काठमाडौं - औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालि काठमाडौंले उत्पादन गरेको सेटोफेन औषधिको बिक्रि वितरण तत्काल रोक्न निर्देशन दिएको छ।
विभागले एक सूचना जारी गरी लोमसको सेटोफेन (पारासिटामोल ट्याबलेट) को ब्याच नम्बर सिटी–२७२३ औषधि न्यून गुणस्तरको भएको भन्दै तत्काल बिक्रि वितरण रोक्न निर्देशन दिएको हो।
बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त ब्याचको आषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ।
सो ब्याचको औषधि बजारबाट तत्काल फिर्ता गर्न पनि विभागले उद्योगलाई निर्देशन दिएको छ। साथै यो औषधिको सिफारिस तथा सेवन नगर्न र नगराउन विभागले सबैमा आग्रह गरेको छ।
यसअघि हिजो मात्र विभागले न्यून गुणस्तरको औषधि भएको भन्दै क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाले उत्पादन गरेको रेक्सामोल औषधि पनि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको थियो।