काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि टोमोथेरापी सेवा सुरु भएको एक वर्ष पुगेको छ। अस्पतालले गत वर्षको पुसमा भारतबाट आएका अनुभवी प्रविधिक टोलीको समन्वयमा सेवा सुरु गरेको थियो।
वीर बाहेक नेपालको कुनै सरकारी तथा निजी अस्पतालमा क्यान्सर उपचारका लागि यस्तो प्रकारको मेसिन नरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भुपेन्द्र भुपेन्द्र बस्नेत बताउँछन्। हाल वीर अस्पतालले डेढ लाखमा क्यान्सर बिरामीहरुका लागि टोमोथेरापी सेवा दिँदै आएको उनले जानकारी दिए। 'यो विश्वसँग तुलना गनुपर्दाे एकदमै सस्तो हो' उनले भने, 'छिमेकी मुलुक भारतमा पनि यही मेसिनबाट सेवा लिन कम्तीमा पनि ५ लाख भारतीय रुपैयाँ खर्च गर्नुपर्छ' उनले भने।
नियमित सेवा अन्तर्गत अस्पतालले एक वर्षमा ३ सयभन्दा बढी बिरामीलाई टोमोथेरापी मेसिनले सेवा दिएको डा बस्नेत बताउँछन्। उक्त सेवा लिने बिरामीले चैतसम्म पर्खनुपर्ने अवस्था भएपछि अस्पतालले नियमित सेवासँगै विस्तारित सेवा सुरु गर्न गइरहेको उनले जानकारी दिए। 'एक्सटेन्डेन्ट हेल्थ सेवाको सुरुवात पछि लामो समयसम्म लाइन कुनुपर्ने बाध्यता रहँदैन,' उनले भने, 'चाँडै एक्सटेन्डेन्ट सेवा सुरु हुने छ।'
अस्पतालमा टोमोथेरापी मेसिन राख्नका लागि दुई वटा बंकर तयारी अवस्थामा रहेको र मेसिन थप गर्नका लागि स्वास्थ्य मन्त्रालयसँग कुराकानी समेत भइरहेको डा बस्नेत बताउँछन्। दुई वटा मेसिन थप गर्न सकेमा लामो समयसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनेमा उनी आशावादी छन्।
टोमोथेरापी सेवाले विभिन्न उतारचढावका बीच एक वर्ष पार गरेको वीर अस्पतालका क्यान्सर विभाग प्रमुख डा विवेक आचार्य बताउँछन्। 'सेवालाई अझै विस्तार गर्दै छिटो बनाउनका लागि प्रशासन तथा स्वास्थ्य मन्त्रालयको सहयोग आवश्यक छ', डा आचार्यले भने। आवश्यक सहयोग भएमा सेवालाई दोब्बर बनाउन सकिने उनको दाबी छ।
अस्पतालले एक वर्षमा ३ सय २६ जनालाई टोमोथेरापी सेवा दिएको छ। जसमध्ये २ सय ४२ जना बिरामीहरुको उपचार सम्पन्न भइसकेको छ। हाल १७ बिरामीहरु उपचाररत रहेका छन्। अझै ४१ बिरामीहरुको रेडियसन थेरापी उपचार आवश्यक पर्ने अस्पतालको तथ्यांक छ। जम्मा बिरामीमध्ये १ सय ४४ जना निको हुने प्रकृतिका थिए, भने ९८ जना प्रसामक हेरचाहका बिरामी रहेका थिए।
टोमोथेरापी मेसिनले दिने सीमित सेवा तथा एक मात्रै मेसिन भएकोले दैनिक २०,२५ जनाले मात्रै सेवा पाउने गरेको तथा पर्खनुपर्ने अवस्था छ। यद्यपि अस्पताल चाँँडै एक्सटेन्ट हेल्थ सर्भिस सुरुवात गर्ने योजना बनाएको जसले थप दैनिक २० देखि २५ बिरामीलाई सेवा दिन सकिने अस्पतालका निर्देशक डा सन्तोष पौडेल बताउँछन्। अस्पतालमा टोमोथेरापी मेसिन थप गर्न आफूले पटक पटक पत्राचार गरेको निर्देशक डा पौडेल बताउँछन्। पटक पटकको प्रयासमा पनि हालसम्म मेसिन थप्नका लागि बजेट ल्याउन नसकेको उनले जानकारी दिए।
के हो टोमोथेरापी?
टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि हो। टोमोथेरापीमा विकीरण (रेडिएसन) का माध्यमबाट त्रीआयामिक रुपमा क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ। हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ (सिटी) स्क्यानरले रौं बराबर पनि फरक नपर्ने गरी ठ्याक्कै क्यान्सरग्रस्त कोषमा रेडिएसन दिनुका साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी त्यसै अनुरुप रेडिएसन सुनिश्चित गर्छ।
टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा रेडिएसनको प्रभाव पर्दैन। त्यसैले रेडियोथेरापीको तुलनामा टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून हुने चिकित्कसहरु बताउँछन्। सिटी स्क्यान जस्तै टोमोथेरापी उपकरण चौडा, खुला र गोलाकार भएकाले बिरामीले सजिलोसँग सुतेर उपचार गर्न सक्छन्।
टोमोथेरापीमा ३६० डिग्रीबाट बिरामीको शरीरमा जहाँसुकै पनि सहज उपचार गर्न सकिन्छ। टोमोले हजारौं ससाना रेडिएसन प्रयोग गर्ने हुँदा जति मात्रा आवश्यक छ त्यति मात्र र जस्तोसुकै कोणबाट पनि रेडिएसन दिएर उपचार गर्न सम्भव बनाउँछ।
टोमोथेरापीबाट रेडिएसन अंकोलोजिस्टहरूले धेरै प्रकारका क्यान्सर (सामान्य क्यान्सरदेखि जटिल क्यान्सरसम्म) को सहज र सफल उपचार गर्न सक्छन्। टोमोथेरापी मस्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर, टाउको, घाँटी र मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर (दुख्ने र सुन्निने ब्रेस्ट क्यान्सर समेत), फोक्सोको क्यान्सर, छालामा हुने क्यान्सरहरू, प्रोस्टेट क्यान्सर (सुरु अवस्थादेखि पूर्ण विकसित अवस्थासम्म), भोजन नली र पाचन प्रणालीका क्यान्सर, सर्भाइकल, ओभ्यारियन, भेजिनल तथा भल्भ र गर्भासय क्यान्सर, कोलोन, पेट, रेक्टल र एनल क्यान्सर, कलेजो र फियो क्यान्सर, शरीरका विभिन्न ठाउँमा भएका विस्तारित क्यान्सर, प्रत्यारोपणअघि गरिने रगतसम्बन्धी रोगको उपचार (जस्तैः ल्युकेमिया) लगायतको उपचारमा प्रयोग गर्न सकिन्छ।