'मन कहाँ छ ?' भन्ने चिन्तनकै परिणाम भनौं या पूर्ण स्वास्थ्य (शारीरिक, मानसिक, सामाजिक, एवं आध्यात्मिक समेत) को कामना गर्दै जाँदाको नतिजा! या त 'मानिस'लाई कोष, तन्तु, अंगभन्दा पनि समष्टीगत रुपमा अनि रासायनिक, भौतिक, जैविक क्रिया–प्रतिक्रियाभन्दा पनि मन–अवचेतन–चेतनको अन्योन्याश्रित अवस्थितिका रुपमा बुझ्ने चाहनाले हो! या त चिकित्सा शिक्षाको प्रारम्भिक चरणदेखि नै भोगिएका कठिनाइ, बिरामीहरुसँग भलाकुसारी हुँदाखेरी दुखेका 'मन'हरु, अनि आफूलाई मनोवैज्ञानिक रुपमा नै प्रभाव पार्न सक्ने गुरुवर्गको पदचाप अनुशरण गर्दाको प्रतिफल!
अन्तत: मनोचिकित्सककै रुपमा पेसा गर्ने पेसाकर्मी, 'मनोचिकित्सा' नै अध्यापन गर्ने शिक्षक, अनि मनोरोगीहरुकै उपचार गर्ने डाक्टर बन्न पुगियो।
हेरिल्याउँदा, मनोचिकित्सक बनेको पनि साढे सात वर्ष भएछ। मनोरोगीहरुलाई मात्र नभई मनोचिकित्सकलाई पनि (‘साइको डाक्टर’का रुपमा) उपेक्षा भाव प्रदर्शन गर्ने खालको छ हाम्रो समाज। यहाँ मानसिक रोगीको पहिचान गरी तिनलाई उपचार प्रक्रियामा ल्याउने अनि उपचार भएकाहरुलाई पुनः रोगी बन्न नदिनका लागि निरन्तर औषधोपचार गर्ने नियमित प्रक्रियाको विकास भइसकेको छैन। तिनको आत्मसम्मानमा आघात नपुगोस् भनेर गरिनुपर्ने पारिवारिक अनि सामाजिक सरसहयोग आदिका बारेमा खुल्ला छलफल चलाउने वातावरण तयार गर्न पनि त्यत्ति सजिलो भने छैन।
दीर्घ किसिमका मनोरोगीहरु (जस्तैः ‘सिजोफ्रेनिया’, ‘साइकोसिस’) अनि लागूपदार्थजनित मानसिक समस्या (हाम्रोमा अत्याधिक मद्यपान)ले प्रभावित किशोर–युवावर्ग, एवं ‘डिमेन्सिया’ जस्ता रोगले पीडित वयस्कजन सबैलाई गरिनुपर्ने स्याहारसुसार अनि पुनर्स्थानाको अवधारणामा ल्याई तिनको उपचार गर्न अझै सम्भव हुन सकेको छैन हाम्रो मुलुकमा।
हाम्रो देश जहाँ ०.१ प्रतिशतभन्दा पनि कम बजेट 'मानसिक स्वास्थ्य'का लागि छुट्याइन्छ, जहाँ 'मानसिक स्वास्थ्य' हेर्ने केन्द्रीय निकाय नै छैन (मन्त्रालयस्तरमा समेत), अनि केही निजी अस्पताल (एउटा केन्द्रीय मानसिक अस्पताल बाहेक) र सीमित रुपमा मेडिकल कलेजहरुका मानसिक स्वास्थ्य इकाइहरुले मानसिक रोगीहरुको उपचार गरिरहेका छन्। त्यस्ता उपचार पनि ८० प्रतिशतभन्दा बढी सहरी क्षेत्रमै सीमित छन्। त्यस्तै, मानसिक स्वास्थ्य नीति अझै पूर्ण कार्यान्वयनमा आएको छैन। प्राथमिक तहसम्म मानसिक स्वास्थ्य सेवा पुर्याउने नीति कागजी तहमै रहेको छ। त्यस्ता प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क रुपमा उपलब्ध हुनुपर्ने औषधिहरुमध्ये जम्मा तीनथरी मात्र मनोरोगीका लागि उपयोगी हुन सक्छ।
यस्तो परिवेशमा अनुसन्धानको तहमा कसरी पुर्याउन सकिएला त 'मानसिक स्वास्थ्य'लाई?
केही राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पहलमा सीमित रुपमा सीमितै जनसंख्यामा गरिएका जिल्लागत एवं क्षेत्रगत अध्ययनले केही मनोरोगको अवस्थिति नेपालमै पनि अन्तर्राष्ट्रिय अध्ययनहरुकै हाराहारीमा उल्लेखनीय रहेको दर्शाएका छन्। तर राष्ट्रियस्तरमै बृहत् अध्ययन नभईकन कसरी 'मानसिक स्वास्थ्य'मा रहेको समस्या पहिचान गर्न सकिएला र? 'नेपाली मन'भित्रको पीडा पूर्ण रुपले अन्वेषण नगरीकन कसरी स्वास्थ्य नीतिनिर्मातालाई यसतर्फ घचघच्याउन सकिएला र?
भौगोलिक, सामाजिक एवं सांस्कृतिक विविधता, जटिलता, अनि संक्रमणकालीन तरल राजनीतिक व्यवस्था, आर्थिक विपन्नता, अल्पविकसित अवस्थामा रहेको हाम्रोजस्तो मुलुकको मनोसामाजिक अवस्थाको अन्वेषण आफैमा एक चुनौती छ। तापनि मौलिक तथ्यांक नै पस्किन सक्ने सम्भावना बोकेको यथार्थलाई बिर्सन मिल्दैन। पश्चिमी संस्कृति एवं समाजमा विकसित भएका अध्ययन सामग्रीहरु कत्तिको उपयोगी हुन सक्लान् हाम्रो पूर्वीय सामाजिक परिवेशमा? हामीले आफ्नै समाज र संस्कृति सुहाउँदो अध्ययन सामग्रीको निर्माण गर्नुपर्ने होइन र?
उपरोक्त सबै प्रश्नहरुको उत्तर एकैसाथ दिन सम्भव त नहोला, तर अध्ययन नै नगरी भन्न सकिने पनि त होइनन्। त्यसैले अध्ययन अन्वेषणको सुरुवात अध्ययनबाटै मात्र हुन सक्छ। तर, स्रोतको सीमितताका कारण खुम्चिएरै रहन विवश हाम्रो जस्तो मुलुकले वैज्ञानिक शोध–अध्ययनकार्यमा अनुभवी मुलुकबाट सहयोग नलिई यस्तो कार्यको उठान गर्न सम्भव भने छैन।
यिनै पक्षहरुलाई विचार गरेर हामीले 'नेपाली मन'हरुलाई देशव्यापी रुपमा नै पछ्याउने संकल्प लियौं। यस कार्यमा सामेल हुन पाएकोमा मलाई गर्व अवश्य छ। 'विश्वभरि नै अत्याधिक मात्रामा रहेका दुई प्रमुख मानसिक समस्या- ‘एङ्गजाइटी’ र ‘डिप्रेसन’ हुन्। नेपाली जनमानसमा राष्ट्रियस्तरमै कत्तिको प्रभाव पारेका छन् यी समस्याले? यही नै मूल प्रश्नको समाधान खोज्ने उद्देश्यले काठमाडौं विश्वविद्यालयको मेडिकल स्कुल (धुलिखेल अस्पताल) अनि नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको सामूहिक प्रयत्नमा गरिएको चार वर्ष लामो अध्ययन नेपालको मनोचिकित्सा क्षेत्रलाई दिशानिर्देश गर्न सफल भयो।
प्रथमतः अंग्रेजी भाषमा रहेको अध्ययन सामग्रीलाई नेपालीमा उल्था मात्र नगरी नेपाली सामाजिक धरातलमै उपयोग गर्न मिल्ने गरी परिस्कृत गरिएको थियो। विश्वभर नै अत्यधिक असमर्थताको कारकतत्व मानिएका, एकआपसमा अत्यन्तै अन्तर्सम्बन्धित भएर रहेका ‘एङ्गजाइटी’ र ‘डिप्रेसन’ जस्ता मनोरोग नेपालमा पनि अत्यधिक मात्रामा रहेको पाइयो। साँच्चै अन्योन्याश्रित रुपमा रहेका, अनि असमर्थताका प्रमुख कारकतत्वकै रुपमा यी समस्या भेटियो। यी दुवै मनोरोग ‘माइग्रेन’ तथा अन्य दीर्घ रुपमै ‘टाउको दुख्ने समस्या’हरु, ‘न्युरोटिसिज्म’ नामक व्यक्तित्वजन्य गुणसँग, अनि जीवनको गुणत्मकता (‘क्वालिटी अफ लाइफ’) मा आउने कमीसँग पनि अत्यन्तै सम्बन्धित पाइए। ‘एङ्गजाइटी’ र ‘डिप्रेसन’ जस्ता मनोरोगहरु 'नेपाली मन'हरुलाई व्यथित पार्ने कारकतत्व अनि नेपालको महत्वपूर्ण स्वास्थ्य समस्याको रुपमा रहेको तथ्य स्थापित गर्यो यो अध्ययनले।
हुन त यो एउटा अध्ययनले देशभरिकै 'मानसिक समस्या'को पहिचान गरेको या सम्पूर्ण 'नेपाली मन'को पीडालाई आत्मसात गरेको भनेर ठोकुवा गर्न सक्दिनँ। एउटा तथ्य भने सत्य हो, यस अध्ययनकार्यले भविष्यमा अन्य मनोरोग पनि पछ्याउन मार्गनिर्देशन अवश्य गरेको छ। मानसिक स्वास्थ्यको क्षेत्रमा अब गरिने सर्वेक्षण, अन्वेषण कार्यका लागि पृष्ठभूमि निर्माण गरिसकेका छौं हामीले।
त्यसैले सबै प्राज्ञिक, मनोवैज्ञानिक अनि मनोचिकित्सक अन्वेषकहरुलाई हामी आह्वान गर्न चाहन्छौं, 'नेपाली मन'हरुलाई अझै पछ्याऔं। नेपाली अध्ययन सामग्रीहरु तयार गरौं, नेपालमा अरु पनि कति मनोरोग छन्, तिनको संख्या अद्यावधिक गरौं, तिनको अवस्था र तिनले देखाएका परिणामहरु केलाउन सुरु गरौं, सधैं अक्टोबर १० मा मनाइने, भर्खरै सम्पन्न भएको ‘विश्व मानसिक स्वास्थ्य दिवस’को अवसर पारेर यही संकल्प गरौं। किनकि, हामी सबैको हातेमालोबाट मात्र सम्पन्न हुन सक्ने यो प्रयासले नेपालमा मनोचिकित्साको क्षेत्रमा नयाँ आयाम खुल्न सक्नेछ, अनि नीति निर्माताहरुलाई यथेष्ट दिशाबोध गर्न सक्नेछ।
अन्ततोगत्वा, यसले मनोरोगीहरुलाई नै रोग निवारणतर्फ डोर्याउनेछ, अनि 'नेपाली मन'हरुलाई नै सन्तुष्ट बनाउनेछ।
डा रिसाल धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालयका मानसिक रोग विशेषज्ञ हुन्।