काठमाडौं- प्रति एक हजार जीवित जन्ममा २१ जना नवजात शिशुको मृत्यु। यो तथ्यांक सात वर्षअघि जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०१६ ले देखाएको हो। उक्त सर्भेक्षण सार्वजनिक भएको केही समयपछि सरकारले पन्ध्रौं योजना सार्वजनिक ग¥यो।
उक्त पाँच वर्षीय योजनामा आर्थिक वर्ष २०८०/८१ भित्र नेपालमा नवजात शिशुको मृत्युदरमा उल्लेख्य सुधार ल्याउने लक्ष्य राखिएको छ। भनिएको छ– प्रति एक हजार जीवित जन्ममा नवजात शिशुको मृत्यु १४ मा झार्ने।
उक्त योजना अनुसार चालु आर्थिक वर्ष भित्र उक्त लक्ष्य पूरा हुनुपर्ने देखिन्छ। तर के लक्ष्य अनुसार उपलब्धि भएको छ त ? गत वर्ष मात्र सार्वजनिक भएको जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ ले भने उक्त लक्ष्य पूरा नहुने प्रष्ट देखाएको छ।
उक्त सर्वेक्षण अनुसार नेपालमा नवजात शिशुको मृत्युदरमा कुनै सुधार आउन सकेको छैन। सर्भेक्षणले पाँच वर्षको अवधिमा नवजात शिशुको मृत्युमा सुधार नआई प्रति एक हजार जीवित जन्ममा २१ नै रहेको देखाएको छ। अझ यो संख्या ग्रामीण क्षेत्रमा बढी रहेको सर्भेक्षण प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार ग्रामीण क्षेत्रमा नवशिशु मृत्यु २५ र शहरी क्षेत्रमा १९ रहेको छ।
दिगो विकास लक्ष्य अनुसार सन् २०३० भित्र नवशिशु मृत्युदर १२ मा झार्ने लक्ष्य रहेको छ। नवजात शिशु भन्नाले जन्मेको २८ दिन भित्रका बच्चालाई बुझ्नुपर्छ। अबको पाँच वर्ष भित्र उक्त लक्ष्य पूरा हुन्छ त ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल उक्त लक्ष्य पूरा गर्न निकै कठिन हुने बताउँछन्।
‘अहिले नवजात शिशु तथा बाल मृत्युदर घटाउन भइरहेको कामले लक्ष्य भेट्न सकिँदैन,’ उनले भने, ‘अब जुन–जुन प्रदेशमा शिशु तथा बाल मृत्युदर बढी छ ती प्रदेशमा थप फोकस भएर काम नगर्ने हो भने दिगो विकासको लक्ष्य हासिल गर्न गाह्रो छ।’ उनले यसका लागि मन्त्रालयले विज्ञहरुसँग छलफल गरेर कार्यक्रमको मोडालिटी थप गर्ने, प्राथमिकता क्षेत्र पहिचान गरेर जाने, बजेट र जनशक्तिको व्यवस्था गर्ने लगायतका काम गर्न खोजिरहेको जानकारी दिए।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक दुई घन्टामा करिब तीन जना नवजात शिशुको मृत्यु हुने गरेको छ। हरेक वर्ष करिब १३ हजार नवजात शिशुको मृत्यु हुने तथ्यांक छ। सन् १९९६ मा भएको सर्भेक्षणमा नवशिशु मृत्यु प्रति एक हजारमा ५० थियो भने सन् २००१ मा ३९, २००६ मा ३३, २०११ मा ३३, २०१६ मा २१ र २०२२ मा पनि २१ नै रहेको देखिएको छ।
नवजात शिशुको मृत्युको कारण
नवजात शिशुको मृत्युको मुख्य कारण भने संक्रमण देखिएको छ। अझै पनि स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुने महिलाको संख्या बढी भएकाले संक्रमणको बढी प्रभाव देखिएको छ।
लामो समय स्वास्थ्य सेवा विभाग अन्र्तगत परिवार स्वास्थ्य महाशाखामा काम गरेकी डा शिलु अर्यालले अहिले पनि धेरै गर्भवती घरमा सुत्केरी हुने भएकाले संक्रमण हुने हुँदा अपेक्षित रुपमा मृत्युदर रोक्न नसकिएको बताइन्।
संक्रमणबाहेक जन्मँदा कम तौल, सिताङ्ग, श्वास फेर्न कठिनाइ अर्थात् निस्सासिनु, समयअघि नै जन्मिने कारणले नवजात शिशुको मृत्यु उच्च रहेको डा अर्यालले बताइन्।
उनले भनिन्, ‘संघीय संरचनापछि धेरै स्थानीय र प्रदेशले पनि यस सम्बन्धी कार्यक्रम ल्याई सक्रियता देखाएकाले लक्ष्य हासिल हुन्छ भन्ने लाग्छ।’ ग्रामीणमा होइन, शहरमा पनि संक्रमण दर उच्च भएकाले नवजात शिशु मृत्युदर पनि उच्च छ।
घरमा मात्र होइन, अस्पतालमा पनि संक्रमणको चुनौती उच्च रहेकाले यस विषयमा कार्यक्रम गर्नु आवश्यक देखिन्छ। तर अझै पनि यसतर्फ सरकारको व्यवस्थित योजना देखिँदैन।
सरकारले अहिले न्यानो झोला वितरण, सुत्केरी भत्ता, निःशुल्क नाभी मल्हम लगायतको सुविधा त दिएको छ। तर यी सुविधा नियमित रुपमा उपलब्ध हुन भने सकेको छैन।
डा पौडेल समुदायस्तरमा सुत्केरीपछिको हेरचाहको अवस्था कमजोर हुँदा नवशिशुको मृत्युदरमा कम गर्न नसकिएको बताउँछन्। भन्छन्, ‘कम्युनिटीमा पोष्ट नेटल केयरको अवस्था कम छ। नवजात शिशुको राम्रोसँग केयर भएन, कुनै समस्यामा समयमा उपचार भएन भने छिट्टै सिरियस हुने सम्भावना हुन्छ र बचाउन पनि गाह्रो हुन्छ।’
उनले समुदायस्तरमा तालिमप्राप्त जनशक्तिबाट सुत्केरीपछि पनि केही हप्तासम्म नियमित हेरचाह हुने हो भने धेरै मृत्युलाई रोक्न सकिने जानकारी दिए। ‘अहिले हरेक जिल्लामा जवजात शिशुलाई राख्ने केन्द्र, न्युवोर्न केयर युनिट, त्यहाँ काम गर्ने डाक्टर र नर्सहरुलाई तालिम दिने कामहरुको बढिरहेको छ,’ उनले भने, ‘तर कम्युनिटीमा पोष्टनेटल केयर भिजिट चाहिँ सोच अनुसार बढाउन सकिएको छैन। पोष्टनेटल केयर भिजिट नहुँदा जटिलता भएका वा संक्रमण भएका बच्चाको मृत्यु भइरहेको छ।’
उनका अनुसार नवजात शिशुको मृत्यु तीन कारणले हुन्छ। एउटा कम तौलको शिशु जन्मेको छ भने, दोस्रो संक्रमणको कारण र तेस्रो भनेको जन्मिने बेलामा निस्सासिएर हुन्छ। उनले स्वास्थ्य संस्थामा सुत्केरी हुने क्रम बढ्दो क्रममा रहेकाले अब भने मृत्यु दरमा सुधार आउने अपेक्षा लिइएको बताए।
पाँच वर्ष मुनिको बाल मृत्युदरमा भने सुधार
नेपालमा पाँच वर्ष मुनिको बाल मृत्युदर ६ प्रतिशतले घटेको पाइएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२ (एनडीएचएस) ले गएको पाँच वर्षमा पाँच वर्ष मुनिको बाल मृत्युदर ६ प्रतिशतले घटेको देखाएको हो। एनडीएचएस २०२२ को प्रतिवेदन अनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा ३३ बालबालिकाको मृत्यु हुने देखिएको छ। दिगो विकास लक्ष्य अनुसार सन् २०३० मा उक्त मृत्युदरलाई घटाएर २५ मा ल्याउने लक्ष्य लिइएको छ।
यसअघि सन् २०१६ मा नेपालमा प्रति एक हजार जीवित जन्ममा ३९ बालबालिकाको मृत्यु हुन्थ्यो। सन् १९९६ मा ११८, २००१ मा ९१, २००६ मा ६१, २०११ मा ५४ र २०१६ मा ३९ बाल मृत्युदर थियो।
पाँच वर्ष मुनिको बाल मृत्युदरसँगै एक वर्ष मुनिको बाल मृत्युदरमा पनि ४ प्रतिशतले घटेको पाइएको छ। पाँच वर्षअघि प्रति एक हजार जीवित जन्ममा ३२ रहेको यो संख्या यस वर्ष २८ मा झरेको छ। सन् १९९६ मा ७८, २००१ मा ६४, २००६ मा ४८, २०११ मा ४६, २०१६ मा ३२ हुँदै २०२२ मा २८ प्रतिशतमा झरेको हो। सन् २०३० मा उक्त संख्या घटाएर २० मा झार्ने लक्ष्य रहेको छ।
जनचेतनाको क्षेत्रमा अझै सक्रियता आवश्यक
चिकित्सक भन्छन्– स्वास्थ्य संस्थामा प्रसूति तथा नियमित सुत्केरी जाँच गराएमा ११ हजार नवजात शिशुको ज्यान जोगाउन सकिन्छ। तर सबै गर्भवतीलाई सुत्केरी हुन अस्पतालसम्म पु¥याउने कार्य नै प्रमुख चुनौतीको विषय बनेको छ।
सर्भेक्षण अनुसार नेपालमा हाल ७९ प्रतिशतले स्वास्थ्य संस्थामा बच्चा जन्माउने गर्छन्। शहरी क्षेत्रका ८१ र ग्रामीण क्षेत्रका ७७ प्रतिशत बच्चा स्वास्थ्य संस्थामा जन्मिएका हुन्। अझै पनि २१ प्रतिशत घर तथा बाटोमा नै सुत्केरी हुने गरेका कारण उक्त संख्याकै कारण जोखिम बढेको अनुमान गरिएको छ। यसका साथै स्वास्थ्य संस्थामा पनि गुणस्तरीय सेवा प्रवाहमा जोड दिन आवश्यक रहेको बाल रोग विशेषज्ञहरुको सुझाव छ।
नियमित स्वास्थ्य जाँच, स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्ने, नाल काटेपछि नाभी मल्हम लगाउने, जन्मेको २४ घन्टासम्म शिशुलाई नुहाउन नहुने, न्यानो पारेर राख्नुपर्ने लगायतका कुरा अझै पनि प्रभावकारी रुपमा जनतामा पु¥याउन आवश्यक छ।
दक्ष प्रसूतिकर्मी, पायक पर्ने स्थानमा बर्थिङ सेन्टर, आवश्यक उपकरण र जनशक्तिको व्यवस्थामा ध्यान दिन सकेमा धेरै मृत्यु रोक्न सकिने स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव डा सुधा शर्मा बताउँछिन्।
सामुदायिक हेरचाह र सेवाको गुणस्तरमा जोड दिनुपर्छ
डा कृष्ण पौडेल
प्रमुख, नीति योजना तथा अनुगमन महाशाखा, स्वास्थ्य मन्त्रालय
बाल र नवजात शिशुको स्वास्थ्यका क्षेत्रमा सरकारले धेरै नै उपलब्धि हासिल गरेको छ। सरकारले बालबालिका र शिशुको स्वास्थ्यलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको अवस्था छ।
दिगो विकास लक्ष्य अनुसार बाल र नवशिशुको स्वास्थ्यका क्षेत्रमा धेरै नै काम गर्नुपर्ने देखिएको छ। लक्ष्य ठूलो छ। तर चुनौती धेरै नै छ। त्यसले गर्दा अहिले शिशु तथा बाल मृत्युदर घटाउन भइरहेको कामले पुग्दैन। समुदायमा आधारिक कार्यक्रमहरु चलिरहेका त छन्। तर तिनीहरु पर्याप्त र प्रभाविकारी रुपयमा कार्यान्वयनमा आइरहेको देखिँदैन। जुन–जुन प्रदेशमा शिशु तथा बाल मृत्युदर बढी छ ती प्रदेशमा थप फोकस भएर काम नगर्ने हो भने दिगो विकासको लक्ष्य हासिल गर्न गाह्रो छ। बाल तथा शिशु मृत्युदर बढी भएको ठाउँमा कि त सेवाको गुणस्तर पुगेको छैन कि त सेवा नै पुगेको छैन भन्ने बुझ्न सकिन्छ।
कम्युनिटीमा पोष्टनेटल केयरको अवस्था कम छ। नवजात शिशुको राम्रोसँग केयर भएन, कुनै समस्याको समयमा उपचार भएन भने छिट्टै सिरियस हुने सम्भावना हुन्छ र बचाउन पनि गाह्रो हुन्छ। त्यसैले हरेक जिल्लामा जवजात शिशुलाई राख्ने केन्द्र, न्यूबर्न केयर युनिट, त्यहाँ काम गर्ने डाक्टर र नर्सहरुलाई तालिम दिने कामहरु बढिरहेको अवस्था छ। तर कम्युनिटीमा पोष्टनेटल केयर भिजिट चाहिँ सोचे अनुसार बढाउन सकिएको छैन।
पोष्टनेटल केयर भिजिट नहुँदा जटिलता भएका वा संक्रमण भएका बच्चाको मृत्यु भइरहेको छ। नवजात शिशुको मृत्यु तीन कारणले हुन्छ। एउटा कम तौलको शिशु छ भने, दोस्रो संक्रमणको कारण र तेस्रो जन्मिने बेलामा निस्सासिएर।
जन्मिने बेलामा निस्सासिएको बच्चाको जन्मपश्चात् हुने चेकअपमा नै समस्या थाहा हुन्छ। सुविधा भएको स्वास्थ्य संस्थामा प्रसूति गराएको अवस्थामा त्यहीँ उपचार सुरु हुन्छ। स्वास्थ्यकर्मीको सहायतामा हुने प्रसूतिमा यस्ता मृत्यु धेरै रोक्न सकिन्छ। त्यसले बच्चा निस्सासिएर मृत्यु हुने दर घटाउँदै लैजान सकिन्छ।
यस्तै नवजात शिशुलाई संक्रमणबाट बचाउन प्रसूति गराइने अस्पताल तथा स्वास्थ्य संस्थामा इन्फेक्सन प्रिभेन्सनको प्राक्टिस हुनुपर्छ। यो कुरा अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको गुणस्तरसँग जोडिएको विषय हो। गर्भवती महिला स्वास्थ्य संस्थामै प्रसूति गराउन त गए तर प्रसूति गराउने गाउँ सफा छैन, गुणस्तर छैन भने पनि शिशु मृत्युदर कम हुन समय लाग्छ। त्यस कारण गुणस्तरमा जोड दिन आवश्यक छ।
अर्को, समय नपुगी जन्मिने शिशु वा कम तौलमा जन्मिने शिशुको पनि बाँच्ने सम्भावना कम हुन्छ। उनीहरुलाई बचाउनको लागि धेरै ठाउँमा न्यूबर्नको इन्टेन्सिभ केयर, एनआईसीयू, भेन्टिलेटर चाहिन्छ र त्यहाँ केयर राम्रो चाहिन्छ।
सामान्य अवस्थामा सुत्केरीहरुलाई २४ घण्टापछि डिस्चार्ज गरिन्छ। अस्पतालबाट घर गएपछि बच्चाले दूध खाएन, कुनै खतराको लक्षण देखियो भने त्यसलाई छिटो पहिचान गर्ने कम्युनिटी पोष्ट भिजिट केयरले हो।
बच्चा सुस्त भयो, आमाको दूध चुसेन, जण्डिस अत्यधिक रुपमा बढ्यो, शरीरमा फोका वा घाउहरु देखियो भने नवजात शिशुले छिटो उपचार पाउनुपर्छ। ढिला भयो भने संक्रमण रगतमा छिटो फैलिन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैल शिशु मृत्युदर घटाउन कम्युनिटी भिजिट केयर, स्वास्थ्य संस्थाको गुणस्तर र जनशक्तिलाई तालिमको कुरामा ध्यान दिनुपर्छ। अहिलेकै जनशक्ति र स्रोत–साधनले शिशु मृत्युदर घटाउन गाह्रो छ। यसका साथै जहाँ–जहाँ नवजात शिशुको मृत्यु बढी छ त्यही ठाउँलाई बढी प्राथमिकता दिएर काम गर्नुपर्ने समय पनि आइसकेको छ।