धनुषा- जनकपुर निवासी शिवशंकर साहले जानकारी पाए– जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुँदैछ । नेपालका साथै विश्वका क्यान्सर रोग विशेषज्ञ भेला हुँदैछन् ! अंग्रेजीमा एमए गरेका उनले खोजीहेरे- मलाई उपचार गर्ने डाक्टर पनि सूचीमा छन् कि ?
उनले थाहा पाए, 'पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही पनि सम्मेलनमा सहभागी हुँदैछन्।' एक हप्ताअघि थाहा पाएका उनी त्यसपछि जनकपुरमा व्यग्र प्रतिक्षामा बसे। आफूलाई क्यान्सर जस्तो रोगको चपेटाबाट मुक्त गराइरहेको डाक्टरलाई आफ्नै गृहनगरमा भेट्ने उनमा तीव्र आकांक्षा पलायो। त्यसले उनलाई यति व्यग्र बनायो कि उनी आयोजक विनयतारा फाउन्डेसनमा गएर समेत सोध्न पुग्थे। उनलाई लाग्थ्यो, 'कार्यक्रम तोकिएको मिति भन्दा वरपर भए त म छुटिहाल्छु।'
उनले थाहा पाएकै मिति १६ मार्चको बिहान ८ बजेदेखि सम्मेलन सुरु हुँदै थियो। उनी ७ बजे नै पुगे कार्यक्रमस्थल । पुग्नेवित्तिकै फोन गरे डा अरुणलाई । अरुण निर्धारित समय भन्दा केही ढिलो हुन पुगे। उनी त्यहाँ छटपटिरहेका थिए। त्यही क्रममा हामीलाई सोधे, 'डा अरुण आइपुग्नुभयो?' हामीले एकछिनमा आउने बतायौं र उनलाई सोध्यौं- केही जरुरी थियो कि?
उनले भने- भगवानको दर्शन गर्न आएको । म उहाँकै कारण निको भएको! हामीले थाहा पायौं- उनी डा शाहीले उपचार गरिरहेका बिरामी रहेछन्।
डा अरुण आएपछि उनलाई भेटे । नयाँ जाँचको रिपोर्ट थियो, हेरे र सव ठीकै रहेको बताए। यत्तिकैमा शिवशंकरले थपे, 'जब तपाईंको अनुहार हेर्छु (देख्छु) नि, म ठीक भइहाल्छु। हजुरलाई भेट्दाखेरि केही समस्या छैन जस्तो लागिहाल्छ।'
नेपाली, मैथिली र अंग्रेजी तीन भाषा, तिनवटै लवजमा कुरा गर्छन् उनी। अंग्रेजीमा एमए गरेर प्राथमिक स्कुलमा करारको जागिर खाइरहेका उनको मुखबाट एक तिहाइ अंग्रेजी शब्द निस्किछन्। त्यो मिश्रण उनको आफ्नै मीठो-मौलिक भाषा बनेको छ । त्यही लवजमा उनी थप्छन्, 'म कति दिनदेखि वेटिङ गरिरहेको छु। भेट्न छुट्छ कि भन्ने पनि लागिरहेको थियो।'
त्यही भेटमा उनले डा शाहीलाई प्रस्ताव गरे, 'आज बेलुकीको खाना मेरो डेरामा खानुपर्छ। म फ्रेस फिस ल्याउन्छु र टेस्टी बनाउँछु। कि मिट खाने?'
'डाक्टरसाहेबसँगै तपाईं पनि आइहाल्नुहोस्' भन्दै हामीलाई पनि निम्तो दिए।
सम्मेलनको तय कार्यक्रम नै बेलुकी ८ बजेसम्मको थियो। डा अरुणले मुश्किल हुने बताए । तर, उनी त्यसपछि भएपनि हुन्छ भन्दै अनुनय गर्न थाले। उनी भन्न थाले, 'मलाई बचाउने भगवान मेरा डेरामा आउँदा खुशी लाग्छ।'
बिरामीमैत्री स्वभावका डा अरुण उनको अनुनयअघि नतमस्तक भए। उनले वचन दिए, 'चार बजेदेखि साढे ६ बजेको खाली समयमा एकछिन डेरामै आउँछु तर खाना बनाउने कस्ट नगर्नु।'
शिवशंकरको अनुहारमा उज्यालो छायो। आफ्नो डेरामा आफूलाई उपचार गरिरहेको डाक्टर आउने कुराले उनी गदगद् भए।
उनी घडी हेरेर ४ बजे कुरेछन् । फोन गर्न थाले। हामी सवा ४ बजेतिर निस्किने तय गर्यौं । हामीसँगै रहेका एकजना स्थानीय चिकित्सक डा वीरेन्द्र भगतको गाडीमा उनको डेरा रहेको आरआरएम कलेजसम्म जाने भयौं। उनी बाइक ल्याएर गेटमै बसेका थिए। उक्त बाइकमा हामी दुईजनालाई एक-एक गरी डेरा पुर्यायउने प्रस्ताव गरे। पहिले डा अरुणलाई जान भनें । बाइकमा डा अरुणलाई चढाउँदै गर्दा फेरि उनको अनुहारमा असीम खुशी छचल्कियो। उनी भन्दै थिए, 'जनकपुरमा आएपछि मलाई खुशी लाग्छ नि।'
स्वास्थ्यमा लापरबाह भएर प्यांक्रियाज क्यान्सर भएको होइन उनलाई । स्वास्थ्यमा संवेदनशील थोरै नेपाली मध्येमै पर्छन् शिवशंकर । तराईमा आमजस्तै रहेको सुर्तिचुरोट, पानगुट्खा उनको मुखमा परेको छैन । मदिरासँग सधैं परहेज छ। खानामा पनि उनी सकेसम्म 'ब्यालेन्स डाइट' गर्न खोज्छन् । रोटी, तरकारी र साग प्रिय खानामा पर्ने रहेछ।
त्यही कारणले उनी पहिलो स्टेजमै चिकित्सककोमा आइपुगे र अब दुईटा किमो दिएपछि उनी क्यान्सरमुक्त हुने सम्भावना बढेको छ।
000
उनलाई एक वर्षअघि अर्थात् अघिल्लो चैतमा एकदिन एक्कासी उनलाई ज्वरो आयो र कब्जियत पनि देखियो। आम बिरामीले जस्तो 'ज्वरो हो, ठीक भइहाल्ला' भन्ने भ्रममा उनी परेनन्। उनी प्रश्न गर्न थाले, 'ज्वरो किन आयो ? साग र रोटी धेरै खान्छु तरपनि कब्जियत किन भइरहेछ?'
त्यसपछि उनी जँचाउनका लागि स्थानीइ अस्पतालमा पुगे। उनलाई आफूलाई भएको लक्षण बताए। स्थानीय चिकित्सकले जाँचेपछि गलब्लाडरमा समस्या रहेको बताए र काठमाडौं जान भने । उनको भनाइनाता पर्ने डा सञ्जय साहसँग सम्पर्क गरे। उनले डेरानजिकैको सुमेरु अस्पताल सुझाए । त्यहाँ इन्डोस्कोपी गरेपछि पाटनमा अस्पतालमा रिफर गरियो।
पाटन अस्पतालमा सर्जन डा सञ्जय पौडेलले सर्जरी गरे। जाँचेर हेर्दा क्यान्सरको संकेत देखियो। थप जाँचपछि पुष्टि भयो र डा पौडेलले नै क्यान्सर रोग विशेषज्ञ डा शाहीलाई भेटाइदिए । डा शाहीले रिपोर्ट हेरेपछि केमोथेरापी दिन सुरु गरे। जसको अब दुई साइकल बाँकी छ।
त्यसपछि उनी क्यान्सरमुक्त हुने सम्भावना बढेको छ। आत्मविश्वास शिवशंकरमा यति धेरै छि कि उनी भन्छन्, 'कुनै लक्षण छैन। म निको भइसकें।' उनलाई केमो पूरा साइकल लिन र नियमित फलोअपका लागि डा शाहीले सुझाए।
कुराकै बिचमा शिवशंकर बोले, 'डेरामा आइहाल्नुभयो । म के-के लिएर आउँ।' हामीले केही नखाने भन्यौं तर उनी किन रोकिन्थे । अंग्रेजीमा भने, 'आइ वान्ट टु फिड यु।'
उनले यति के भनेका थिए, उनकी श्रीमतीले प्लेटभरी फलफूल र एक कचौरा रसवरी अगाडि राखिदिइन्! फेरि शिवशंकरले थपे, 'फिस ल्याएर बनाइहाल्छु।'
हामी उनको डेराबाट बाहिरियौं। बाहिरिँदा लागिरह्यो- चिकित्सक र बिरामीको सम्बन्ध होस् त यस्तो। सवै चिकित्सकले डा अरुणले जस्तै उपचार र काउन्सिलिङ गर्दाहुन् वा सवै बिरामी शिवशंकर जस्तै बुझक्की भइदिँदा हुन् त नेपाल चिकित्सक सङ्घले 'जेल विथआउट बेल'को माग गर्नुपर्दैनथ्यो। 'डाक्टर-समुदाय सम्बन्ध' जस्ता अभियान चलाउन जरुरी हुँदैनथ्यो।