घरको बरन्डामा एक वृद्ध मौन बस्नु भएको छ मौनतालाई चिर्दै वृद्ध बुवाका छोराले बुवालाई सोध्छन्, “ए बा मलाई चिन्नु भयो म को हो भन्नुहोस त ?”। “तिमि नाती हौ”, बुवाले उत्तर दिनुहुन्छ। छोराले फेरि सोध्छन,”नाती नै हो त?” , बुवाले भन्नु हुन्छ “हो”। छोराले भन्छन, “म त छोरो पो हो त”। बुवा छोटो उत्तर दिनुहुन्छ “ए अँ”। बुवालाई केही याद छैन को छोरो, को नाती, को साथी बुवाले छुट्टाउन सक्नु हुन्न किनकि बुवालाई भुल्ने समस्या छ। जसलाई अल्जाइमरस् रोग (डिमेन्सिया) र नेपालीमा विस्मृति भनिन्छ।
हाम्रो समाजमा उमेर बढ्दै गए पछि अझ भनौ वृद्ध भए पछि स्मरण शक्ति हराउनु स्वाभाविक मान्ने चलन छ। वृद्ध भएर नै स्मरण शक्ति हराउने भन्ने हुदैन र यो सामान्य पनि होइन। स्मरण शक्ति हराउने समस्या एक रोग हो भन्ने धेरैलाइ थाहा नहुन सक्छ। स्मरण शक्तिमा ह्रास आउने समस्यालाइ डिमिन्सिया भनिन्छ र यो समस्याको मुख्य कारण अल्जाइमरस् रोग भनिने रोग हो। आज विश्व अल्जाइमर दिवस। आउनुहोस् अल्जाइमरस् रोग र डिमेन्सियाको बारेमा केहि कुरा जानौ।
के हो त अल्जाइमरस् रोग? के बुढेसकाल लागे पछि अल्जाइमरस् रोग (डिमेन्सिया) हुनु स्वाभाविक हो ? यसको उपचार के छ ?
अल्जाइमर के हो ?
अल्जाइमर्स रोग एक क्षयकारी मस्तिष्क रोग हो जसको कारण मस्तिष्कमा भएका कोषिकाको क्षतिपछि मस्तिष्कमा जटिल खालको परिवर्तन हुन्छ। यसले विस्मृतिको (डिमेन्सिया) लक्षणहरू निम्त्याउँछ, जसले क्रमशः गम्भीर रूप लिन्छ। अल्जाइमर्स रोगको प्रारम्भिक सामान्य लक्षण भनेको नयाँ जानकारी सम्झन गाह्रो हुनु हो, किनभने यो रोगले प्रायः सिकाइसँग सम्बन्धित मस्तिष्कको भागलाई असर गर्छ। अल्जाइमर्स रोग बढ्दै जाँदा, लक्षणहरू अझ गम्भीर हुन्छन् र सम्झना नहुने , भ्रम पैदा हुने र व्यवहार परिवर्तन हुने जस्ता लक्षण देखिने गर्छन्। अन्ततः, बोल्न, निल्न, र हिँड्न पनि कठिन हुन्छ।
अल्जाइमर्स रोगको लागि सबैभन्दा ठूलो जोखिम कारक भनेको उमेर वृद्धि हो, तर बुढा पाकाले भने जस्तो उमेर बढ्दै जानाले नै अल्जाइमर हुन्छ भन्ने चाही होइन। उमेर बढेका सबैलाई अल्जाइमर हुदैन। यद्यपि अधिकांश अल्जाइमर्स रोग भएका मानिसहरू ६५ वर्ष वा सोभन्दा माथिका हुन्छन्।
सन् १९०६ मा डा अलोइस अल्जाइमरले मस्तिष्कमा हुने क्षयकारी परिवर्तन पत्ता लगाएका हुनाले उनैको नामबाट यस रोगको नाम अल्जाइमर्स डिजिज राखिएको हो।
अल्जाइमर्स रोग र डिमेन्सियामा फरक के छ ?
सामान्य भाषामा भन्नु पर्दा अल्जाइमर्स रोग एक रोग हो भने डिमेन्सिया भनेको अल्जाइमर्स रोगको मुख्य लक्षण हो। तर अल्जाइमर्स रोग र डिमेन्सिया एक अर्काका पर्यायवाची जस्तै मानिन्छन।
अल्जाइमर्स रोगको कारण के हो ?
अल्जाइमरस् रोग यहि कारणले हुन्छ भन्ने यकिन तथ्य अहिले सम्म पत्ता लागेको छैन। यद्यपि अल्जाइमरस् रोगमा मस्तिष्कमा हुने परिवर्तनहरुका बारेमा केहि जानकारी खोज्न भने चिकित्सा विज्ञान सक्षम भएको छ। मानिसको मस्तिष्क करोडौ स्नायु कोषहरू मिलेर बनेको हुन्छ। मस्तिष्कमा भएका स्नायु कोषहरूलाइ अम्लोइड र टाउ नामक विषाक्त प्रोटिनले कोष बाहिर र भित्रबाट असर गर्नाले स्नायु कोषहरु नष्ट हुन पुग्दछन् फलस्वरूप मस्तिष्कको कार्य क्षमतामा ह्रास आउन थाल्छ र बिस्तारै स्मरण शक्तिमा कमि संगै अन्य समस्या देखिन थाल्दछ। यसरी हुने स्नायु कोषको क्षति नियमित रुपमा चल्दछ र रोगको प्रकृतिमा बढावा हुदै जान्छ। यसको कारण पत्ता नलागेता पनि यो रोग गराउन सक्ने केहि जोखिम तत्व भने पत्ता लागेका छन्। अल्जाइमरस् रोगका जोखिम तत्व निम्न छन्:
वंशाणूगत कारण
मस्तिष्कको चोट पटक वा संक्रमण
दीर्घ रोग जस्तै मधुमेह, उच्च रक्तचाप आदि
विलाशी जीवनशैली
धुम्रपान, मध्यपान
कुपोषण आदि
अल्जाइमर्स रोगका लक्षण के के हुन्छन त ?
अल्जाइमर्स रोगका विभिन्न लक्षणहरु देखिने गर्दछन् जसमा डिमेन्सिया (स्मरण शक्तिमा ह्राश हुनु ) प्रमुख लक्षण हो र अन्य लक्षण यसैसँग सम्बधित भएर आउने गर्दछन्। यसका लक्षणहरुलाइ अवस्थाका आधारमा सामान्य वा सुरुवाती लक्षण, मध्यम र कडा गरेर विभाजित गर्न सकिन्छ।
सुरुवाती वा सामान्य लक्षण
हालैका वा नया कुराहरु याद नहुनु।
स्मरण शक्तिमा कमि हुनाले आफुले गर्दै आएका वा आफुलाई बानी परेका काम हरु समेत गर्न कठिनाइ हुनु।
समय, मिति, बार, आफुले समान राखेको ठाउँ आदिको याद नहुनु।
सामाजिक गतिविधिहरुमा लगाब घट्नु।
मौन बस्नु , परिवारमा घुलमिल हुन नखोज्नु।
मध्यम लक्षणहरु
व्यवहार र भावना परिवर्तन हुनु।
एउटै खाले व्यवहार दोहोर्याई रहनु।
घर फर्किने बाटो हरु पत्ता लगाउन नसक्नु वा बाटो बिराउनु।
सामान्य हिसाबहरु गर्न नसक्नु।
घरायसी काम हरुलाई ब्यवस्तित गर्न र योजनाहरु बनाउन नसक्नु।
बार्तालाप गर्नमा समस्या देखिनु।
परिवारका सदस्यका नाम याद नहुनु।
हिडाईको चाल र शरीरको आवरणमा परिवर्तन हुनु।
निद्राको चक्रमा परिवर्तन हुनु (दिउसो सुत्ने रातीमा जागा हुने)।
कडा लक्षणहरु
समय, स्थान र व्यक्ति पहिल्याउन नसक्नु (बिहान दिउँसो साझ छुट्टाउन नसक्नु, आफु कहाँ छु को संग छु भन्ने छुट्टाउन नसक्नु)।
आफुले गरेका कुरा जस्तै खान खाएको, नुहाएको आदि बिर्सिनु , परिवारका सदस्य नचिन्नु।
घरका भित्रका कोठा, बाथरूम , किचन आदिमा जाने बाटो पत्ता लगाउन नसक्नु।
धेरै बोल्नु, सहि वा सान्दर्भिक बिषय नबोल्नु , वा बोल्दै नबोली मौन बस्नु।
भावना र आवेगलाइ नियन्त्रण गर्न नसक्नु (बिना कारण रुनु वा खुसि हुनु )।
कहिले उग्र व्यवहार त कहिले शान्त व्यवहार देखाउनु।
दिसा पिसाबको मेसो नपाउनु, लुगामै वा बसेको ठाउँमै दिशा पिसाब गर्दिनु।
पछि पछि बोल्न, खान निल्न, पानी पिउन गाह्रो हुनु र कुनै कुनै बेला खान, पानी आदि निल्दा घाटीमा सर्किनु वा असल्जिनु।
नेपालमा अल्जाइमर्स रोगको अवस्था
अल्जाइमर हालैको समयमा विश्वब्यापी रुपमा नै बढ्दो क्रममा छ। अल्जाइमरस् रोगलाई यस सताप्दिको सुषुप्त महामारीको रुपमा पनि लिने गरिन्छ। सन् २००० मा विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको तथ्यांक अनुसार तत् समय सम्ममा नेपालमा अल्जाइमर्स रोग र डिमेन्सियाका कारणले २०२२ जनाको मृत्यु भएको देखिएको थियो। यो तथ्यांक यकिन तथ्यांक भने होइन किनभने नेपालमा अस्पतालमा हुने मृत्यु र मृत्युको कारणको अभिलेख राख्ने प्रचलन भएता पनि घरमा भएका मृत्युको तथ्यांक नभेटिने हुदा अल्जाइमर्स रोग र डिमेन्सियाका कारणले भएका मृत्युको यकिन विवरण पाउन गाह्रो छ।
अल्जाइमरस् रोग वा डिमेन्सियाको निदान र उपचार
माथि उल्लेखित लक्षण देखिएमा मानसिक रोग विशेषज्ञलाई भेटेर सल्लाह र उपचारमा जानु पर्दछ। अल्जाइमर्सरोगको यकिन उपचार अहिले सम्म भेटिएको छैन। तर बेलैमा मानसिक रोग बिशेषज्ञलाइ भेटेर सल्लाह लिन सकियो भने अल्जाइमर्सरोग बढ्ने प्रक्रियालाइ सुस्त गर्ने उपचार बिधि भने उपलब्ध छन्।
अल्जाइमर्सरोगमा चिकित्सको सल्लाह र औषधि संगै घरमा बिरामीलाई गरिने हेरचाहले बिरामीको स्वास्थ्यमा धेरै ठुलो भूमिका खेलेको पाइन्छ। अल्जाइमरका रोगीलाई औषधिसंगै पुरक उपचारका विधि अवलम्बन गरेर बिरामीको जीवन सहज बनाउन सकिन्छ। पुरक उपचारका लागी बिकसित मुलुकहरुमा विभिन्न खालका उपचार केन्द्र भए पनि नेपालमा भने यस्ता उपचार केन्द्रको प्रचलन खासै बिकसित भैसकेको छैन। त्यसैले हामीले घरमै पनि केहि पुरक उपचारका बिधि र हेरचाहका उपायहरु अवलम्बन गर्न सक्छौ जसले बिरामी र हेरचाह गर्ने व्यक्ति दुबैलाई सहज हुन्छ।
अल्जाइमरस् रोग वा डिमेन्सियाको रोकथाम
यो रोगको कारण यकिन नभएकाले रोकथामको पनि यकिम उपाय छैन तर जोखिम काम गर्न सकिन्छ। यसको लागि परिमार्जन गर्न सकिने जोखिम तत्व(जस्तै: मधुमेह, उच्च रक्तचाप, मानसिक तनाब , विलाशी जीवनशैली) लाइ बेलैमा नियन्त्रण गर्ने, धुम्रपान र मध्यपान नगर्ने, प्याकेट बन्द खानेकुरा र फास्ट फूड कम खाने, नुन र चिनीको मात्रा कम गर्ने, योगासन र प्राणायामहरु गर्ने, ओमेगा ३ भएका खाने कुराहरु, भिटामिन बि १२, नट्स जति ओखर, बदाम आदि खानेकुरा सेवन गर्न सकिन्छ जसले मस्तिष्कको स्वास्थ्यलाई राम्रो राख्न मद्धत गर्छ। हालैका केहि अध्ययनले नियमित किताब पढ्ने, सोडू जस्तो मस्तिष्कलाइ जोड पर्ने वा सोचाई बढाउने खेल खेल्ने गरेमा डिमेन्सियाको रोकथाममा सहयोग पुग्ने देखिएको छ।
घरमा अल्जाइमरस् रोग र डिमेन्सियाका बिरामीको हेरचाह कसरी गर्न सकिन्छ
घरमा अल्जाइमर वा डिमेन्सियाका बिरामी छन् भने घरमा एउटा वृद्ध बच्चा हुनुहुन्छ भन्ने सोचेर बिरामीको स्याहार गर्नु पर्छ किनभने कतिपय बिरामीहरुले देखाउने व्यवहार बच्चाले देखाउने जस्तै हुन्छ। उदाहरण : खाना खान नमान्ने , औषधि खान नमान्ने , लुगामै दिशा पिसाब गर्दिने आदि। उनीहरुको व्यवहार देख्दा हामीलाई उनीहरुले बाहना बनाएको जस्तो लग्न सक्छ तर बिरामीहरु भने साच्चै नै समस्यामा हुने हुनाले पहिलो कुरा हामीले उनीहरुलाई बुझिदिनु पर्छ।
अल्जाइमर वा डिमेन्सियाको सुरुवाती लक्षणमा मानिसले आफ्नो घरको बाटो, ठेगाना, फोन नम्बर, परिवारका सदस्यका नाम, नाता आदि भुल्ने हुनाले नाम , ठेगाना, फोन नम्बर आदि जानकारी लेखेर सानो परिचय पत्र जस्तो बनाएर घाटीमा झुण्डाइदिन सकिन्छ। यस्तो गर्दा घर बाट बाहिर गएको अवस्थामा हराउने बाटो बिराउने सम्भावना कम हुन्छ।
यदि आफुनै घरको सक्रिय सदस्य हो र आफुलाई अल्जाइमर वा डिमेन्सिया निदान भएको छ, घरमा रहेका बस्तुको याद रहदैन भने अल्मारी , भाडा राख्ने र्याक आदिमा सामानको विवरण लेखर टास्न सकिन्छ। डायरीमा अत्यावस्यक फोन नम्बर , प्रयोगमा आइरहने बस्तुको नाम, परिवारका सदस्यका नाम आदि टिपेर राख्न सकिन्छ र डायरी लाइ मोबाइल फोनको नजिक वा घडीको नजिक राख्यो भने आवस्यक परेको बेला खोज्न सजिलो हुन्छ। अहिले प्रविधिको युगमा डिमेन्सियाका बिरामीहरुले आफ्नो दैनिक कामलाई मोबाइल फोनमा उपलब्ध टु डु लिस्ट एप प्रयोग गरेर सहजताका साथ गर्न सकिन्छ।
बिरामीको स्मरण क्षमतामा कमि हुने हुनाले उनीहरुलाइ दैनिक रुपमा प्रयोग हुने वस्तुका चित्र, दैनिक जीवनमा गरिने क्रियाकलाप झल्काइएका तस्बिर, खेलकुदका तस्बिर आदि देखाउने गर्दा बिरामीलाई धेरै कुरा याद गर्न सजिलो हुन्छ। कतिपय अवस्थामा सगीत, बिशेष सुगन्ध आदि संग पनि कति कुराको यादहरु जोडिने हुँदा संगीत, सुगन्ध जस्ता कुरालाई थेरापीको रुपमा प्रयोग गरेर याद्दासमा सुधार ल्याउन सकिन्छ।
अल्जाइमर वा डिमेन्सियाका बिरामीलाइ प्राय उदासिनता(Depression) र व्यकुलता (Anxiety) देखिन सक्छ। यस्तो अवस्थामा औषधिका साथ साथै परिवारका सदस्यहरुले बिरामीसंग रमाइला कुरा गर्ने , संगीत सुनाउने, घर वरपर घुमाउने, उनीहरुलाई महसुश गराउने गर्यो भने उदासिनता(Depression) र व्यकुलता (Anxiety) घटाउन मद्दत पुग्छ।
अल्जाइमर वा डिमेन्सियाका बिरामीलाइ आफुले गर्दै आएका दैनिक क्रियाकलाप गर्न पनि कठिनाई भोग्नु परिरहेको हुन्छ। यस्तो बेलामा परिवारका सदस्यले सहयोग गर्नु पर्छ तर आफ्ना क्रियाकलाप उनीहरु आफैलाई गर्न उत्प्रेरित गर्नु पर्छ। जस्तै परिवारको सदस्यको निगरानीमा हातमा ब्रस दिएर ब्रस गर्न लगाउने, हात धोएर देखाउदै हात धुन लगाउने, नुहाउने बेला साबुन लगाउने तरिका सिकाउने, हात खुट्टा धुन सिकाउने आदि।
अल्जाइमर वा डिमेन्सियाको अवस्थामा घर भित्रका दुर्घटना बढ्ने सम्भावना धेरै हुन्छ। अल्जाइमर वा डिमेन्सियाका बिरामी घरमा छन् भने घर भित्रको सुरक्षामा बिशेष ध्यान दिनुपर्छ। घरमा प्रयाप्त प्रकाश हुनु जरुरी हुन्छ, बिरामी बस्ने कोठामा सामानहरु कम हुनुपर्छ, बिद्युतका तार र प्लग हरु ब्यबस्थित अनि सुरक्षित हुनुपर्छ, धारिला बस्तु निषेध गर्नुपर्छ, बाथरूम र भर्याङमा handrail (समाउने ह्यान्डल) हुनुपर्छ, बिरामीको सिरानीमा रातको समयमा टर्चलाइट राख्ने र बिरामी सुत्ने कोठामा मधुरो प्रकाश दिने चिम बालीदिदा अधेरोमा लड्ने सम्भावना कम हुन्छ। यस्ता कुराले घरभित्र हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ।
रोगले धेरै च्याप्न थाले पछि बिरामीले शरीरिक सरसफाईमा ध्यान दिन सक्दैनन् सो अवस्थामा शरीरको राम्रो सरसफाई गरिदिनु पर्छ साथै पोषणयुक्त खानेकुरामा ध्यान दिनु पर्छ। असाध्य अवस्थामा बिरामीलाई निल्न गाह्रो हुने हुनाले खान खुवाउदा बिस्तारै खुवाउने, खान नअसल्झियोस वा नसर्कियोस भनेर ध्यान दिनुपर्छ। यदि असल्झियो वा सर्कियो भने त्यसले तत्काल बिरामीको मृत्यु गराउन सक्छ वा निमोनिया गराउन सक्छ।
अल्जाइमर वा डिमेन्सियाका बिरामी र हाम्रो दायित्व
यो समस्या आफैमा फरक खालको समस्या हो। अल्जाइमरका कत्ति बिरामीलाई आफु रोगि भएको थाहा पनि नहुदै रोगले गम्भीर रुप लिईसकेको हुन्छ। अल्जाइमर वा डिमेन्सियाका बिरामीहरु देख्दा हामीलाई उनीहरुले बाहना बनाएको जस्तो लग्न सक्छ तर बिरामीहरु आफैलाई पनि किन आफुमा यस्तो परिवर्तन आईरहेको छ भन्ने जानकारी हुदैन। उनीहरुमा भएको समस्याले उनीहरुलाई जीवनयापनमा कठिनाई हुन्छ। सुरु सुरुमा उनीहरु आफुले पहिले पहिले गर्दै आएका सामान्य घरायसी काम पनि आफुबाट नहुदा हिनता बोध गर्दछन् नै त्यै माथि बाहना बनायो भनेर कति ठाउमा अपमानित सम्म हुन पुग्दछन्। अझ नपुगेर कहिले कहिँ समाजले उनीहरुलाई पागलको संज्ञा दिन्छ र विभिन्न खालका भेदभाव गरिन्छ। समाजमा ब्याप्त यस्ता लान्छनाले रोगीको मानसिकतामा सार्है ठुलो नकारात्मक प्रभाब पार्छ। उनीहरुलाई बुझिदिनु नै हाम्रो सबै भन्दा ठुलो दायित्व हो। बिरामीलाई हुने भेदभावलाई निरुत्साहित पार्नु, भेदभावविरुद्ध जनचेतना जगाउनु, अल्जाइमर वा डिमेन्सियाका बिरामीहरुलाई समयमै निदान तथा उपचारमा सहयोग गर्नु र सहज एवं सम्मानजनक जीवन जिउन मद्धत गर्नुमा हाम्रो भूमिका जरुरी छ। साथै राज्यले पनि यस्ता बिरामीको सम्मानजनक बाच्न पाउने अधिकार सुनिस्चित गर्नु आवश्यक छ।