मनुष्यको इहलिला नै यही संसारमा खेल्दै, रम्दै, भुल्दै समाप्त हुन्छ। दौडधुप जीवनको पर्याय नै हो। दौडधुप गर्न मन नलाग्ने भनेको एउटा अदालत होला। त्यसपछि त अस्पताल नै हुनपर्छ। आश्चर्यजनक कुरा के हो भन्दा धाउन नपर्दासम्म सबै जनालाई आफू अजर-अमिर नै लाग्छ। सबैलाई धाउन मन नलाग्ने अस्पतालमा भने अस्पतालका कर्मचारी सधैं जानुपर्छ। ती अजर-अमर मनुष्यका कथा-व्यथा सबै देखिन्छ, बुझिन्छ। बानी नै पर्छ।
एमर्जेन्सीमा मुटुको समस्या भएर आउने बिरामी हेर्दा हेर्दा सपनामा पनि मुटुको स्पन्दन देख्नु नौलो कुरा होइन। एक दिनको कुरा हो, एमर्जेन्सीमा ‘इको’ गर्ने प्रयास गरिरहेको थिएँ। एक जना बाजे पश्चिम नेपालबाट आएका रहेछन्। उमेर अन्दाजी ७० वर्षको हुनुपर्छ। उनको लवजबाट नै पश्चिमपारि बझाङतिरबाट आएको हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्थ्यो।
उनलाई एक महिना अगाडि आफ्नो नियमित दैनिक क्रियाकलापमा समस्या देखिन थालेछ। हिँड्दा स्वाँस्वाँ हुने, काम गर्दा पसिना आउने, थकान महसुस हुने, झुम्म पार्ने, बेलाबेला मुटुले ठाउँ छोडे जस्तो हुने आदि लक्षण लिएर बाजे धनगढी पुगेका रहेछन्। धनगढीका डाक्टरले बाजेको मुटु कमजोर भएको बताएछन्। तर बाजेलाई कत्ति विश्वास लागेनछ।
उनले सोही कुरा मलाई सुनाउँदै थिए, ‘बिहान सबेरै २ भारी घाँस बोकेर ल्याउँछु बाबु म। डिङालाई कुँडो पकाउने, खुवाउने काम गर्छु म। गाउँमा उकालो चढ्ने हो भने तम्राभन्दा म जित्छु। आजसम्म सिटामल बाहेक केही परेछैन ज्यानमा। खेला गर्छ डाक्टर बाबु। मेरो मुटु कसरी कमजोर हुन्छ? धनगडीका डाक्टरले पनि त्यही भनेका हुन्। विश्वास मानेन। यहाँ पनि एउटै भन्छौ?’
केही समयमा कुरा गर्नुपर्ला भनेर म अरु कामतिर लाग्छु। तर मनमा भने ती बाजेका कुरा घुमिरहन्छन्। बाजेका कुरा शतप्रतिशत सही हुन्। उनको मुटु कसरी कमजोर हुनसक्छ! जीवनको उत्तरार्धसम्म शरीरलाई धानेको मुटुले कसरी एकाएक साथ छोड्न सक्छ? उनका काँधले हलो बोके। हातले डोको बुने। पिठ्युँले धान बोके। निधारले नाम्लोको निशानी बोके। उनका सन्तान पखेटा लागेर स्वतन्त्र भए। उनी अझै कर्मशील छन्। परिश्रमी छन्।
आज एकाएक ७० वर्षको सेरोफेरोमा डाक्टरले मुटु कमजोर भनेर भन्दा कसरी पत्याउँछन् त! उनको जीवन पनि चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को पूर्णेको भन्दा कम संघर्ष भने पक्कै थिएन। अधिकांश समकालीन बुवाहरुको कथा सायद एउटै होला।
केही समयपछि फेरि बाजेलाई हेर्न जाँदा बाजे जुत्ता लगाएर बसिरहेका थिए। लाग्दै थियो, घर हिँड्न तयारी गरेका थिए। उनको मुटुको पम्प गर्ने क्षमता २० प्रतिशत मात्रै थियो। त्यो कुरा सत्य थियो। तर उनलाई हेरेर रोक्न सकिन्छ जस्तो चाहिँ लागेन। त्यही पनि एक रात बसेर जान्छन् भन्ने आस थियो। सहमत पनि भए। उनलाई सुईबाट औषधि दिएपछि श्वास फेर्न धेरै सजिलो भएको थियो। उनको तयारी देख्दा त्यही बेला नै सगरमाथा नै चढ्छन् कि भन्ने साहस देखिन्थ्यो।
बाजेले बिहान फेरि कुरा गरे, ‘मेरो मुटु कमजोर नै भन्छौ। २० पर्सेन्ट काम गर्छ भन्छौ। काठमाडौंको ठूलो अस्पतालमा जान्ने डाक्टर छन्। भन्छौ भने होला। त्यो २० पर्सेन्टले अबका १० वर्ष बाँच्न सकौंला?’ सायद नाति-पनाति खेलाउने रहर बोकेका थिए होला।
मैले मान्छेको उमेर नै निर्धारण गर्न सक्ने भए ज्योतिष हुन्थेँ होला। मैले पढेको चिकित्सा विज्ञानमा उमेर निर्धारण गर्ने कला भने जानेको छैन मैले। तर मान्छेको जिजिविषा भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ। बाँच्ने अदम्य इच्छाशक्ति भएको व्यक्तिलाई औषधिले नि राम्रै काम गर्छ।
ती बाजेको जिजिविषा मर्न दिइनँ मैले। मैले भनेँ, ‘बाजे। तपाईंको मुटुभन्दा मन एक सय बीस प्रतिशत बलियो छ। गोडा दुई औषधि सधैं खानु। पानी कम खानु। आफ्नो उमेर कसैले खोस्न सक्दैन।’
बाजे दङ्ग परे। केही औषधि लिएर बिदा भए। उनका छोरालाई भने रोगको जटिलता र औषधिको महत्व बुझाएर पठाएँ।
जीवनमा कुनै कुरा निश्चित हुँदैन। एउटा मात्र निश्चित कुरा के हो भन्दा यो मर्त्यलोक छोड्नुपर्छ एक दिन। ती बाजेजस्तै कर्मशील रहनु, इच्छाशक्ति बलियो गर्नु नै एउटा उपाय हो। आफ्ना अग्रजहरुलाई मान गर्नु, आफूभन्दा सानो उमेरलाई माया गर्नु, घरपरिवारमा शान्ति कायम गर्नु, आफ्नो मन खुसी हुनु, सके समाजलाई योगदान गर्नु। सायद यिनै कुराहरु नै सफल जीवनका सुचक हुन्।
रात्रिकालीन सेवा जे-जति सुविधा दिए पनि समाजसेवा हो। रात विश्रामको लागि हो। उठ्न र दौडिनको लागि त होइन। तर कोही न कोही व्यक्ति त पक्कै त्यहाँ हुन्छ। चिकित्सा क्षेत्रमा एमर्जेन्सी सेवा आफूलाई मनपर्ने समय, भोक, निद्रा आदि त्याग गर्नुपर्ने तपस्या हो। सायद सफलता चर्चामा होइन , सामान्य जीवनमा खुसी र स्वस्थ रहनुमा छ।
उही
लोकद्रष्टा चिकित्सक।
-(लेखक डा खनाल शहिद गंगालाल हृदय केन्द्रका आवासीय चिकित्सक हुन्।)