काठमाडौं- पछिल्लो समय जलवायु परिवर्तनका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा मेघनाथ धिमालका अनुसार विश्वव्यापी हुने रोगको भारमध्ये एक चौथाइ अर्थात् २५ प्रतिशत (लगभग १३ मिलियन)को मृत्यु वातावरणीय जोखिमको कारणले हुने अनुमान गरिएको छ।
जलवायु परिवर्तनले न्यून आय भएका देशका जनतालाई बढी प्रभावित भएको डा धिमाल बताउँछन्। जलवायु परिवर्तनले पानी, वायु, माटोमा असर गर्ने हुँदा खानेपानीजन्य, प्रदूषणबाट हुने रोगको जोखिम बढ्छ।
जलवायु परिवर्तनले कोलेरा, डाइरिया जस्ता रोगको भार र मृत्युदर बढाउने डा धिमाल बताउँछन्। डा धिमालका अनुसार जलवायु परिवर्तनले बालबालिका वृद्धावृद्ध, गर्भवतीमा बढी असर पुग्ने गर्छ।
जलवायु परिवर्तनका कारणले तराईमा मात्र देखिने किटजन्य रोगको भार जस्तै डेंगु, मलेरिया, कालाजार जस्ता किटजन्यरोग हिमाली जिल्लामा पनि देखिन थालेको डा धिमालको भनाइ छ।
उनले भने , 'जलवायु प्रदूषणले रोगको भार बढ्दै गएको छ। एक अध्ययनले एक डिग्री तापक्रम बढेमा डाइरिया जन्य रोगको भार ४.४ प्रतिशतभन्दा बढी र हिमाली जिल्लामा पाँच वा छ प्रतिशतले बढ्ने देखाएको छ।'
जलवायु परिवर्तनका कारण नसर्ने रोगको भार बढ्दै गएको चिकित्सक बताउँछन्। नेपालमा ७१ प्रतिशतको मृत्यु नसर्ने रोगका कारण हुने गर्छ। त्यसका साथै जलवायु परिवर्तनका कारणले मानसिक समस्या, कुपोषणको भार बढ्दै गएको उनले बताए। कुपोषणका कारणले विश्वमा ३१ लाख बालबालिकाको मृत्यु हुने गर्छ।
यो समस्यालाई समयमानै सम्बोधन गरी राज्यले यो सम्बन्धी रणनीति बनाएर काम सुरु नगरेर भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने डा धिमालको तर्क छ।