साढे दुई वर्षमा ९ पल्ट एमबिबिएसको प्रवेश परीक्षा दिइसकियोे। छात्रवृत्तिमै डाक्टर बन्न ५–७ वर्षदेखि प्रवेश परीक्षा दिइरहेका दाइहरू पनि हुनुहुन्छ। काठमाडौं विश्वविद्यालयको त उत्कृष्ट ३० भित्रै नाम निकाल्न सफल भइएको थियो। तर, पूर्ण छात्रवृत्ति उत्कृष्ट २० ले मात्रै पाएपछि मेरो डाक्टर बन्ने सपना पूरा भएन। किनकि हाम्रो परिवारको आर्थिक अवस्थाले पैसा तिरेर डाक्टर बन्न हामी सक्दैनौं।
हामीले प्रवेश परीक्षा दिन थालेदेखि नै दलालहरु पनि आएका हुन्, ‘छात्रवृत्तिमा नाम निकालिदिनुपर्ने हो भने १० लाख रुपैयाँ देऊ’ भन्न । डाक्टर बन्ने परीक्षामा उनीहरुले भनेजस्तो ‘चिटिङ’ होला भन्ने विश्वास नै लागेन। किनभने चिकित्सा जस्तो संवेदनशील पेसामा प्रवेश गर्ने परीक्षामा सम्बन्धित निकायले उच्च सतर्कता अपनाइरहेको होला भन्ने लाग्थ्यो।
यसपालि परीक्षा ठिकै भएको थियो। डाक्टर बन्ने सपना पूरा होला भन्ने आशा त परीक्षा हलको गेटबाट निस्किनेबित्तिकै सकियो। किनकि हल्ला आइसकेको थियो— प्रश्नपत्र बाहिरियो। कानमा सानो डिभाइस प्रयोग गरेर चिटिङ भयो ।
प्रहरीले केही विद्यार्थीलाई रंगेहात पक्राउ गर्यो। चिट चोराउनेको नाइके भनेर अरु केहीलाई पनि पक्राउ गर्यो। १० वटा डिभाइस पनि हात लगायो। तर, उक्त डिभाइस प्रयोग गर्ने १० जना मात्रै होलान् र? प्रहरीले नै ५० देखि डेढ सयको हाराहारीमा डिभाइस प्रयोग गरेको भन्ने अनुमान लगाएको रहेछ। तर, भेट्यो १० मात्रै! बाँकीले त डिभाइसमार्फत चिट चोर्न सफल भए भनेरै बुझ्नुपर्यो।
जो दलालको चिटले होइन, आफ्नै मेहनतले डाक्टर बन्छौं भनेर लागेका थियौं, सबै निराश छौं । धेरै जनाको अहिले दिनचर्या नै आइओएममा पुग्नु, प्रहरीसँग अनुसन्धान कहाँ पुग्यो? भनेर सोध्नु अनि घर फर्किनु भएको छ।
आइओएम त्रिभुवन विश्वविद्यालयले छानबिन गरिरहेका भनेर पन्छिरहेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाले चिट चोरिएको र प्रश्नपत्र बाहिरिएको कुरा आइओएमलाई अवगत गराइसकेको छ। उक्त अपराधमा संलग्नलाई कानुनी कारबाही अघि बढाइसकेको छ।
बाहिरिएको प्रश्नपत्र अनुसार भेटिएको उत्तरको चेकजाँच गर्ने र निष्कर्षमा पुग्ने एकथरीको तर्क छ। यो दुनियाँमा सर्वज्ञ कोही हुँदैन। जति नै जान्नेछु भने पनि एक–दुइ गल्ती भई नै हाल्छ। त्यसैले उत्तर लेख्ने मान्छेले शतप्रतिशत सही लेख्यो होला भन्न सकिँदैन। डर छ, केही गलत उत्तर भेटिनेबित्तिकै त्यसैमा टेकेर अपराध लुकाइन्छ कि भन्ने।
हाम्रो माग आइओएमले फेरि परीक्षा गरोस् भन्ने हो। अधिकांश विद्यार्थीको माग नै त्यही छ। किनकि पढेरै नाम निकालेर डाक्टर बन्छु भन्ने हामी जस्ता विद्यार्थीको भविष्यमाथि आइओएमले खेलबाड गर्न पाउँदैन। कडा चेकजाँचका बीच फेरि परीक्षा भयो भने मात्रै दलालको चिटमा होइन, आफ्नै क्षमतमा विश्वास गर्ने हामी जस्ता विद्यार्थीमाथि न्याय हुन्छ।
(आइओएमको प्रवेश परीक्षामा संलग्न राम र आनन्दसँग डिबी खड्काले गरेको कुराकानीमा आधारित)