काठमाडौं- स्वास्थ्य सचिवमा बन्न नपाएपछि वरिष्ठताको विषयलाई लिएर अतिरिक्त सचिव डा संगिता कौशल मिश्राले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्। आफू वरिष्ठ रहेको दाबी गर्दै उनले 'वरिष्ठता' मिचेर डा विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गरेको बताएकी छिन्।
सोही विषयलाई लिएर उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको राजीनामा समेत मागेकी उनी आफैं भने पटक-पटक वरिष्ठहरुलाई पन्छाउँदै जिम्मेवारी प्राप्त गर्ने कर्मचारीका रुपमा पर्छिन्।
डा मिश्राले योग्यहरु सिफारिस गर्दा क्रमसंख्यामा नं १ मा राखिएको नामको आधार बनाएर आफू वरिष्ठ रहेको दाबी गरेकी छिन्। उनको दाबीलाई आधार बनाउने हो भने उनी १२औं तहको अतिरिक्त सचिव (तत्कालिन समयमा प्रमुख विशेषज्ञ भनिन्थ्यो) मा वरिष्ठता मिचेरै बढुवा भएकी हुन्।
डा संगीतालाई २०७९ असार २१ गते बसेको मन्त्रिपरिषदको बैठकले १२औं तहमा बढुवा गर्ने निर्णय गरेको थियो। तत्कालिन समयमा १२औं तहमा रिक्त रहेको एक पदका लागि दुई जनाको नाम सिफारिस भएको थियो। ती दुई जनामा उनी क्रमसंख्या २ मा सिफारिस भएकी थिइन्।
बढुवा समितिले २०७९ असार १४ गते १२औं तहका लागि बढुवा गर्न भन्दै सिफारिस गर्दा क्रमसंख्या १ मा डा टंक बाराकोटी र क्रमसंख्या २ मा डा संगीताको नाम राखेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उपलब्ध गराएको विवरण अनुसार बढुवा समितिले १४ गते गरेको सिफारिसका आधारमा स्वास्थ्य मन्त्रालयले असार १७ गते मन्त्रिपरिषदको बैठकमा १२औं तहका लागि नियुक्तिको प्रस्ताव गरेको थियो।
'स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बढुवा समितिको मिति २०७९असार १४ गतेको निर्णयले नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तह, प्रमुख विशेषज्ञ रिक्त पद संख्या १ (एक) मा सिफारिस भएका देहायमा उल्लेखित दुईजना उम्मेदवारहरु (१. डा टंक प्रसाद बाराकोटी, २. डा संगीता कौशल मिश्रा) मध्येबाट नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ को उपदफा (२) बमोजिम एकजना उम्मेदवारलाई बढुवा नियुक्ति गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तर्गत पदस्थापन गर्ने,' मन्त्रिपरिषदमा गरिएको प्रस्तावमा भनिएको छ।
हेरौं तत्कालिन समयमा गरिएको सिफारिस

मन्त्रिपरिषदले तत्कालिन समयमा सिफारिसको क्रमसंख्या २ मा रहेकी डा संगीतालाई १२औं तहमा बढुवा गरेको थियो।
वरिष्ठलाई हटाउँदै महानिर्देशक
पहिलो नम्बरमा रहेका डा बारकोटीलाई पन्छाउँदै १२औं तहमा बढुवा भएकी डा संगीताले मन्त्रालयका जिम्मेवारीमा समेत आफू भन्दा वरिष्ठ कर्मचारीलाई प्रतिस्थापन गरेकी थिइन्।
१२औं तहमा बढुवा भएदेखि नै डा संगीताले स्वास्थ्य सेवा विभागको महानिर्देशक हुन लागिपरेकी थिइन्। महानिर्देशकमा उनीभन्दा वरिष्ठ कर्मचारी डा दीपेन्द्ररमण सिंह थिए। तत्कालिन समयमा छिटो-छिटो मन्त्रीहरुको हेरफेर भएका कारण उनले सोचेजति छिटो महानिर्देशकको जिम्मेवारी भने पाउन सकेकी थिइन्।
स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत आएपछि उनले आफूभन्दा विरष्ठ रहेका डा सिंहलाई हटाउन लगाउँदै महानिर्देशकको जिम्मेवारी लिएकी थिइन्। मन्त्री बस्नेतलाई उनलाई २०८० को भदौ १३ गते महानिर्देशकको जिम्मेवारी दिएका हुन्। डा संगीता महानिर्देशक भएपछि डा सिंहलाई मन्त्रालयमा तानिएको थियो।