्डीफोरको औषधि गर्नेहरु, कोही पार्लरले दिएका औषधिहरु प्रयोग गरेर आएका हुन्छन्।’
कतिपयले त युट्युबमा भिडियो हेरेको भरमा पनि आफूखुसी औषधि र क्रिम प्रयोग गर्ने गरेको उनले बताए। आफूखुसी प्रयोग गरिएका औषधि र क्रिमले समस्या झनै बढाएर अनुहार नै बिगार्ने गरेको उनले बताए। छालामा कुनै समस्या देखिने बित्तिकै सम्बन्धित छाला रोग विशेषज्ञको सल्लाहमा मात्र औषधि प्रयोग गर्न उनको सुझाव छ।