लण्डन– बेलायतमा फेरि एक नेपालीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ। लण्डन सहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो।
उपचारका क्रममा रेडिङको अस्पतालमा उनको निधन भएको समाजसेवी कमल गुरुङले बताएका छन्। दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकले अब ठीक हुँदैछ भनेर भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा मृत्यु भएको कमल गुरुङको भनाइ छ ।
कास्कीको घान्द्रुक घर भएका उनको पछिल्लो समय पोखराको दीपमा पनि घर थियो। घान्द्रुक समाज रेडिङमा समेत उनी केही वर्ष पहिला अध्यक्ष थिए । कमलका अनुसार धुमपान र मद्यपान केही नगर्ने लक्षिणबहादुरको स्वास्थ्यसमेत निकै राम्रो थियो । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली ९ पुगेका छन् । तीमध्ये छ जना पूर्वगोरखा सैनिक छन्। रासस