काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा उपसमिति गठन गरेको छ। राष्ट्रिय जनस्वास्थ्य समिति मातहतका ८ वटा विभिन्न उप-समितिको गठन (काम, कर्तव्य र अधिकारसहित) गठन गरेको हो।
जनस्वास्थ्य सेवा ऐन, २०७४ को दफा ३१ को उपदफा (२) मा समितिको काम, कर्तव्य र अधिकारमा समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्ने व्यवस्था गरिएको छ। सोही ऐनको दफा ५० को उपदफा (२) बमोजिम उपसमिति गठन गरिएको मन्त्रालयले जनाएको छ।
महामारी, स्वास्थ्य सुरक्षा तथा आपतकालिन व्यवस्थापन उपसमितिको अध्यक्षमा डा शुशिल कोइराला नियुक्त भएका छन्। उक्त उपःसमितिको विज्ञमा डा झविन्द्र भण्डारी र डा अनूप सुवेदी रहेका छन्।
यसैगरी मानसिक स्वास्थ्य, लागु पदार्थ तथा पत्र उपसिमितिको अध्यक्ष डा विनोद कंडेल रहेका छन् भने उपसमिति विज्ञमा डा विनोद घिमिरे र डा रविन बस्नेत नियुक्त भएका छन्। पोषण, खाद्य सुरक्षा तथा विषादी नियन्त्रण उपसमितिमा राजन पौडेल अध्यक्ष, सुमित बोहोरा र संगीता कार्की
कुँवर विज्ञ छन्।
जलवायु अनुकुलन, वातावरण, खानेपानी तथा सरसफाई उपसमितिको अध्यक्ष डा अभिमन्यु झा रहेका छन् भने सदस्यमा युविन कुमार यादव र रजनी मल्ल विज्ञ छन्। सडक दुर्घटना न्यूनीकरण तथा पूर्व अस्पताल व्यवस्थापन उपसमितिको अध्यक्ष भगवती सेढाइ रहेकी छिन् भने विज्ञमा पुष्प राज खनिया र डा राकेश शाह छन्।
औषधी तथा प्रविधिजन्य स्वास्थ्य सामग्री व्यवस्थापन उपसमितिमा डा रमेश पौडेल अध्यक्ष, विज्ञमा डा पवनकुमार हमाल र सन्तुष्ट अधिकारी विज्ञ छन्। औषधीजन्य वनस्पति विकास तथा दीगो उपयोग समिति अध्यक्षमा डा राजेन्द्र ज्ञवाली रहेका छन् भने विज्ञमा डा श्याममणि अधिकारी र विष्णु प्रसाद भट्टराई छन्। जनसंख्या, श्रम आप्रवासन स्वास्थ्य उपसमितिमा डा रितु आमात्य अध्यक्ष रहेकी छिन् भने अस्मिन सिटौला र मनोर दिन सैयद सदस्य छन्।
उपसमितिको काम, कर्तव्य र अधिकारमा जनस्वास्थ्यका विभिन्न आयामहरूमा अध्ययन, विज्ञ परामर्श, सरोकारवालाहरूबीच छलफल चलाइ अन्तर निकायगत कार्ययोजना बनाई लागु गर्न राष्ट्रिय जनस्वास्थ्य समिति समक्ष पेश गर्ने रहेको छ।