काठमाडौं– सरकारद्वारा खोजी भइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारलाई खुला चुनौती दिएका छन्।
राजावादी आन्दोलनमा कमान्डर तोकेर आन्दोलनलाई भड्काउने र हिंसात्मक बनाउने भूमिका खेलेको आरोपमा सरकारले उनलाई खोजी गरिरहेको बेला उनले सरकारलाई २४ घन्टाभित्र आफू र पूर्वराजा ज्ञानेन्द्रलाई थुन्न चुनौती दिएका हुन्।
प्रसाईंले सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गर्दै सरकारले राजावादी आन्दोलन दबाउन खोजेको आरोप लगाए। उनले भने, ‘सरकारले हिम्मत छ भने २४ घन्टाभित्र मलाई र राजालाई गिरफ्तार गरेर देखाओस्।’
सरकारले आन्दोलनलाई उग्र बनाउन प्रसाईंको संलग्नता रहेको दाबी गर्दै उनीविरुद्ध कानूनी प्रक्रिया अघि बढाएको छ। यसैक्रममा सुरक्षा निकायले उनको खोजी तीव्र बनाएको छ।
प्रसाईंले आफू सुरक्षित बसेको जानकारी पनि भिडियो मार्फत दिएका छन्।
'म भागेको छैन, भाग्दिनँ। पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन । मलाई गोञ्जालो बनाएर दबाउन खोजिएको छ। त्यसैले सुरक्षितमात्रै बसेको हो। प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ । म भाग्दिनँ । बरु तपाईंहरुकै अगाडि मर्छु,' उनले भनेका छन्।
उनले प्रहरीसँग क्षमा पनि मागेका छन्। 'म सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर भित्र पसेको हो। प्रहरीप्रति दुश्मनी होइन। पर्न गएको चोटमा क्षमा चाहन्छु,' उनले भने।