मानव शरीरमा सुईको माध्यमवाट सम्बन्धित रोगका मृत वा कमजोर ब्याक्टेरिया प्रवेश गराई रोग प्रतिरोध गर्ने एन्टिवडी उत्पादन गर्ने सेता रक्तकोष सक्रिय वनाउने प्रकृया खोप हो। खोपले भाइरस, रोग वा संक्रमणसँग लड्न शरीरलाई तयारी अवस्थामा राख्न मद्धत गर्छ। यसले शरीरको प्रतिरक्षात्मक क्षमतालाई आक्रमण गर्ने तत्त्वको पहिचान गर्न सघाई एन्टीबडी उत्पादन गरेपछि धेरै बिरामी बनाउने सम्भावना कम हुन्छ र हाम्रो शरिरले केही असर भएको अनुभव गर्न सक्छन्।
नेपालमा खोप कार्यको विकासक्रमः
सन् १७९६ मा वेलायतका डा एडवर्ड जेनेरले विश्वमा खोपको आविष्कार गरेको पाईन्छ भने नेपालमा खोप कार्यक्रमको सुरुवाती अवस्थालाई हेर्दा महामारी रोग बिफर उम्मुलन पश्चात् विस्तारित खोप आयोजनको नामबाट सन् १९७९मा खोप सेवा प्रारम्भ भएको हो।यस समयमा विस्तारित खोप कार्यक्रमको नामबाट रुपन्देही, सिन्धुपाल्चोक र धनुषा जिल्लाबाट चार थरि रोगका विरुद्ध बी.सी.जी. र डी.पी.टी. खोपको सुरुवात गरियो भने सन् १९८१ मा थप दुई थरि पोलियो र दादुरा रोगको खोप थप गरि जम्मा ६ थरि रोग विरुद्ध एक बर्ष मुनिका बालबालिकाहरुलाई निःशुल्क रुपमा दिन थालियो भने सन् १९८८ वाट देशभरका ७५ वटै जिल्लामा राष्ट्रिय खोप कार्यक्रम विस्तार गरियो।यसरी हेर्दा खोप सेवाको बिस्तारलाई निम्नानुसार प्रस्तुत गरिएको छ।
लक्षित समूहः
१५ महिना मुनिका बालबालिकाहरु (१३ वटा सरुवा रोगविरुद्ध)
गर्भवती महिलाहरु (धनुष्टंकार र भ्यागुत्ते रोगविरुद्ध)
खोपको महत्वः
खोप कार्यक्रम नेपाल सरकारको पहिलो प्रथमिकतामा रहेको तथा जनस्वास्थ्यको सफल कार्यक्रमहरु मध्ये प्रमुख कार्यक्रम हो।खोप कार्यक्रम समृद्धि र विकासको सुचक हो।बुदागत रुपमा हेर्दा खोपको महत्वलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ।
वाल मृत्यूदरमा कमि।
मातृ मृत्यूदरमा कमि।
औषत आयूमा बृद्धि।
प्रति ब्यक्ति आयमा बृद्धि।
रोगहरुको निवारण तथा उन्मुलन।
पूर्ण खोप सुनिश्चितता तथा दीघोपना कायम।
मुख्य उपलब्धिहरु
खोप कार्यक्रम सुरु भएपछि हाम्रो देशको समग्र स्वास्थ्यमा धेरै उपलब्धिहरु भएको पाईन्छ।बिफर रोगको उन्मुलन,वाल मृत्यूदरमा अएको कमि,मातृ तथा धनुषटंकार रोग निवारण,पोलियो रोग शुन्य अवस्थामा रहि निवारणको नजिक रहनु,जापानिज ईन्सेफ्लनईटिस रोग नियन्त्रण,दादुरा रूवेला रोग निवारण तर्फ उन्मुख,रुवेला तथा कन्जिनेटल रुवेला सिन्ड्रम नियन्त्रण प्रमाणिकरण (सन् २०१८ मा WHO SEARO वाट प्राप्त) बालबालिकाहरुमा हेपाटाईटिस बि नियन्त्रण(सन् २०१९ देखि),खोपद्वारा वचाउन सकिने अन्य रोगहरुमा कमि आउनु,पूर्ण खोप सुनिश्चितताले निरन्तरता पाउनु र खोप नियमावली २०७४ जारी खोप कार्यक्रमका मुख्य उपलब्धिहरु हुन।
खोप कार्यक्रमका चुनौतीहरु
खोप कार्यक्रमलाई प्रत्यक्ष रुपमा स्वास्थ्य क्षेत्र तथा स्वास्थ्यकर्मीसँग सरोकार राख्ने विषय तथा क्षेत्रमा देखिएता पनि यो कार्यक्रम सबैको साझा दायित्व अन्तर्गतको कार्यक्रम हो। खोप सेवाको विस्तारसँगै यसको गुणस्तरीयता कायम गर्नु चुनौतीपूर्ण कार्य हो भने अर्कोतिर शतप्रतिशत लक्षित बालबालिकाहरूलाई खोप सेवा दिनु पनि त्यतिकै आवश्यक कार्य हो। नेपालमा सन् २०२० देखि सुरु भएको कोभिड-१९ को महामारीमा समेत नियमित खोप कार्यक्रम सञ्चालन गरी राष्ट्रियब्यापी रुपमा अभियान सफल बनाउनु तथा सो समयमा रोटा खोप तथा टाईफाईड विरुद्धको खोप नियमित खोपमा समावेश गरी खोप सेवालाई प्रभावकारी रुपमा बिस्तार गर्नु खोप कार्यक्रमको महत्वपूर्ण उपलब्धि हो। यति हुँदाहुँदै पनि नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०१६ र २०२२ लाई हेर्दा सबै खोपको मात्रा पूरा गरेका बालबालिकाहरुको संख्या क्रमशः ७८ र ८० प्रतिशत रहनु र कुनै पनि खोप नलिएका बालबालिकाहरुको संख्या १ बाट ४ प्रतिशतामा आउनु मुख्य चुनौतीको विषय हो।
गत वर्षमा दादुरा महामारीको रुपमा फैलनु, दादुरा रुवेला अभियान पछि पनि छिटफुट रुपमा खोप लगाएका वच्चाहरुमा समेत दादुरा देखिनुले नियमित खोप कार्यलाई थप चुनौतीको दिएको छ।साथै खोप ढुवानी कार्य तथा स्थानिय स्तरमा मापदण्ड अनुसारका खोप भण्डारण केन्द्रहरु नहुनु,भएका ठाँउहरुमा भण्डारणमा देखिने समस्या तथा त्रुटिहरु, व्यवस्थित खोप केन्द्रहरु नहुनु,स्वास्थ्य सेवाको पहुँचवाट टाढा रहेका समुदायका सेवाग्रहीहरु खोप सेवामा समावेश नहुनु,वढ्दो फिरन्ते व्यक्तिहरु संख्या,कुनै बिशेष जातिगत समुदाय र अन्य कारणले खोपमा ड्रप आउटको मात्रा वढ्नु(सन् २०२२ मा १६%) खोप कार्यक्रमका चुनौतीहरु हुन।साथै खोप क्लिनिक सञ्चालनका वखतमा रेकर्डिङ्ग तथा रिपोर्टीङ्गको बीच तालमेल नहुनु र सो बिबरण स्वास्थ्य ब्यवस्थापन सूचना प्रणालीमा समावेश हुनु जसको प्रत्यक्ष असर केन्द्रिय प्रगतिमा बिबरणमा देखिनु खोप कार्यक्रमका चुनौतिहरु हुन्।
अन्त्यमा हाल खोप सेवाले आमा र बच्चाहरूको रोग लाग्ने दर, अशक्तता हुने दर तथा मृत्यूदर घटाउन उल्लेख्य भूमिका खेलेको सर्वविदितै छ। एकातिर हामीले खोप सेवाको विस्तारसँगै यसको गुणस्तरीयता कायम गर्नु चुनौतीपूर्ण कार्य हो भने अर्कोतिर शतप्रतिशत लक्षित बालबालिकाहरूलाई खोप सेवा दिनु पनि त्यतिकै आवश्यकता र महत्वपूर्ण कुरा हो। साथै भ्याक्सिन उत्पादन भएदेखि सेवाग्राहीलाई सेवा दिंदासम्म यसका प्राविधिक प्रक्रियाहरू चरणबद्ध रूपमा पूरा गर्र्नु अपरिहार्य हुन आउँदछ।तसर्थ नेपाल सरकारको पहिलो प्रथमिकतामा रहेको तथा जनस्वास्थ्यको सफल कार्यक्रमहरु मध्येको प्रमुख खोप कार्यक्रमलाई सफल वनउन स्थानिय तह अन्तर्गत खोप कार्यक्रममा प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मीहरुलाई समय समयमा खोप तालिम तथा पूनर्ताजगी तालिम,रेकर्डिङ्ग तथा रिपोर्टिङ्ग तालिम(DHIS-2)को ब्यवस्था,खोप भण्डारण कक्षका सामग्रीहरुको चेकजाँच तथा समय समयमा मर्मतसम्भार र खोप कार्यक्रम सवैको सामुहिक कार्यक्रम हो भन्ने कुरालाई आत्मसाथ गरी यस कार्यमा संघिय सरकार,प्रदेश सरकार,स्थानिय सरकार,शिक्षक,अभिभावक तथा स्थानिय संघ संस्थाका प्रतिनिधिहरु सबैको अहम् भूमिका रहनुपर्छ।