काठमाडौं- निजी अस्पतालमा कार्यरत नर्सलाई सरकारी सरह सेवासुविधा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र पठाएको छ। मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा कुमारी निरौलाले उक्त जानकारी दिएकी हुन्।
नर्सिङ क्षेत्र सुधारका विषयमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्, 'पछिल्लो समय निजी अस्पतालहरूमा नर्सिङ जनशक्तिको अत्याधिक श्रम शोषण भइरहेको कुराहरू बाहिर आइरहेका छन्। त्यसलाई सम्बोधन गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्री (प्रदीप पौडेल)ज्यूको आदेश अनुसार पत्राचार गरिसकेको छ। पत्राचारमा निजी अस्पतालहरुले पनि नर्सिङ जनशक्तिलाई सरकारी सरह तलब तथा सेवा सुविधा उपलब्ध गराउनुपर्ने उल्लेख छ।'
निजी अस्पतालहरूको सञ्चालन अनुमति सकिएपछि नवीकरण गर्ने समयमा पनि कर्मचारीको तलब पठाएको बैंक स्टेट्मेन्ट ल्याउन स्वास्थ्य मन्त्रालयले माग गरेको छ। त्यसले पनि नर्सहरूलाई निजी अस्पतालले कति तलब दिइरहेको छ भन्ने स्पष्ट रुपमा थाहा पाउन सकिने उनले बताइन्। 'त्यसैगरी हाम्रो नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत पनि निजी अस्पताललाई कर्मचारीको तलब बैंक खातामा पठाएको बैंक स्टेट्मेन्ट माग गरिरहेको छ,' उनले थपिन्।
त्यसले निजी अस्पतालमा नर्सहरूलाई श्रम शोषण भृएको वा नभएको थाहा हुने बताइन्। साथै नर्सहरूले पनि आफ्नो योग्यता अनुसारको तलब तथा सेवा सुविधाको माग गर्ने तथा नदिए काम गर्न अस्वीकार गर्नुपर्ने उनको भनाइ थियो।