काठमाडौं- चिकित्सा शिक्षा आयोगको बैठक बस्दैछ। तोकिएको समय भन्दा केही ढिलोगरी सुरु हुन लागेको बैठकले आवासीय चिकित्सकको समस्या समाधानका लागि उपयुक्त निर्णय लिने बुझिएको छ।
आयोगका एक सदस्यका अनुसार यसअघि निर्णय गरिएको ४८ हजार निर्वाह भत्ता कार्यान्वयनका लागि थप निर्णय लिइनेछ।
निजी मेडिकल कलेजले उक्त निर्णय कार्यान्वयन गर्न नमानेपछि आवासीय चिकित्सक आन्दोलित छन्। केही दिनदेखि काम छाडेर प्रदर्शनमा उत्रिएका उनीहरुको माग सम्बोधन गर्न आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राख्न निर्देशन दिएको बुझिएको छ।
निजी मेडिकल कलेजले पीजीको सिट संख्या बढाइदिएमा उक्त निर्णय कार्यान्वयन गर्न सकिने शर्त राखेका छन्। उनीहरुले एमबीबीएसमा समेत सिट संख्या बढाउनुपर्ने समेत बताउँदै आएका छन्।
तत्कालका लागि पीजी सिट संख्या थपेर समस्या समाधान गर्ने पक्षमा प्रधानमन्त्री तथा आयोगका अध्यक्ष ओली रहेको बुझिएको छ।