काठमाडौं- सरकारले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याको रोकथाम, पहिचान र व्यवस्थापन गर्ने निर्णय गरेको छ।
कोरोनाको महामारीपछि मानसिक समस्या बढेको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आम समुदाय, क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिहरुको मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याको रोकथाम, पहिचान र व्यवस्थापन गर्ने निर्णय गरेको हो।
सरकारी, गैर–सरकारी क्षेत्रले हाल गरिरहेका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने महाशाखाले जनाएको छ। आधारभूत मानसिक स्वास्थ्य सेवाको सुनिश्चितताका लागि प्रदेशमा थप बजेटको व्यवस्था गर्न आवश्यक प्रक्रिया समेत सुरु गरिने महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फणिन्द्र बरालले बताए।
विशिष्टकृत मानसिक स्वास्थ्य सेवा संघीय अस्पताल, प्रदेशमा रही संघ अन्तर्गत सञ्चालन हुने तेस्रो तहका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक स्वास्थ्य विशेषज्ञ, चिकित्सा मनोविद, अकुपेसनल थेरापिष्ट रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न सिफारिस गरिने महाशाखाले जनाएको छ।
यस्तै, आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि टेली मानसिक स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय भएको डा. बरालले जानकारी दिए। कोरोनाको महामारीपछि मानसिक समस्या बढेको भन्दै मानसिक अस्पताल लगनखेलले निशुल्क हटलाईन सेवा सञ्चालनको तयारी गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।