काठमाडौं- वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया 'कक्लिअर इम्प्लान्ट' सुरु भएको छ। अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ तथा कक्लिएर इम्प्लान्ट सर्जन डा रविभूषण सुवालको टिमले उक्त अप्रेसन गरेको हो।
सुरुवातमा दुई जना वयष्क बिरामीमा गरिएको डा सुवालले जानकारी दिए। उनका अनुसार उनीहरुको पछि कान सुन्ने क्षमतामा ह्रास आएको थियो। जसको विकल्पमा सुनाइ मेसिन प्रयोग गरिएपनि लाभ नभएपछि कक्लिएर प्रत्यारोपण गरिएको हो।
डा सुवालले भने, 'यो एउटा उपकरण हो, जुन कानको भित्री भाग कक्लिएरमा प्रत्यारोपण गरिन्छ।'
उनका अनुसार जन्मजात कान नसुन्ने र ठूलो मान्छेकफ श्रवण यन्त्रमा समस्या आएर मेसिनबाट समेभ लाभ नभएपछि कक्लिअर इम्प्लान्ट गरिन्छ।
एउटा कक्लिएर इम्प्लान्टको १३ लाख रुपैयाँसम्म पर्ने गर्दछ। नेपाल सरकारले ५० प्रतिशत अर्थात् ६ लाख रुपैयाँ इम्प्लान्टको र ५० हजार बराबरको स्पिच थेरापी सेवा दिने गरेको छ।
अर्को हप्ता थप दुईजनाको गर्ने तयारी भइरहेको डा सुवालले बताए।
प्रत्यारोपण गरिएको कक्लिअर मेसिन र बिरामीको शारीरिक प्रतिक्रिया सकारात्मक रहेको उपचारमा डा सुवालले बताए।

कक्लियर इम्प्लान्ट के हो ?
कक्लियर इम्प्लान्ट मानव कानले जस्तै सुनाईको काम गर्ने एक आधुनिक यन्त्र हो, जसको प्रयोगबाट कान पटक्कै नसुन्ने व्यक्तिलाई सुन्न सक्ने बनाउन सकिन्छ। कक्लियर इम्प्लान्टको दुई वटा भाग हुन्छन्। एउटा भाग शल्यक्रिया गरेर कानको पछाडि छालाभित्र हड्डीमै जडान गरी तार युक्त ईलेक्ट्रोडलाई कानको भित्री भाग कक्लियामा राखिन्छ।
अर्को भागलाई स्पीच प्रोसेसर भनिन्छ, जुन छालाबाहिर रहन्छ र चुम्बकद्वारा भित्री भागसँग जोडिन्छ। बाहिर जडान गरिएको भागमा माइक्रोफोन हुन्छ जसबाटट वातावरणको आवाज स्पीच प्रोसेसर सम्म पुग्दछ।
स्पीच प्रोसेसरबाट विभिन्न ध्वनि शक्तिलाई विभाजित गरी भित्र जडान गरिएको इम्प्लान्टमा रेडियोफ्रिक्वेन्सी सिग्नलवाट पठाइन्छ। यसरी आएका ध्वनी शक्ति भित्र जडान गरिएको इम्प्लान्टबाट ईलेक्ट्रीकल शक्तिमा परिणत हुन्छ। जुन कक्लियामा राखिएको ईलेक्ट्रोडसम्म पुग्दछ।
त्यहाँबाट यी विद्यूतिय सूचना कक्लियर नर्भ नामक नशा मार्फत दिमागसम्म पुग्दछ र आवाज सुनिन्छ। यसरी कक्लिएर इम्प्लान्टले कानको बिग्रिसकेको भित्री कक्लियालाई बाइपास गरी आवाजलाई दिमागसम्म पुर्याउने काम गर्छ।