नेपालको संविधान २०७२ मा स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गरिएको छ त्यस्तै गरि जनस्वास्थ्य सेवा ऐन २०७५ तथा नियमावली २०७७ ले सेवाग्राहीका अधिकार,कर्तव्य,स्वास्थ्य संस्थाको दायित्व,स्वास्थ्य प्रणाली र सेवा व्यवस्थापन लगायतका विषय स्पष्ट गरेको छ। राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभोग सुनिश्चित गर्ने लक्ष्य लिएको छ। स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ ले स्वास्थ्य संस्थाको भवन तथा पूर्वाधार,वातावरण,उपचार कक्ष, बिशेषज्ञ सेवा,प्रयोगशाला,रेडियो इमेजिङ् सेवा सहितका विभिन्न विषयका मापदण्डहरु उल्लेख गरेको छ। सोहि मापदण्डको परिच्छेद २ व्यवस्थापन सम्बन्धि मापदण्ड बमोजिम अस्पतालमा सोधपुछ कक्ष,नागरिक बडापत्र,चौबिसै घण्टा पर्याप्त मात्रामा सफा पिउने तथा सरसफाई गर्ने पानी, साबुन र पानी सहितको पर्याप्त संख्यामा बालबालिका मैत्री,लैंगिक मैत्री,अपाङ्गता मैत्री र जेष्ठ नागरिक मैत्री सफा शौचालय हुनुपर्ने उल्लेख गरिएको छ। त्यस्तै गरि शव बाहन ,स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स, कर्मचारी तथा सेवाग्राहीको लागी पार्किङको व्यवस्था, रक्त संचार सेवा, अस्पताल फार्मेसी, मर्मत सम्भार कक्ष,तथ्यांक व्यवस्थापन इकाई सहितका विभिन्न बाइस वटा विषयमा सहायक मापदण्ड तोकेको छ।
नेपालको संबिधान देखि स्वास्थ्य संस्था संचालन मापदण्ड सम्मका परिकल्पनाहरू आज सबै कार्यान्वयन भएका पनि छैनन् तर पनि आज स्वास्थ्य संस्था बुझ्ने र दाँज्ने मानक तिनै हुन्। अस्पताल आफैमा बृहत्तर छ र त्यहाँबाट सेवा प्रवाह गर्दा व्यवस्थापन गर्नुपर्ने विषय पनि बृहत्तर छन् तसर्थ अस्पताल व्यवस्थापनका धेरै आयामहरू छन् केहीको चर्चा यसप्रकार गरिएको छ।
१.भौतिक पूर्वाधार
अस्पतालबाट सेवा प्रवाह गर्नको लागि भौतिक संरचना अति महत्वपुर्ण हुन्छ। भौतिक संरचनाहरुको निर्माण, बिरामीहरुको उपचार सहजता र समय संग जोडिन्छ। बिरामीलाई सहज हुने गरि संरचनाहरु वैज्ञानिक आधारमा क्रमैसँग निर्माण गरिएको छ भने समग्र उपचार प्रक्रिया नै छिटो छरितो हुन्छ।यसको लागि बृहत्तर रुपमा आवश्यक छलफल गरि बिस्तृत गुरुयोजना निर्माण गरि सोहि अनुसार कहाँ ओ.पि.डी. बनाउने, कहाँ आकस्मिक बिभाग बनाउने, कहाँ प्रयोगशाला बनाउने, कहाँ वार्ड, काउन्टर,फार्मेसी आदि बनाउने कुरा निर्क्योल गर्नुपर्दछ। अर्को तर्फ अस्पताल जस्तो क्षेत्रमा पिउने तथा सरसफाई गर्ने पानी, शौचालय,सवारी पार्किंङ,प्रतिक्षा कक्ष लगायतका आधारभूत पूर्वाधार उपर्युक्त ठाउँमा अनिवार्य निर्माण गर्नुपर्दछ। अस्पताल व्यवस्थापनमा यसले ठुलो अर्थ राख्दछ किनकि उपचार प्रक्रिया तथा व्यवस्थापनमा यी विभिन्न संरचनाको अन्तरसम्बन्ध हुन्छ। आजपनि गुरुयोजना निर्माण गर्ने कार्य बाह्य संस्थाहरुलाई महँगो शुल्क तिरेरै भए पनि जिम्मा दिने प्रचलन छ यसले गर्दा अस्पताल भित्रका संरचनाहरुको अन्तरसम्बन्ध नबुझेका व्यक्ति वा संस्थाले उक्त जिम्मेवारी प्राप्त गर्दा समग्र अस्पताल व्यवस्थापन वर्षौ सम्म जटिल बन्ने अवस्था बिद्धमान छ।
२. मानव संसाधन
मानव संसाधन बिना त उपचार प्रक्रियाको थालनी नै हुदैन तसर्थ कति चिकित्सक,नर्स स्वास्थ्यकर्मी आदि आवश्यक पर्ने भन्ने कुरा बैज्ञानिक आधारमा तय गर्नुपर्दछ। यसको लागि बिरामीहरुको संख्या,उपलब्ध सेवा आदि तथ्यहरूको गहिरो अध्ययन गरि संगठन व्यवस्थापन सर्वेक्षण गर्नुपर्दछ। जनशक्तिको आवश्यकता तथ्य भन्दा बाहिर गएर व्यावहारिकता एवं निकटताको आधारमा तय हुने अवस्था सबैलाई जगजाहेर नै छ। तसर्थ यो काम पनि हामी आफै गरिरहेका छैनौ,यसको लागि समेत महँगो शुल्क तिरेर कुनै संस्थालाई जिम्मा लगाउनुपर्ने हाम्रो आदत नै बनिसकेको छ। एकातिर आवश्यकता र तथ्य भन्दा बाहिर रहेर मानव संसाधनको खाका बन्दछ अर्को तिर राज्यले संगठन व्यवस्थापन सर्वेक्षणका प्रस्तावहरु घर्राभित्र राखेर हलो अड्काएर गोरु चुट्ने भने झैँ सेवाग्राहीलाई छिटो छरितो र सहज सेवाको नारा घन्काइरहेको छ।
३. आर्थिक अवस्था
विकाश तथा व्यवस्थापन होस् वा नया सेवा थप गर्न होस् अस्पतालको आर्थिक अवस्था मजबुत हुनुपर्दछ। कुनै पनि योजना कार्यान्वयनको केन्द्रमा आर्थिक क्रियाकलाप जोडिएको हुन्छ। प्रविधिको प्रयोग गरि उपचार पद्दतिलाई छिटो छरितो एवं वैज्ञानिक बनाउन समेत आर्थिक अवस्थाले भूमिका खेलेको हुन्छ। बजेटबाट प्राप्त रकम, बिरामीबाट सेवा बापत प्राप्त रकम सहित सेवालाई केन्द्रभागमा राखी आम्दानीका विभिन्न स्रोतहरुको पहिचान गर्नुपर्दछ भने अर्कोतिर बिरामीको उपचार सेवा सहज तथा गुणस्तरीय बनाउन कानुनी व्यवस्थाको परिधि भित्र निश्चित खर्च योजना बनाई खर्च गर्नुपर्दछ। आर्थिक कारोवार पूर्णत पारदर्शी हुनुपर्छ र अस्पतालको खर्च प्रणाली पूर्णत बिरामीको उपचार सहजीकरण संग जोडिएको हुनुपर्दछ।
४. उपचार सेवा
अस्पतालको मुख्य सेवा भनेकै उपचार सेवा हो।कोहि पनि व्यक्ति रहरले बिरामी हुदैन त्यसैले अस्पतालले बिरामीको उपचारलाई जहिले पनि केन्द्र भागमा राखेर योजना बनाउनुपर्दछ। अस्पताल छ तर त्यहाँका योजनाहरु बिरामीको उपचार सहजीकरणको लागि वस्तुगत रुपमा उद्दत छैनन् भने त्यहाँको सेवा गुणस्तरमा पनि प्रशस्त शंका गर्ने ठाउँ रहन्छ। गुणस्तरीय सेवा प्राप्त गर्नु नागरिकको अधिकार हो भने त्यसलाई सहज र छिटोछरितो तरिकाले उपलव्ध गराउनु अस्पताल व्यवस्थापनको कर्तव्य हो। तह र क्षमता अनुसार अधिकतम गुणस्तरीय स्वास्थ्य सेवा अधिकतम नागरिकलाई प्रदान गर्न आवश्यक व्यवस्थापन गर्नुपर्दछ।
५. औषधि व्यवस्थापन
औषधि उपचारको मुख्य साधन हो तसर्थ कुनै पनि अस्पतालमा प्रयाप्त मात्रामा गुणस्तरीय औषधि उपलब्ध हुनुपर्दछ। नेपाल सरकारको घोषित नीति अनुसार चौबिसै घण्टा संचालन हुने अस्पतालको आफ्नै फार्मेसी हुनुपर्दछ। औषधि आफैमा सम्वेदनशील बस्तु हो यसको भण्डारण उचित भएन भने यसको प्रभावकारिता ह्रास हुन्छ र बिस्तारै बिष बन्न पनि सक्छ। एकातिर बिरामीको लागि आवश्यक पर्ने सम्पूर्ण औषधि अस्पतालकै फार्मेसीमा उपलब्ध हुने गरि आवश्यक व्यवस्थापन गर्न सक्नुपर्छ भने अर्कोतर्फ उपलब्ध गराएको औषधि पूर्ण गुणस्तर भएको सुनिश्चित पनि गर्न सक्नुपर्दछ। प्राय अस्पतालमा न त औषधिको बिक्रि वितरण तथा भण्डारण गर्ने ठाउँ नै बैज्ञानिक र स्वस्थकर छन् न त उचित तापक्रम कायम गर्न प्रयाप्त उपकरण नै राखिएका छन् यस्तो अवस्थालाई सुधार गर्नुपर्दछ।
६. चिकित्सा उपकरण व्यवस्थापन
चिकित्सा क्षेत्र विज्ञान प्रविधिको क्षेत्र हो तसर्थ यस क्षेत्रमा विभिन्न बैज्ञानिक बिधि तथा उपकरण प्रयोग गरिएका हुन्छन। उपकरण बिना आजको उपचार सम्भव पनि छैन तसर्थ अस्पताल र उपकरण एक अर्काका परिपूरक भएका छन्। जहाँ स्तरीय उपकरण छैनन् त्यहाँको उपचार पनि स्तरीय र बिश्वासयोग्य हुदैन भन्न सकिन्छ। राज्यले र अस्पताल व्यवस्थापनले गुणस्तरीय उपचारको लागि अत्याधुनिक चिकित्सा उपकरणहरुको आवश्यक प्रबन्ध मिलाई त्यसको संचालन सम्बन्धि आवश्यक तालिम समेत प्रदान गर्नुपर्दछ।
७. आपूर्ति व्यवस्थापन
अस्पताल संचालन गर्ने सम्बन्धमा औषधिजन्य बस्तु तथा अन्य आवश्यक बस्तुहरुको आपूर्ति सुनिश्चित गर्नुपर्दछ। एकातिर आवश्यक पर्ने बस्तु तथा सामग्रीको खपत आकलन गरि आवश्यक कानुनी प्रक्रिया पुरा गरि खरिद गर्नुपर्दछ अर्को तर्फ तत्कालै आवश्यक पर्न सक्ने आकस्मिक औषधिहरूको आपूर्ति गर्न आवश्यक व्यवस्था समेत मिलाउनुपर्दछ। सबै प्रकारका औषधि तथा औषधिजन्य बस्तुहरुको सहज आपूर्ति चुनौतिपूर्ण नै छ तथापि पनि अस्पतालले त्यसको समयमा नै उचित व्यवस्थापन गर्नुपर्दछ। आपूर्ति व्यवस्थापन छिटो छरितो एवं चुस्त दुरुस्त नभएमा त्यसले बिरामीको उपचार प्रक्रियामा समेत असर गर्न सक्ने भएकोले सुरक्षित भण्डारण र वितरण कक्ष सहित आपूर्ति व्यवस्थापनलाई खपत र गुणस्तरको आधारमा समेत व्यवस्थित गर्नुपर्दछ।
८. प्रविधि व्यवस्थापन
अहिले उपचार लगायत अन्य व्यवस्थापकीय कार्य समेत प्रविधिमा आधारित छ। प्रविधिको प्रयोग बिना कुनैपनि काम बैज्ञानिक तरिकाले गर्न नसकिने स्थिति बनेको छ तसर्थ अस्पतालमा पनि प्रविधि सहित आवश्यक उपकरण, सुरक्षा व्यवस्था, इन्टरनेट, जनशक्ति, तालिम तथा मर्मत सेवा समेतको उचित व्यवस्थापन गर्नुपर्ने छ। बिरामीको परिक्षण देखि उपचार सम्म अभिलेख,बिलिंग देखि प्रतिवेदन सम्म सफ्टवेयर प्रणालीको प्रयोग सुनिश्चित गर्नुपर्ने हुन्छ यसको लागि भौतिक संरचना,उपकरण देखि मानव संसाधन सम्मको व्यवस्थापन गर्नुपर्नेछ।
९. मर्मत व्यवस्थापन
हप्ताको सातै दिन चौबिसै घण्टा निरन्तर सेवा प्रवाह गर्नुपर्ने अस्पतालका उपकरण; बिद्युत, प्रविधि वा अन्य कारणले जुनसुकै बेला पनि बिग्रिन सक्छन। उपकरण बिग्रिएमा त्यसको मर्मत संयन्त्र कतिको प्रभावकारी छ भने कुराले अस्पतालको गुणस्तर र अस्पताल प्रशासन बिरामी प्रति कति जिम्मेवार छ भन्ने कुरा देखाउँछ। आकस्मिक रुपमा सेवा अवरुद्ध नहोस भन्नको लागि हरेक उपकरणको समय समयमा परिक्षण गरि त्यसको प्रभावकारिता साथै आयु मापन गरिनुपर्दछ र त्यसैको आधारमा मर्मत तथा नयाँ खरिद योजना निर्माण गर्नुपर्दछ। नयाँ किनेका हरेक उपकरण बिस्तारै पुरानो हुदै जान्छन् र सधैँ नयाँ किन्न पनि सकिँदैन तसर्थ पनि उपकरणको द्रुत मर्मत संयन्त्र अपरिहार्य छ।
१०. अभिलेख व्यवस्थापन
अस्पताल व्यवस्थापनको महत्वपुर्ण पाटो अभिलेख व्यवस्थापन पनि हो। चिकित्सा अभिलेख बिरामीको उपचारको वस्तुगत प्रमाण हो यसको व्यवस्थापन बिरामी, चिकित्सक, अस्पताल, अनुसन्धानकर्ता, न्यायिक निकाय आदिको लागि अत्यन्त महत्वपुर्ण हुन्छ तर त्यहि अभिलेख व्यवस्थापन मन्त्रालय देखि अस्पताल सम्म धेरैको चासोको विषय बनेको छैन। महामारीको पुर्व सूचना प्राप्त गरि सम्भावित क्षति न्यूनीकरण गर्न,अस्पतालको खर्च र आवश्यकता आकलन गर्न तथा समग्र योजना निर्माण गर्न एवं हाम्रा उपचार पद्दतिको प्रभावकारिता समीक्षाको लागि पनि अभिलेख व्यवस्थापन महत्वपुर्ण हुन्छ। तथ्यांकको महत्व हिजो भन्दा आज र आज भन्दा भोलि बढि नै रहनेछ तसर्थ रियल टाइम अभिलेख व्यवस्थापनको लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड सहितको बैज्ञानिक सफ्टवेयर प्रणाली लागू गर्नुपर्नेछ।
११. आपतकालीन व्यवस्थापन
विभिन्न खाले महामारी हुँदा होस् वा दैवीप्रकोप हुँदा किन नहोस् त्यति बेला अस्पतालबाट कसरी सेवा प्रवाह गर्ने भन्ने विषयको पूर्व तयारी र आकलन गर्नुपर्दछ। त्यस्ता आपतकालीन अवस्थामा चिकित्सक सहित कर्मचारी कसरी परिचालन गर्ने कुन ठाउँ बाट कुन मार्ग हुदै कसरी सेवा दिने त्यस बेला आवश्यक पर्ने औषधि तथा सामग्रीको कसरी आपूर्ति गर्ने जस्ता विषयहरु समेटेर बैज्ञानिक योजना बनाई लागू गर्नुपर्दछ। यसको तयारी स्वरूप बेला बेलामा अस्पताल आफै वा अन्य संघ संस्थाको साझेदारीमा अभ्यास गर्नुपर्दछ। संक्रामक रोगको महामारी हुँदा र दैवी प्रकोप हुदा फरक फरक तरिकाले व्यवस्थापन गर्नु पर्ने हुन्छ नै त्यस सम्बन्धमा अस्पतालले के कस्तो तयारी गरेको छ भन्ने कुराले अस्पताल व्यवस्थापनको समग्र तस्विर देखाइरहेको हुन्छ तसर्थ आपतकालीन अवस्थामा संकट व्यवस्थापन गर्ने सम्बन्धमा सबै चिकित्सक, स्वास्थ्यकर्मी कर्मचारीहरुलाई अभिमुखीकरण सहित यथोचित पुर्व तयारी गर्नुपर्दछ।
१२. फोहोरमैला व्यवस्थापन
अस्पताल संक्रामक फोहोर उत्पादन हुने मुख्य ठाउँ हो, त्यहाँबाट निस्किएको फोहोरको उचित व्यवस्थापन गर्न सकिएन भने त्यसबाट निस्किन सक्ने परिणाम थप भयावह हुन्छ। ठोस र तरल फोहोर बस्तु व्यवस्थापन गर्ने सम्बन्धमा अस्पतालको छुट्टा छुट्टै योजना नै बनाउनुपर्दछ। बिशेष गरि संक्रामक फोहोरलाई बैज्ञानिक तरिकाले व्यवस्थापन गर्न सकिएन भने सबै भन्दा पहिला संक्रमित हुने सरसफाईकर्मी हुन्छन त्यसपछि चिकित्सक,स्वास्थ्यकर्मी,कर्मचारी आदि। अरु बिरामीहरुको उपचार वा सो को व्यवस्थापनमा खटिनुपर्ने व्यक्ति नै संक्रमित हुन पुगेमा यसको क्षति कति होला अनुमान पनि गर्न सकिदैन तसर्थ अस्पतालको लागि फोहोर मैला व्यवस्थापन पनि प्राथमिकतामा पर्नुपर्दछ।
१३. संक्रमण रोकथाम
अस्पतालमा फैलिन सक्ने संक्रमणलाई रोकथाम गर्ने सम्बन्धमा के के क्रियाकलाप गरिएको छ के के संयन्त्र निर्माण भएका छन् तिनीहरुको प्रभावकारिता कस्तो छ? सामान्य जस्तो लाग्ने यो विषय अत्यन्त महत्वपुर्ण हुन्छ। एकातिर संक्रमण पुर्व रोकथामको तयारी गर्नुपर्नेछ भने अर्को तिर संक्रमण शुरु भएमा थप संक्रमण फैलिन नदिन र त्यसको असर न्यूनीकरण गर्न अस्पतालको योजना के छ भन्ने कुराले अस्पतालको गुणस्तर मापन गर्दछ।यो अवस्थामा अस्पतालका मुख्य दुइ वटा कर्तव्य हुन आउँछन, पहिलो आफ्ना चिकित्सक कर्मचारीलाई सुरक्षित राख्ने र अर्को उपचाररत बिरामीको स्वास्थ्य सुरक्षा गर्ने। तसर्थ यस सम्बन्धमा अस्पताल व्यवस्थापनले कस्ता योजना निर्माण गरेको छ र यो विषयलाई कत्तिको गम्भीर रुपमा लिएको छ भन्ने कुराले अस्पताल कत्तिको जिम्मेवार छ भन्ने कुरा देखाउँछ।
१४. अनुसन्धान
मानव स्वास्थ्य अत्यन्त जटिल छ, चिकित्सा क्षेत्र अत्यन्त सम्वेदनशील क्षेत्र हो जहाँ एउटा मात्र भुलबस भएको गल्ति पनि क्षमा योग्य हुदैन। हरेक स्वास्थ्य समस्यामा बिधि,औषधि तथा समग्र उपचारको प्रभावकारिताको अध्ययन अनुसन्धान अत्यन्त महत्वपुर्ण हुन्छ। यो बारेमा न त राज्यले नै मार्ग निर्देशन गर्न सकेको छ न त अस्पताल व्यवस्थापन ले नै। व्यक्तिगत प्रयोजनको लागि जर्नल लेख प्रकाशन गर्ने उद्देश्यले गरिएका साना अनुसन्धान बाहेक चिकित्सा क्षेत्रलाई नै दिशा निर्देश गर्न सक्ने संस्थागत रुपमा अनुसन्धान संस्कृतिको बिकास भएको देखिदैन। हरेक औषधि वा उपचार पद्दतिको सीमितता हुन्छन यसलाई अध्ययन तथा अनुसन्धान गरि बुझ्न सकिएन भने त्यसले ठुलो क्षति पुर्याउछ तसर्थ उपचार क्षेत्रमा अनुसन्धान अत्यन्त अपरिहार्य हुन्छ।
१५. क्षमता अभिबृद्धि
चिकित्सा क्षेत्र बिज्ञान तथा प्रविधिको क्षेत्र भएको कारण नयाँ तथ्य प्रमाणित हुने बित्तिकै उक्त विषयको ज्ञान अध्यावधिक गर्नुपर्दछ जसको लागि चिकित्सक,स्वास्थ्यकर्मी, कर्मचारीको क्षमता अभिवृद्धि गर्न प्रयाप्त तालिम गोष्ठी आदि संचालन गर्नुपर्दछ। सिकाई अनन्त छ कहिल्यै अन्त्य हुदैन र पुरा पनि हुँदैन भनिन्छ तसर्थ पनि समय अनुसार ज्ञान आदान प्रदान गर्न अस्पतालमा निरन्तर चिकित्सा शिक्षा (सी.एम.ई.) कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्नुपर्दछ। तालिम मार्फत क्षमता अभिबृद्धि गर्दै सीपमा थप निखारता ल्याउन सकेमा निश्चय नै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सकिन्छ भन्ने कुरा अस्पताल व्यवस्थापनले बुझ्नुपर्दछ।
१६. नागरिक सचेतना तथा प्रचार प्रसार
अस्पतालका मुख्य कर्तव्यहरू मध्ये पहिलो गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो, दोश्रो स्वास्थ्य समस्याको कारक नागरिक आफै पनि हुन सक्छ तसर्थ स्वास्थ्य सचेतना जगाउनु हो र तेश्रो अस्पतालका सेवा,सूचना तथा गतिविधि नागरिक तहमा पुर्याउनु हो। अस्पताल व्यवस्थापनले यी सबै कुरालाई राम्रो संग मनन गर्नुपर्दछ। नागरिक तहमा अस्पतालले दिने सेवा र त्यसको प्रक्रिया आदिको बारेमा जानकारी नै छैन भने उसले अस्पतालको सेवालाई सहज रुपले नलिन सक्छ। समाजको एउटा वर्गले आजपनि सरकारी अस्पताल भनेपछि सेवा लिन सकिँदैन वा गुणस्तर छैन वा यस्तै यस्तै भन्ने गरेको सुनिन्छ, के साँच्चै वस्तुगत अवस्था उनीहरुले भने जस्तै हो र अवश्य पनि होइन तर पनि धेरै सुधार आवश्यक छ। यसको अन्तर्यमा त्यो वर्ग असहज अवस्थामा बाहेक सरकारी अस्पताल आउँदैन अनि अस्पतालले नागरिक सचेतनाको लागि वा सेवा तथा गुणस्तरको क्षेत्रमा गरेका काम प्रचारप्रसार गर्दैन त्यसकारण अस्पतालका सेवा नागरिक तहमा जानकारी गराउन पनि नागरिक सचेतना तथा प्रचारप्रसारका कार्यहरु गर्नुपर्दछ।
१७. पारदर्शिता र जवाफदेहिता
अस्पतालको सेवा आकस्मिकतालाई मध्यनजर गर्दै नियमित रुपमा कर्मचारीको पदपूर्ति गरिरहनु पर्छ साथै उपचारमा अत्याधुनिक प्रविधिका उपकरण आवश्यक पनि पर्छन्, मर्मत पनि नियमित गर्नुपर्ने हुन सक्छ, त्यस्तै नियमित जस्तो औषधि तथा औषधिजन्य बस्तु खरिद पनि गर्नुपर्ने हुन्छ तर यी सबै प्रक्रियामा पारदर्शिता अपरिहार्य हुन्छ। त्यस्तै गरि जे निर्णय वा क्रियाकलाप गरिन्छ ति सबैको जवाफदेहिता हुनुपर्छ। कसैले लुकेर अपारदर्शी काम गर्छ अनि नागरिक तहमा उठेका प्रश्नबाट भाग्ने प्रयास गर्छ भने यो प्रवृतिलाई निरुत्साहित गर्न सक्नुपर्दछ यसको लागि हरेक क्रियाकलापको जवाफदेही संस्कृतिको विकाश गर्नुपर्दछ। अस्पताल व्यवस्थापनले पारदर्शिता तथा जवाफदेहिता नागरिक विश्वासका आधार हुन् भन्ने कुरालाई बेलैमा आत्मसात गर्नुपर्दछ।
१८. सार्वजनिक बिश्वास
अस्पताल समुदायसँगै हातेमालो गर्दै समुदायको विश्वासमा चल्नुपर्दछ।अस्पतालमा जुन सेवा छ त्यहि उपभोग गर्ने भन्दा पनि समुदायलाई कुन सेवाको खाँचो छ त्यो सेवा अस्पतालमा उपलव्ध हुनुपर्दछ। समुदायलाई आवश्यकता अनुसार स्वास्थ्य सचेतना प्रदान गर्दै सार्बजनिक बिश्वास आर्जन गरेर मात्र अस्पताल व्यवस्थापन गर्नुपर्दछ। अस्पतालका सेवालाई समाजले अपनत्व लिएन भने स्वाभाविक रुपमा अस्पताल प्रतिको बिश्वास घट्छ, आक्रोश बढ्छ। सार्वजनिक बिश्वास आर्जन गर्ने धेरै तरिका हुन्छन त्यो मध्ये मुख्य भनेको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु नै हो,दोश्रो समुदायसँग हातेमालो गर्नु हो, तेश्रो सार्वजनिक सुनुवाई होस् वा अन्य कुनै माध्यमबाट नियमित रुपमा समुदायका गुनासो सुन्ने र बैज्ञानिक समाधान खोज्ने साथै निरन्तर सल्लाह सुझाव लिने परिपाटीको बिकास गर्ने आदि। स्वास्थ्य उपचारको सम्बन्धमा अस्पताल तथा चिकित्सक, स्वास्थ्यकर्मीहरुले पूर्णरुपमा कर्तव्य पालना गरे नगरेको एउटा छलफलको विषय होला तर हामीले प्रदान गर्ने सेवा, त्यसको प्रक्रिया तथा उपचारका सीमितताको बारेमा नागरिक तहलाई प्रयाप्त सुसूचित गराउन के के प्रयास गर्यौँ त्यो महत्वपुर्ण छ। यदि सो सम्बन्धमा केहि पनि गरेका छैनौं अनि कुनै घटना भयो भने स्वाभाविक रुपमा त्यसका नकारात्मक कुराको मात्र बढी चर्चा हुने गर्दछ यो नै अस्पतालले सार्बजनिक बिश्वास हासिल गर्न नसकेको कारण हो।
१९. कार्य सम्पादन मुल्यांकन
हरेक इमान्दार कर्मचारीले उसले गरेका कामको आधारमा दण्ड र पुरस्कारको भागिदार बनाइयोस् भन्ने ठान्छ। गलतलाई गलत भनि पृष्ठपोषण र आवश्यकता अनुसार दण्ड होस् र सहिलाई सहि भनि उत्प्रेरणा र आवश्यकता अनुसार पुरस्कार होस् भन्ने चाहन्छ। कर्मचारीले गरेको कार्यसम्पादनको उचित मुल्यांकन भएन भने इमान्दार र कर्तव्यनिष्ठ कर्मचारीलाई न्याय त हुँदैन नै, उसको मनोवल गिर्छ, उ निरास हुन्छ, विस्तारै उसको कार्यसम्पादन समेत कमजोर बन्छ र अन्त्यमा सेवा ग्राहीलाई समेत अन्याय हुन्छ। तसर्थ कर्मचारीलाई न्याय गर्न होस् वा सेवाग्राहीलाई अन्याय हुन नदिन किन नहोस् कार्य सम्पादन मुल्यांकन बैज्ञानिक र वस्तुनिष्ठ बनाउनुपर्दछ।
२०. सामुहिकतामा विश्वास
स्वाभाविकरुपमा अस्पताल व्यवस्थापन बहुविधामा आधारित हुन्छ हरेक विधा र विषयका आ आफ्ना बिज्ञान र विशेषज्ञता हुन्छन। तसर्थ कुनै पनि विषयमा निर्णय लिनुभन्दा अघि त्यो विषयका सरोकारवाला तथा बिज्ञसंगको परामर्श अपरिहार्य हुन्छ। हरेक महत्वपुर्ण निर्णय समुहमा गर्न सकियो भने पहिलो कुरा त त्यो गलत हुने सम्भावना न्युन हुन्छ दोश्रो कुरा त्यसको कार्यान्वयन पक्ष पनि सहज हुन्छ र निर्णय प्रति सबैको अपनत्व पनि हुन्छ। अन्तर्यमा रहेका अन्य विषयलाई गौण मान्ने हो भने पनि सामुहिकतामा बिश्वास गर्न नसक्नु निर्णयकर्ताको कमजोरी हुन आउँछ तसर्थ अस्पताल व्यवस्थापन यो विषयमा समयमा नै सचेत हुनुपर्दछ।
२१. गुनासो व्यवस्थापन
अस्पताल अत्यन्त संवेदनशील क्षेत्र हो जहाँको व्यवस्थापन सधै चुस्त हुनुपर्दछ। चिकित्सा सेवा जिवन मरण संग पनि जोडिएको हुँदा चिकित्सकीय विषय वा व्यवस्थापकीय विषय बुझेर वा नबुझेर पनि बिरामीका तर्फबाट गुनासो आउन सक्दछ त्यसलाई समयमै व्यवस्थापन गर्ने संयन्त्र बन्नुपर्दछ। पहिलो कुरा त प्रयाप्त सूचना आदान प्रदान गरि गुनासो नै नआउने गरि सेवा प्रवाह गर्नुपर्दछ दोश्रो कुरा गुनासो आइहाल्यो भने पनि गुनासोको विषयबस्तु अध्ययन गरि तुरुन्त समाधान गर्न सक्ने भएमा तुरुन्तै र केहि समय लाग्ने भएमा गुनासोकर्तालाई आवश्यक जानकारी गराइ सो विषय हल गर्ने सम्बन्धमा आवश्यक कारवाही अगाडी बढाउनुपर्दछ। अस्पतालमा हुने गरेका हुलदंगा तथा तोडफोडका घटनाहरु मुख्यगरी अस्पतालको व्यवस्थापन चुस्त नहुदा तथा उपचार सम्बन्धि प्रयाप्त सूचना आदान प्रदान नगर्दा वा समयमा नै गुनासो व्यवस्थापन नगर्दा हुने गरेको देखिन्छ, अस्पताल व्यवस्थापनले यसलाई हल गर्न उपर्युक्त संयन्त्र बनाउनुपर्दछ।
२२. समिक्षा र पृष्ठपोषण
अस्पतालले प्रदान गरेका सेवा, सुविधा,सेवा संचालनको प्रक्रिया, सेवाग्राहीको सन्तुष्टि,उपचारको नतिजा आदिको नियमित रुपमा समिक्षा गर्नुपर्दछ र त्यस समीक्षाबाट आएको पृष्ठपोषणलाई ग्रहण गरि सोहि अनुसार योजना निर्माण तथा सेवा प्रवाह गर्नुपर्दछ। समिक्षा र पृष्ठपोषण गुणस्तरीय स्वास्थ्य सेवाका अभिन्न अंग हुन्। सेवाग्राहीका भोगाई, अनुभव तथा सुझाव अस्पतालका योजना निर्माणको लागि मार्गदर्शक हुन्छन तसर्थ सेवा प्रवाहको समिक्षा आन्तरिक रुपमा अस्पताल भित्र र बाह्य रुपमा सेवाग्राही, नागरिक समाज तथा सामाजिक परिक्षण मार्फत पनि गर्न सकिन्छ। समिक्षा र पृष्ठपोषणलाई संस्कृतिको रुपमा विकाश गर्न सकियो भने गुणस्तरीय स्वास्थ्य सेवाको शुरुवात त्यहीबाट सुरु हुने बिश्वास गर्न सकिन्छ तसर्थ यो विषयलाई अस्पताल व्यवस्थापनले गम्भीर रुपमा लिनुपर्दछ।
अन्त्यमा, अस्पतालको सेवा सिधै मानव जीवन सँग सम्बन्ध राख्ने भएकोले पनि यो क्षेत्र अति नै सम्वेदनशील मानिन्छ। मानव जिवन आफैमा महत्वपुर्ण सम्पत्ति हो त्यो सम्पत्तिको अन्तिममा सुरक्षा गर्ने ठाउँ अस्पताल हो तसर्थ यसको व्यवस्थापन चुनौतिपूर्ण नै छ तथापि पनि कुशलतापूर्वक व्यवस्थापन गर्दै मानव जीवनलाई पुनर्जन्म दिनसक्नु एकातिर राज्य प्रतिको कर्तव्य हो भने अर्को तिर पुण्य कार्य मध्येको पनि महापुण्य कार्य हो। अस्पताल व्यवस्थापन बहु आयामिक छ तसर्थ व्यवस्थापकले यी आयामको बारेमा प्रयाप्त ज्ञान राखेर मात्र पुग्दैन खरो रुपमा कार्यान्वयन तहमा उत्रिनु पर्दछ यस कार्यको लागि चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई विश्वासमा लिएर आवश्यकता अनुसार समाजका बिद्धत वर्ग, नागरिक समाज अनुसन्धानकर्ता आदिसँग हातेमालो गर्दै अघि बढ्नुपर्दछ यो नै समयको माग र आजको आवश्यकता पनि हो।