भरतपुर अस्पतालको अध्यक्षका रुमाप २७ महिनादेखि मैले काम गरिरहेको छु । २०१३ सालमा १५ बेडबाट सुरु भएको अस्पताल अहिले ६०० बेडमा सञ्चालित छ। करिब १५० बेड सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बजेट प्राप्त हुने गरेको छ। बाँकी ४५० बेडका लागि आवश्यक स्रोतसाधनका लागि आवश्यक खर्च अस्पताल विकास समितिले नै बेहोर्ने गरेको छ।
अस्पताल विकास समिति अन्तर्गतका केही कर्मचारीहरु करारमा हुनुहुन्छ। केही ज्यालादारीमा हुनुहुन्छ। हामीले सबैलाई करारमा लैजाने प्रयत्न गर्यौं तर मन्त्रालयबाट स्वीकृत भएर आउनुपर्ने भएकाले सबैलाई करारमा लैजान सकेका छैनौं । भरतपुर अस्पतालमा काम गर्ने जति पनि कर्मचारी (पाँच वर्ष पूरा गरेका) छन्, उहाँहरुको तलबबाट १० प्रतिशत र अस्पतालले विकास समितिले २१ प्रतिशत थपेर सामाजिक सुरक्षा कोषमा लगेका छौं । जसले गर्दा उहाँहरुको भविष्यका लागि केही सहज हुनेछ । यो नेपालका अस्पतालहरुका लागि नयाँ कुरा हो। अहिले धेरै साथीहरु बीचमै विदेश जाने क्रम चलिरहेको छ। त्यसैले पाँच वर्षलाई बेन्चमार्क बनाएका छौं । त्यसैगरी अस्पतालको सफाइकर्मी हुनुहुन्छ, उहाँहरुलाई हामी आफैंले भर्ना गर्दैनौं । बाहिरबाट लिने गरिएको छ तर उहाँहरुको कम्पनीलाई पनि हामीले अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न भनेका छौं । नगर्ने हो भने हामीले सम्झौता खारेज गर्ने भनेका छौं । यो पनि नयाँ सुरुवात हो।
समग्र रुपमा भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र अध्यन/अध्यापन, अनुसन्धान र यहाँ काम गर्नेहरुलाई प्रोत्साहन सँगसँगै अघि बढाएका छौं । सामाजिक सुरक्षासँगै विकास समिति भत्ता दिएका छौं र बीचमा हामीले बीमाको पनि भत्ता दिएका थियौं । तर, अहिले बीमाको रकम केही ढिलोगरी भुक्तानी हुने गरेकाले रोकिएको छ। सकेसम्म यहाँ बस्ने र काम गर्नेलाई परिश्रमको फल दिनुपर्छ भन्ने लागेर हामीले यस्तो व्यवस्था गरेका हौं।
म अस्पताल आउनुअघि जुन अवस्थामा अस्पतालबाट सेवा दिइरहेका थियौं, अहिले जुन अवस्थामा दिइरहेका छौं, त्यो सबैले तुलना गर्ने मिल्नेगरी सुधार भएको छ । यसका लागि यहाँ कार्यरत सबै डाक्टर, नर्स, कर्मचारी, यहाँसम्म ल्याइपुर्यायउने सम्पूर्ण पूर्वअध्यक्ष मेसुलगायत सबैप्रति आभार प्रकट गर्न चाहन्छु।
हामीले कामको गति बढाएका छौं । भौतिक पूर्वाधार नभइ गुणस्तरीय सेवा दिन सकिदैन। प्राथमिकता भौतिक पूर्वाधारलाई दियौं। त्यो सम्पन्न भइसकेपछि त्यहाँबाट प्रदान गरिने सेवाको गुणस्तर वृद्धिका लागि लागिपरेका छौं। सेवा मात्रै होइन, अस्पतालका लागि सफाइ र सौन्दर्य पनि उत्तिकै जरुरी हुन्छ। यहाँ छिर्नेबित्तिकै आनन्द आउने पानीको पोहरा, गार्डेनिङदेखि बच्चाको खेलपार्कसम्ममा ध्यान दिएका छौं । सँगसँगै ठूलाठूला बिल्डिङ निर्माण गरेका छौं । त्योभित्र राख्ने अत्याधुनिक उपकरणहरुको बन्दोबस्त गरिएको छ। कति पुरानो उपकरणका ठाउँमा पछिल्लो समय विश्वको चिकित्सा जगतले विकास गरेका प्रविधिहरु ल्याइएको छ। ती उपकरण-मेसिन चलाउने दक्ष जनशक्ति पनि विकास समितिले नै राखेको छ। भौतिक पूर्वधार, उपकरण र जनशक्ति सबै कुरामा उत्तिकै सन्तुलन मिलाएर अघि बढिरहेका छौं।
बिरामीको चापअनुसार चिकित्सक, नर्स अनुपात मिल्नेगरी कर्मचारी व्यवस्था गरेका छौं। अहिले धेरै ठाउँबाट भरतपुर अस्पताल घुम्न आउनुहुन्छ। यहाँको परिवर्तित अवस्था देखेर उहाँहरुले अनुभव सुनाइदिन भन्नुहुन्छ । कसरी स्रोत जुटाउने र व्यवस्थापन गर्ने भनेर जिज्ञासा राख्नुहुन्छ।
स्रोतको कुरा गर्दा हामीले यहीँ राम्रो सेवा दिन थाल्यौं र सेवाप्रति आकर्षण बढाउन थाल्यौं । त्यही सेवाबाट प्राप्त स्रोतलाई हामीले उचित ढंगले परिचालित गरेका हौं। अस्पतालकै कोष प्रयोग गरेर यी दुई वर्षमा ६ करोड १० लाख रुपैयाँ हामीले ब्याज प्राप्त गरेका छौं । आवश्यक परे झिक्ने र नपर्दा फेरि राख्ने गरेकाले उक्त आम्दानी भएको हो।
हामीले यी दुई वर्षमा पूँजीगत खर्च (भौतिक पूर्वाधार र उपकरणमा) ५० करोड विकास समितिबाट गरेका छौं । विगतमा दुई वर्षमा बीमाबाट धेरै सेवा दिने अस्पतालमा प्रथम भइरहेका छौं । अघिल्लो आर्थिक वर्षमा ५२ लाख ४० करोड रुपैयाँ र गत वर्ष ५६ करोड ६० लाख रुपैयाँ बीमा सेवा दिएका छौं भने यो वर्ष हामी ४० करोड हाराहारीमा पैसा आइसकेको छ । भुक्तानी बाँकी रकम ५० करोड नाघिसकेको छ।
नयाँ सेवाको कुरा गर्दा यही साउनबाट एमआरआई सञ्चालनमा ल्याएका छौं। एक महिनाभित्रमा क्याथल्याब सञ्चालन गर्दैछौं। चितवन जिल्ला र यहाँ २० भन्दा बढीबाट बिरामी आउँछन् । हामीले एनआइसीयु, पीआइसीयु र आइसीयुका बेडहरु बढाएका छौं । जुन अस्पताल विकास समितिकै स्रोतबाट हुन्। त्यस्तै विभिन्न संघसंस्थाको सहयोगमा डायलासिसका लागि बेड र मेसिन पनि थपेका छौं।
अहिले ट्रमा सेन्टर बनिरहेको छ, त्यो करिब १८ करोडको लगानीमा बनिरहेको हो । रोटरीसँगको सहकार्यमा स्पाइनल इन्जुरी सेन्टर बनिरहेको छ। यी यावत् भौतिक पूर्वाधार बन्दै गर्दा त्यहाँ आवश्यक बेड तथा उपकरणका लागि संघीय सरकारको सहयोग चाहिन्छ। अस्पताललाई सरकारले १० वर्षअघि जुन बजेट दिने गरेको थियो, अहिले पनि उस्तै छ । विस्तार किड्नी ट्रान्सप्लान्ट गर्ने योजना छ । ट्रमा सेन्टर बन्दैछ । त्यसका लागि संघीय सरकारले सहयोग गर्ने अपेक्षा छ।
शैक्षिक गतिबिधितर्फ अहिले बीएस्सी नर्सिङ र बीएनएस पढाइ भइरहेको छ। मिडवाइफ्री पनि एक ब्याच पढाइ भइरहेको छ। एमडी/एमएस गर्नका लागि अब आउने वर्षका लागि फ्याकल्टी प्रशस्त मात्रामा पाएका छौं। अझै केही फ्याकल्टी पाउन बाँकी छ।तर, सुरु गर्न अप्ठ्यारो पर्दैन । केही समयअघि मात्रै एकैचोटी करिब ८ जना एशोसिएट, १६ जना असिस्टेन्ट प्रोफेसर हामीले भित्र्याएका छौं । त्यसले गर्दा अबको दिनमा एमडी, एमएस र नर्सिङ हामी राम्रोसँग चलाउन सक्छौं ।
एमबीबीएस अध्ययन/अध्यापनका लागि लागि केही मेसो नमिलेको हो। राप्ति र मधेश प्रतिष्ठानसँगै वीर अस्पताल र भरतपुरमा एमबीबीएस पठनपाठन गर्ने कुरा थियो। केही प्राविधिक कुराका कारण सम्भव भएन । आगामी वर्षबाट एमबीबीएस अघि बढाउन आफ्नो तर्फबाट पहल जारी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल सकारात्मक हुनुहुन्छ। चाँडै सम्भव हुने अपेक्षा छ।
हामी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आंगिक कलेज भएका छौं। यसलाई अझै बलियो बनाउने उपकुलपति डा भुपेन्द्र बस्नेत र रजिस्ट्रा डा लोचन कार्कीलगायत सकारात्मक हुनुहुन्छ। आगामी दिनमा न्याम्सबाट पनि राम्रो सहयोग प्राप्त हुने आशा छ।
अर्को हामीले यहाँ यति धेरै गतिबधि गरेका छौं । बिरामीहरु यति धेरै छन् । त्यसैले अनुसन्धान पनि जरुरी हुन्छ । त्यसलाई बलियो बनाउँदै लगेका छौं । अस्पतालकै जर्नल निकाल्ने तयारी गरेका छौं । यही वार्षिकोत्सवदेखि पहिलो अंक विमोचन हुँदैछ।
(वार्षिकोत्सवका अवसर अध्यक्ष पौडेलसँग गरिएको संवादको सम्पादित अंश)