भैरहवा- रुपन्देहीमा आमा सुरक्षा कार्यक्रम लक्ष्यभन्दा बढी प्रभावकारी देखिएको छ।
सन् २०१९ सम्ममा राष्ट्रिय तथ्यांक ८० प्रतिशत पुर्याउने लक्ष्य भएकोमा रुपन्देहीमा ९८ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओमप्रकाश गुप्ताले जानकारी दिए। अब रुपन्देहीमा दुई प्रतिशत महिला मात्रै घरमै सुत्केरी हुने र त्यो पनि कमी गर्दै लैजाने उनको भनाइ छ।
विसं २०६८ को जनगणना अनुसार ८ लाख ८० हजार एक सय ४६ जनसंख्यामध्ये ४ लाख ४७ हजार एक सय ५३ महिला छन्। आमा सुरक्षा कार्यक्रम लागू भएपछि स्वास्थ्य कार्यालय मार्फत जिल्लाका विभिन्न स्थानमा १८ वटा वर्थिङ सेन्टर र यसबाहेक युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवा, भीम अस्पताल भैरहवा, देवदह मेडिकल कलेज देवदह, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २४ घन्टे प्रसूति सेवा सञ्चालन गरिएको छ। पछिल्लो पटक गत वर्ष मात्र भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलमा समेत आमा सुरक्षा कार्यक्रम सुरु भएको थियो।
रुपन्देही पूर्ण साक्षर जिल्ला भइसकेको छ। चालु आर्थिक वर्ष २०७६÷७७ मा संस्थागत रुपमा सुत्केरी हुने प्रवृत्तिको विकास गराउन पनि कार्यालयले योजना बनाइरहेको गुप्ताले बताए।
आमा सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा पहँुच नभएकालाई सहज रुपमा पहुँच पु¥याउन तथा उनीहरुलाई प्रसूति सेवा स्वास्थ्य संस्थाबाटै गराउने व्यवस्था मिलाउनका लागि गाउँगाउँमा वर्थिङ सेन्टर सञ्चालन गर्ने तथा जनचेतना जगाउने काम कार्यालयले गर्दै आएको छ। सरकारले २०६२ सालदेखि आमा सुरक्षा कार्यक्रम लागू गरेको थियो।
जसअनुसार तराईका जिल्लामा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई यातायात खर्च बापत पाँच सय रुपैयाँ तथा सुत्केरी गराउने संस्थालाई एक हजार रुपैयाँ दिँदै आएको छ। आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि २४ घन्टे सुत्केरी सेवा कार्यक्रमलाई स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य चौकीहरुमा विस्तार गर्दै लगिएको छ।
रुपन्देहीमा २०६५ देखि आमा सुरक्षा कार्यक्रम लागू भए पनि स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ, त्यसमा आमा र शिशुको सुरक्षा हुनसक्छ भन्ने चेतना नहुँदा सरकारले सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रमबाट ग्रामीण महिलाले शतप्रतिशत सेवा लिन सकेका छैनन्।
जिल्लाको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्र धकधईदेखि मर्चवार क्षेत्रमा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको संख्यामा कमी छ। त्यस्ता क्षेत्रमा स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी परिचालन गर्ने तथा परिचालित स्वास्थ्यकर्मीलाई अझै बढी क्रियाशील बनाइने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्रप्रसाद गिरीले बताए।