म डा. अंकित, एक चिकित्सक। आज एउटा यस्तो कथा सुनाउन गइरहेको छु, जुन मैले आफ्नै आँखाले देखेको हुँ। यो कथा हो मेरो सहकर्मी डा. (साथी)- एक होनहार चिकित्सक, जसको एउटा सानो घटनाले उसको जीवन नै बदलियो।
उसको जीवनको सामान्य दिन...
त्यो दिन अस्पतालमा व्यस्तता उस्तै थियो। आकस्मिक कक्षको चहलपहलमा बिरामीहरूको चित्कार, नर्सहरूको दौडधूप, चिकित्सकहरूको सुझाइ-बुझाइ चलिरहेको थियो।
एकाएक, एक दुब्लो-पातलो, ज्यान सुकिसकेको ४५ वर्षीय बिरामीलाई ल्याइयो। उनको अनुहार मलिन थियो, सास फेर्नै गाह्रो थियो र लगातार खोकीरहेका थिए। उनलाई ल्याउने उनकी श्रीमतीले भनिन्, 'डाक्टरसाब, उहाँ महिनौँदेखि खोकीरहनुभएको छ, औषधि पसलबाट ल्याएको औषधि, एन्टिबायोटिक्स कति खाइसक्नु भयो, जति औषधि खाए पनि निको भएको छैन।'
डा. साथी बिरामी जाँच्न अघि सरे। म नजिकै थिएँ। उनले सामान्य सर्जिकल मास्क लगाएका थिए, जुन यस्ता संक्रामक रोगका बिरामीसँग सुरक्षित रहन पर्याप्त थिएन। नजिक जाँदा अचनक बिरामीले जोडले खोकी हाल्नुभयो, उनको मुखबाट निस्केको थुकका स-साना थोपा (ड्रप्लेट्स) डा. साथीको अनुहारमा पर्यो। त्यो समयमा यो घटनालाई उसले त्यति ध्यान दिएन। तर, मलाई त्यो क्षण डर लाग्यो।
केही समयपछि, बिरामीको परीक्षण गरियो—उनी बहु-औषधि प्रतिरोधी क्षयरोग (एमडीआर-टीबी) का बिरामी रहेछन्। यो सुनेर मेरो मुटु एक्कासी चिसो भएर आयो। डा. साथी त्यतिबेला अलिकति गम्भीर भए, तर उति ठूलो कुरा हो जस्तो ठानेनन्। उनले सामान्य दिनचर्या जस्तै आफ्नो काम गर्दै गए।
केही हप्तापछि...
केही हप्तासम्म सब ठीकै थियो। तर, विस्तारै उनले स्वास्थ्यमा परिवर्तन महसुस गर्न थाले। सुरुमा सामान्य थकान, रातमा पसिना आउन थालेको थियो। विस्तारै लगातार खोकी लाग्न थाल्यो। आफैं चिकित्सक उनले परीक्षण गराए।रिपोर्ट आयो- क्षयरोग संक्रमित।
यो सुनेर म अचम्ममा परेँ। एउटा सानो घटनाले उनको स्वास्थ्यमा यति ठूलो असर पार्न सक्छ भन्ने मैले कल्पना गरेको थिइनँ।
संघर्षको यात्रा...
डा. साथीलाई तुरुन्त उपचारमा राखियो। क्षयरोगको औषधि (एटीटी) ६ महिनादेखि ९ महिनासम्म खानुपर्छ।
उपचारको क्रममा औषधि पनि लामो समयसम्म खान पर्ने भएकोले साथीले जीवनमा धेरै अवसरहरू गुमाए र चुनौतीहरू भोगे। काम गर्ने देखि लिएर पढ्ने धेरैं अवसरहरू गुमाए। उनको सम्पूर्ण करिअर रोकिएजस्तो भयो।
जसले गर्दा उनको जीवन पूर्ण रूपमा बदलियो, आर्थिक संकटले बचत सकियो र परिवारबाट टाढिनु पर्यो। यो सबै पीडाहरूमध्ये आफूलाई लागेको रोग आफ्नो बुढो भएको आम बुवालाई पनि लग्ने पो होकि भन्ने डरले उनलाई सताइरहन्थ्यो। आफ्नी सानी छोरीलाई काखमा लिन नसक्ने पीडाले उनी मानसिक रूपमा पनि कमजोर हुँदै गए। समाजबाट अलग्गिएको महसुस गर्दै, उनले स्वास्थ्यकर्मीहरूको जोखिम र सुरक्षा उपायहरूको महत्त्व बुझ्न थाले।
सुरक्षाका उपायहरू: के गर्नुपर्थ्यो?
अब म यो कथा यसकारण सुनाउँदैछु कि म चाहन्छु, अरू स्वास्थ्यकर्मीहरूले यस्तो गल्ती नगरून्। डा. साथीले अपनाउनुपर्ने महत्वपूर्ण सुरक्षाका उपायहरू यस्ता थिए:
१. सही मास्कको प्रयोग अनिवार्य
- टीबी जस्ता हावाबाट सर्ने रोग भएका बिरामीको जाँच गर्दा एन९५ मास्क लगाउनुपर्छ।
- साधारण सर्जिकल मास्कले यस्ता रोगबाट बचाउन सक्दैन।
डा. साथीले बिरामीको जाँच गर्दा एन९५ मास्क लगाएका भए, उनको संक्रमणको जोखिम घट्ने थियो।
२. राम्रो हावा प्रवाह भएको स्थानमा बिरामीको उपचार
- क्षयरोगका बिरामीलाई सधैं निगेटिभ प्रेसर भेन्टिलेसन भएको कोठामा जाँच गर्नुपर्छ।
- अस्पतालमा टीबी वार्ड राम्रो हावाप्रवाहयुक्त हुनुपर्छ।
३. व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को प्रयोग
- बिरामीको थुक, रगत वा अन्य शरीरबाट निस्कने तरल पदार्थ प्रत्यक्ष सम्पर्कमा आउन नदिन ग्लोभ्स, फेस शिल्ड, गाउन र एन९५ मास्क प्रयोग गर्नुपर्छ।
उदारहणको लागि एकजना नर्सले बिना पीपीई टीबी संक्रमित बिरामीको परिक्षण गर्दा केही महिनापछि संक्रमण भयो। यदि उनले सही पीपीई लगाएकी भए, उनी सुरक्षित रहने थिइन्।
४. शीघ्र निदान र उपचारको महत्त्व
- टीबीको जोखिम भएका बिरामीहरूको जेनएक्सपर्ट टीबी टेस्ट वा अन्य छिटो परीक्षण प्रणालीमार्फत् चाँडो निदान गर्नुपर्छ।
- अस्पतालले संक्रामक रोग फैलिन नदिन टिम वर्कमा काम गर्नुपर्छ।
५. स्वास्थ्यकर्मीहरूको नियमित स्वास्थ्य परीक्षण
- टीबी जोखिम भएका स्वास्थ्यकर्मीहरूले वार्षिक टीबी स्क्रिनिङ गराउनुपर्छ।
- अस्पतालमा काम गर्ने प्रत्येक स्टाफको स्वास्थ्य निगरानी हुनुपर्छ।
रोगीको जिम्मेवारी…
क्षयरोग संक्रामक भएकाले बिरामीले अरूलाई बचाउने जिम्मेवारी लिनुपर्छ। मास्क लगाउने, खोक्दा मुख छोप्ने, छुट्टै कोठामा बस्ने, समयमा परीक्षण गर्ने, उपचार पूरा गर्ने र सचेतना फैलाउने अनिवार्य छ। रोग नियन्त्रण केवल स्वास्थ्यकर्मीको काम होइन, बिरामी स्वयं जिम्मेवार भए मात्र संक्रमण रोक्न सकिन्छ।
निष्कर्ष....
छ महिनापछि साथी निको भएँ। उनले थाहा पाए, क्षयरोगले उनलाई र परिवारलाई धेरै दुःख दियो, तर यसले एउटा महत्वपूर्ण पाठ पनि सिकायो—स्वास्थ्यकर्मीहरूको सुरक्षामा कुनै सम्झौता गर्नुहुँदैन। अब उनी सधैं सावधानी अपनाउँछन्, अस्पतालमा टीबी सचेतना फैलाउँछन् र जीवनका हरेक चुनौतीलाई आत्मबलका साथ सामना गर्छन्। उनले टीबी मात्र हराएनन्, टीबीले नै उनलाई जीवनका सबै अवरोधलाई जित्ने प्रेरणा दियो। उनी भन्छन्— 'म बिरामी भएँ, तर मेरो आत्मबल कहिल्यै बिरामी हुने छैन।'
आज विश्व क्षयरोग दिवसको अवसरमा म चाहन्छु कि स्वास्थ्यकर्मी, नर्स, टेक्निकल स्टाफ, हाउसकीपिङ स्टाफ-सबैजनाले यी सुरक्षा उपायहरू कडाइका साथ अपनाऊन्।
हामी अरूको जीवन बचाउँछौं, तर त्यस क्रममा आफ्नै जीवनलाई जोखिममा राख्नुहुन्न। सजग बनौँ, सुरक्षा अपनाऔँ, अनि सुरक्षित स्वास्थ्यकर्मी नै सक्षम अस्पतालको आधार बनौँ!