काठामडौं- नेपालमा राष्ट्रिय क्यान्सर प्रतिष्ठान अर्थात नेसनल क्यान्सर इन्स्टिच्युट स्थापना हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर इन्स्टिच्युट स्थापनाका लागि आवश्यक कदम अगाडि बढाएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यसका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेका छन्। समितिले काम समेत अगाडि बढाइ सकेको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा विश्वराम पौडेलको संयोजकत्वमा गठित समितिले आवश्यक काम अगाडि बढाएको हो।
समितिले क्यान्सर इन्स्टिच्युटका लागि कार्यक्षेत्र पहिचान गर्ने र विज्ञहरुको रोष्टर तयार गरी सुझाब संकलगन गर्ने निर्णय गर्दै आवश्यक काम अगाडि बढाएको छ।
समितिमा डा गिसुपनिख प्रसिको, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा शिवजी पौडेल, भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्जवल चालिसे, स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेल, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा सदस्य रहेका छन्। यस्तै मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक भक्तबहादुर केसी सदस्य सचिव रहेका छन्।
समितिको कार्य विवरण यस्ता छन्:
१. क्यान्सर विधासंग सम्वन्धित विज्ञसंग राय परामर्श गरी Nepal Cancer Institute मा के कस्ता सेवा संचालन गर्न आवश्यक छ भन्ने सम्वन्धमा सिफारिस गर्ने ।
२. Nepal Cancer Institute स्थापना गर्न उपयुक्त जग्गा र सम्भाव्य स्थानहरुको पहिचान गरी सिफारिस गर्ने । ३. Nepal Cancer Institute को स्थापनको लागि वित्तीय खाका तयार पेश गर्ने ।
४. उल्लेखित कार्य जिम्मेवारी पुरा गरी सुझाव सहितको सम्भाव्यता अध्ययन प्रतिवेदन ३ महिना भित्र पेश गर्ने ।