काठमाडौं- आगामी २१ डिसेम्बरमा पहिलो विश्व ध्यान दिवस विश्वभर मनाइँदै छ। दिवसका अवसरमा उक्त दिन आध्यात्मिक गुरु श्री श्री रवि शंकरले ध्यान र अध्यात्मबार विश्वव्यापी प्रवचन दिने छन्। उनको प्रवचन ‘द आर्ट अफ लिभिङ फाउण्डेशन’ले विश्वव्यापी रुपमा यूट्यूव लगायताका सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण गर्ने छ।
संयुक्त राष्ट्र संघले ७ डिसेम्बरमा यसै वर्ष देखि २१ डिसेम्बरको दिनलाई विश्व ध्यान दिवस (वर्ल्ड मेडिटेसन डे) को रुपमा मनाउने निर्णय गरेको थियो। पहिलो दिवसलाई विश्वव्यापी गराउने उद्देश्यसहित विश्वभर एकैपटक प्रत्यक्ष प्रशारण मार्फत ध्यान गर्ने र ध्यानका विषयमा प्रवचन गर्ने कार्यक्रम राखिएको हो।
दिवसका अवसरमा नेपालसहित विश्वभरका १८४ देशमा यसको प्रत्यक्ष प्रशारण हेर्न सकिने द आर्ट अफ लिभिङका नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंहले जानकारी दिए। उनले रवि शंकरले मानव कल्याणका लागि ध्यान तथा अध्यात्मलाई विश्वभर फैलाएको बताउँदै त्यसैको सम्मानमा युएनले वर्ल्ड मेडिटेसन डे का अवसरमा आफ्नो मुख्यालयमा बोलाएर ध्यान तथा अध्यात्मबारेमा विश्वव्यापी जानकारी फैलाउन कायक्रमको आयोजना गरिएको बताए।
आर्ट अफ लिभिङ नेपालका महासचिव प्रभुराज वैद्यले विश्व ध्यान दिवस घोषणा हुनु निकै खुसीको विषय रहेको उल्लेख गर्दै उक्त दिन सबैले आफ्नो आफ्नो घरमा बसेर रविशंकरको प्रवचन सुन्न र ध्यानका बारेमा जानकारी लिन आग्रह गरे। उनका अनुसार नेपालमा पुस ६ गते शनिबार राती ८:१५ बजे प्रत्यक्ष प्रशारण आउने छ।
महासचिव वैद्यले ध्यानको परिवर्तनकारी फाइदाहरू उजागर गर्न र शारीरिक, मानसिक र आध्यात्मिक कल्याणको लागि यसको अभ्यासलाई प्रवर्द्धन गर्न युएनले विश्वव्यापी उत्सवको रुपमा यो दिन मनाउन लागेको जानकारी दिए।
आर्ट अफ लिभिङ नेपालका कोषाध्यक्ष रिता वैद्यले शरीर स्वस्थ राख्न जत्तिकै मन मस्तिष्क समेत स्वस्थ राख्नु पर्ने भन्दै त्यसका लागि मेडिटेसन (ध्यान) जरुरी रहेको बताइन्।
सदस्य रितिका लोहियाले ध्यानले जीवनमा खुशी, आनन्द संगै काममा स्फुर्ति र सजग बनाउने भन्दै यसले मानिसको जीवनमा थप उर्जा भर्ने जानकारी दिइन्।
मानसिक स्वास्थ्यका लागि ध्यान सबैभन्दा महत्वपूर्ण औषधि भन्दै अवको विश्वजगतले रोज्नु पर्ने बाटो ध्यान तथा अध्यात्म नै रहेको आर्ट अफ लिभिङकी यस्तै कन्ट्री कोअर्डिनेटर दिपिका साहले जानकारी दिइन्।
द आर्ट अफ लिभिङका नेशनल टिचर्स कोअर्डिनेटर राजेश खड्काले विश्व स्वास्थ्य संगठनले नै मानसिक स्वास्थ्य अवकोमहामारीको रुपमा देखा पर्ने चेतावनी दिइसकेकाले ध्यान गर्नेसँगै यसको प्रवर्धन गर्न आवश्यक रहेको कुरामा जोड दिए।