चितवन- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अन्तर्गतको अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्थान (आईएआरसी)का वैज्ञानिक डा. दीपेन्द्र सिंह नेतृत्वको टोलीले गरेको नयाँ अध्ययनले नेपालमा क्यान्सरको निदान र उपचार प्रक्रियामा व्यापक ढिलाइ हुने गरेको खुलासा गरेको छ। बीएमजे ग्लोबल हेल्थमा नोभेम्बर १० मा प्रकाशित अध्ययनका अनुसार, बिरामीले लक्षण देखिनेदेखि उपचार सुरु हुनसम्म औसत चार महिनाभन्दा बढी पर्खिनुपर्छ।
सबै चरणमा ढिलाइ
अध्ययन बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा २०२२ मा उपचार गराएका १ हजार १८२ प्रौढ क्यान्सर बिरामीमा आधारित थियो। अनुसन्धानले क्यान्सर उपचार यात्रा (लक्षण देखिएको समयदेखि स्वास्थ्यकर्मीलाई भेट्नु, निदान, र उपचार सुरु हुन) हरेक चरणमा उल्लेखनीय ढिलाइ भेट्टाएको छ।
मुख्य निष्कर्षहरूमा :
• लक्षण देखिनु–पहिलो स्वास्थ्य सम्पर्क: ३१ दिन
• पहिलो सम्पर्क–निदान: ४८ दिन
• निदान–उपचार सुरु: १९ दिन
• लक्षण देखिनु–उपचार सुरु: ११० दिन (करिब ४ महिना)

डा. सिंह भन्छन्, '५० प्रतिशत बिरामीले पहिलो पटक स्वास्थ्यकर्मी भेट्नमै एक महिना कुर्नुपर्यो । त्यसपछि निदान हुन डेढ महिना लाग्यो । २५ प्रतिशत बिरामीलाई उपचार सुरु हुन करिब छ महिना बितिसकेको थियो । यो परिस्थिति स्वीकार्य होइन।'
ढिलाइका गम्भीर नतिजा
अनुसन्धान टोलीका अनुसार यी ढिलाइका कारण धेरै बिरामी ढिलो चरणमा अस्पताल पुग्ने गर्छन्, जसले उपचारको विकल्प सीमित बनाउँछ। ढिलो निदानले जटिलता बढ्ने, जीवन–गुणस्तर खस्किने र उपचार सफलताको सम्भावना घट्ने जोखिम उच्च हुन्छ।
सुधार आवश्यक
अध्ययनमा क्यान्सर उपचारमा देखिएका अवरोध मुख्यतस् तीन तहमा छन्। पहिलो जनचेतना कमी देखिएको छ। जसले गर्दा लक्षण देखिएपछि उपचारमा जान ढिलो रहेको छ। दोस्रो स्वास्थ्य सेवामा कमजोर पहिचान छ। जसले उपयुक्त ठाउँमा समयमै रिफर नहुनु रहेको छ भने अर्को निदान र उपचार क्षमतामा सीमितता रहेको छ। जुन परीक्षण, इमेजिङ, विशेषज्ञ भेटमा भीड र प्रतीक्षा समय आदि दर्शाउँछ।
अनुसन्धानले जनचेतना अभिवृद्धि, प्राथमिक स्वास्थ्य सेवासँग समन्वय, परीक्षण क्षमताको विस्तार, उपचार प्रक्रियाको चुस्तीकरण र नियमित डाटा निगरानीलाई तात्कालिक प्राथमिकतामा राख्न सिफारिस गरेको छ।
सर्वसाधारण र स्वास्थ्यकर्मीका लागि सन्देश
अनुसन्धान टोलीले सर्वसाधारणलाई निरन्तर, नबुझिने लक्षण देखिए स्वास्थ्यकर्मीलाई तुरुन्त भेट्न आग्रह गरेको छ।
स्वास्थ्यकर्मीका लागि भने लक्षण पहिचान र समयमै रेफरल क्यान्सर उपचारमा सबैभन्दा प्रभावकारी हस्तक्षेप हुनसक्ने उल्लेख गरिएको छ।
डा. सिंह भन्छन्, 'क्यान्सर उपचारमा हुने ढिलाइ हटाउनु नै नेपालमा प्रारम्भिक क्यान्सर निदानका डब्लुएचओ लक्ष्य पूरा गर्न आवश्यक आधारभूत पहिलो कदम हो।