काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतम र मानसिक स्वास्थ्य सेवामा कार्यरत सरकारी तथा साझेदार संस्थाबीच छलफल भएको छ।
मन्त्रालयमा भएको छलफलमा १४ वर्ष मुनिका किशोर किशोरीको मानसिक स्वास्थ्य समस्या रोकथामका लागि स्कुल मेन्टल हेल्थ प्रोगामको विकास गरी लागु गर्ने तयारीका विषयमा छलफल भएको हो। साथै सोसियल इमोसनल लर्निङ्गमा आधारित कार्यक्रम चलाउने विषयमा पनि छलफल भएको छ।
मनोपरामर्शको लागि डिजिटल माध्यमलाई प्रभावकारी रुपमा प्रयोग गर्ने, दुर चिकित्सा सेवालाई प्रभावकारी बनाउने, स्थानीय तहमा एक जना मनोसामाजिक कार्यकर्ता परिचालनका लागि पहल गर्ने, मानसिक स्वास्थ्यका औषधिहरु स्थानीयस्तरसम्म पुर्याउन सहजीकरण गर्ने विषय पनि छलफलमा उठेको छ।
स्वास्थ्य मन्त्रीले जेन्जी आन्दोलन पश्चात संघीय अस्पतालहरुमा स्थापना भएको साइकोलोजीकल हेल्प डेस्कको निरन्तरता आफ्नो प्राथमिकतामा रहेको बताए।
छलफलमा जिल्लास्थित अस्पतालमा मानसिक स्वास्थ्य सेवालाई सुदृढ गर्न पहल गनुपर्ने, राष्ट्रिय मानसिक स्वास्थ्य रणनीतिको आगामी पहलहरु निर्धारण गर्ने, मानसिक अस्पताल पाटनलाई राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्रको रुपमा रुपान्तरण गर्ने, मानसिक स्वास्थ्य सर्वेक्षण गर्ने, डिसेम्बर १० देखि फेब्रुअरी १४ सम्म मानसिक स्वास्थ्य अभियान सञ्चालन गर्ने लगायत विषयमा पनि छलफल भएको छ।