काठमाडौं– २० देखि ३० वर्ष उमेर समूहमा महिलाहरुमा गठिया बाथ रोगको समस्या बढ्दो क्रममा रहेको बाथ रोग विशेषज्ञ डा श्रेया श्रेष्ठ बताउँछिन्। वंशाणुगत तथा वातावरणीय प्रभाव र अस्वस्थकर जीवनशैलीका कारण पनि गठिया बाथको समस्या बढिरहेको उनको भनाइ छ। जोर्नी दुख्ने, सुन्निने वा गठिया बाथको समस्या छ भने समयमै रोग पहिचान गरी उपचार गर्न उनको सुझाव छ।
गठिया बाथको समस्या भएर औषधि खाइरहेका महिलाहरुले परिवारको योजना बनाउँदा चिकित्सकको परामर्श लिन पनि आवश्यक रहेको डा श्रेष्ठले बताइन्।
प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा कार्यरत डा श्रेष्ठसँग गठिया बाथ रोगका कारणहरु, कसरी पहिचान गर्ने र उपचार कसरी गरिन्छ? लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्। प्रस्तुत छ डा श्रेष्ठसँग गरिएको कुराकानीको अंश:
गठिया बाथ रोग भनेको के हो?
बाथ रोग भन्ने बित्तिकै सबैले युरिक एसिड बढेर हुने बाथ वा हड्डी खिइएर हुने बाथ भन्ने बुझ्नुहुन्छ। गठिया बाथ भने यो भन्दा फरक छ। गठिया बाथ भनेको क्रोनिक अटो इम्युन डिजिज हो। हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोध क्षमता)मा भएको गडबडीले दीर्घकालिन रुपमा हुने बाथ रोगलाई गठिया बाथ भनिन्छ। गठिया बाथले जोर्नीहरु सुन्निने, दुख्ने समस्या हुनसक्छ।
बाथ रोगका कारणहरु के–के हुन्?
बाथ रोगको विभिन्न कारणहरु छन्। पहिलो कारण भनेको जेनेटिक अर्थात वंशाणुगत हो। परिवारमा कसैलाई यो रोगको समस्या छ भने उसका सन्ततिमा पनि यो रोग हुने सम्भावना रहन्छ। वातावरणीय कारणले पनि गठिया बाथको समस्या हुनसक्छ। धेरै धुम्रपान गर्नेमा गठिया बाथको समस्या धेरै सक्रिय भएको पाइन्छ। हर्मोनल कारणले पनि युवतीहरुमा गठिया बाथको समस्या देखिनसक्छ। यस्तै संक्रामक रोगहरुका कारण पनि गठिया बाथ निम्तिन सक्छ।
गठिया बाथ रोगका लक्षणहरु के–के छन्?
गठिया बाथको सुरुवाती अवस्थामा अत्याधिक थकान महसुस हुने, खाना नरुच्ने, हल्का ज्वरो आउने लगायतका समस्या आउनसक्छ।
गठिया बाथ भएको अवस्थामा हातका साना जोर्नीहरु अर्थात औंलाका जोर्नीहरु दुख्ने, सुन्निने समस्या हुनसक्छ। हातको कुइनो, गर्धन, घाँटीका जोर्नीहरु, खुट्टाका जोर्नीहरुमा गठिया बाथले असर गरेर सुन्निने, दुख्ने समस्या हुनसक्छ। गठिया बाथमा दुवै हात वा खुट्टामा यस्तो समस्या हुनसक्छ।
गठिया बाथको समस्या भएकाहरुमा बिहान बिहान हातहरु कक्रक्क हुने, मुठ्ठी पार्न नहुने, बिहानको काम गर्न जस्तै ढोकाको चुकुल खोल्न, कपाल कोर्न गाह्रो हुने हुनसक्छ। एकघण्टामा हात कक्रक्क हुने समस्या कम हुँदै जानसक्छ।
गठिया बाथले शरीरका अन्य अंगमा पनि असर पुर्याउन सक्छ?
गठिया बाथले जोर्नीको समस्या बाहेक अन्य अंगमा पनि असर पुग्नसक्छ। जस्तो छालामा डल्लाहरु आउने, आँखा सुख्खा तथा रातो हुने, फोक्सोमा बाथको निमोनिया भएर सुख्खा खोकी लागिरहने, स्वाँ स्वाँ हुने लगायतका समस्या हुनसक्छ। गठिया बाथले मुटुमा पनि असर पुर्याउँछ। गठिया बाथको कारण रगतको कमी भइ एनिमिया पनि हुनसक्छ। गठिया बाथरोगले नशालाई पनि असर पुर्याउन सक्छ। जसको कारण हातखुट्टा झम्झमाउने, रातो हुने, डावरहरु आउनसक्ने हुनसक्छ।
गठिया बाथ रोगको पहिचान कसरी गरिन्छ?
६ हप्ताभन्दा बढी समय लगातार हातखुट्टाका साना जोर्नीहरु दुख्ने गरेमा गठिया बाथ भएको पत्ता लगाउन सकिन्छ। रगतको परीक्षणबाट पनि बाथरोग पत्ता लगाउन सकिन्छ। हात तथा खुट्टाको एक्सरे गरेर पनि बाथ रोग भएको पत्ता लगाउन सकिन्छ। गठिया बाथ भएको धेरै समय भइसकेको अवस्थामा एक्सरे गर्दा बाथ रोगका कारण हातखुट्टा खिइएको पत्ता लाग्न सक्छ। सुरुकै अवस्थामा पत्ता लगाउन भने एमआरआइ, अल्ट्रासाउण्ड पनि गर्न सकिन्छ।
गठिया बाथको समस्या कुन उमेरका व्यक्तिमा बढी भएको पाउनु भएको छ?
गठिया बाथको समस्या २० देखि ३० वर्षको महिलाहरुमा बढी देखिएको पाएका छौं।
गठिया बाथ रोगको उपचार कसरी गरिन्छ?
गठिया बाथको उपचारको उद्देश्य भनेको दुखाइ कम गर्ने, सुन्निने समस्या कम गर्ने, जोर्नी बिग्रनबाट बचाउने हो। दुखाई कम गर्न पेनकलरहरु खानुपर्छ, सुन्निने समस्या कम गर्न स्टेरोइडहरुको प्रयोग गर्नुपर्छ। बाथ रोगको सुरुवाती अवस्थामा खाने औषधिहरु, सुईबाट लगाइने औषधिहरु बजारमा छन्। चिकित्सकको सल्लाह अनुसार मात्र औषधि खानुपर्छ। यस्तै फिजियोथेरापी गर्नुपर्छ।
गठिया बाथको समस्या भएपछि जीवनभर औषधि खानुपर्ने हुन्छ?
जसरी मधुमेह, उच्च रक्तचापका बिरामीले समस्या नियन्त्रण गर्न औषधि सेवन गर्नुहुन्छ। त्यसैगरी गठिया बाथको समस्यामा पनि जोर्नी दुख्ने, सुन्निने, खिइने समस्या भएको अवस्थामा औषधि खानुपर्छ। कसैले जीवनभर नै औषधि खानुपर्ने पनि हुनसक्छ। कसैलाई लक्षण कम हुँदै गएमा चिकित्सकको परामर्शमा औषधिको मात्रा कम गर्दै पछि बन्द नै गराउन पनि सकिन्छ।
बाथ रोगको उपचार गराइरहेका बिरामीले कति कति समयमा अस्पताल आइरहनु पर्छ?
पहिला त रोग निदान हुनुपर्छ। गठिया बाथ रोगको पहिचान नै नभएको अवस्थामा बिरामी धेरै चिकित्सककोमा धाएर अन्तिममा हामीकहाँ आएको पनि पाएका छौं। गठिया बाथ पुरै निको हुने होइन। यो दीर्घकालिन रोग हो। यसका लागि रोग निदान गर्नुपर्छ। बिरामीको अवस्था अनुसार औषधि दिइन्छ। सुरु सुरुमा हप्ता हप्तामा फलोअप गर्ने र विस्तारै तीन वा ६ महिनामा फलोअपमा आउन सकिन्छ।
बाथ रोग लाग्न नदिन र लागिहालेमा त्यसले निम्त्याने समस्याबाट बच्न के के गर्न सकिन्छ?
यसका लागि स्वस्थकर जीवनशैली अपनाउनुपर्छ। नियमित व्यायाम गर्नुपर्छ। धूम्रपान गर्नु हुँदैन। सुत्ने र उठ्ने समय नियमित एउटै साइकलमा हुनुपर्छ। बाथ रोग लागेका व्यक्तिले समय समयमा चिकित्सकसँग परामर्श लिइरहने, रगतको जाँच तीन/तीन वा छ/छ महिनामा परीक्षण गर्ने, दुखाईको अवस्था ख्याल गर्ने गर्नुपर्छ।
गठिया बाथ रोगको समस्या भएका व्यक्तिको मानसिक स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ। गठिया बाथ भएका व्यक्तिमा दुखाईको कारणले गर्दा एक्लो, डिप्रेस महसुस गर्नुहुन्छ। त्यसैले उहाँहरुलाई परिवारको साथ र सपोटको पनि आवश्यकता पर्छ।
गठिया बाथ लागेका व्यक्तिले के खान हुन्छ, के खानु हुँदैन?
गठिया बाथको समस्या भएका व्यक्तिले अन्य बाथको समस्यामा जस्तो खानेकुरा बार्नु पर्दैन। युरिक एसिडको कारण हुने बाथ रोगमा हाई प्रोटिनयुक्त खानेकुरा बार्न सुझाव दिन्छौं। गठिया बाथको समस्यामा भने नियमित सन्तुलित आहाराको सेवन गर्नुपर्छ।
महिलामा गठिया बाथको समस्या भएपछि प्रजनन् स्वास्थ्यमा असर पर्नसक्छ?
बाथ पनि कुन प्रकारको हो भन्ने हुन्छ। बाथ रोगको औषधि खाइरहेका महिलाहरुलाई यदी परिवार योजना गर्दै हुनुहुन्छ भने चिकित्सकको सल्लाह भने लिन सकिन्छ। गठिया बाथको समस्या भएका महिलाहरुमा भने गर्भवती भएपछि समस्या कम भएको पनि पाएका छौं। लुपस बाथ बल्झिरहेको समस्या भने परिवार योजना नबनाउन सल्लाह दिन्छौं। औषधि खाइरहेका महिलाहरुलाई गर्भवती भएको अवस्था छ भने उनीहरुको अवस्था हेरेर औषधिको मात्रा कम गराउछौं।