काठमाडौं - कोरोनाको उपचारमा खटिए वापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलित बनेका छन्।
चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलित भएका हुन्।
अस्पतालका अस्थाई र करारका कर्मचारीले पनि साउनदेखि तलब नपाएको नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए।
उनले भने, ‘कोभिड भत्ता पाएका छैनौं। अन्य धेरै सेवा सुविधाबाट पनि बञ्चित गरिएको छ। अस्थाई र करारका कर्मचारीले साउनदेखि तलब पाएका छैनन्। हामीले पटक पटक भन्दा पनि उनीहरुले बेवास्ता गरिरहेका छन्।’
पटक पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै उनीहरुले अस्पतालका पदाधिकारीको राजीनामा माग गरेका छन्। उनीहरुले अस्पतालका न्याम्सका उपकुलपति, अस्पतालका डिन, निर्देशक, रजिष्ट्रार र रेक्टरको पदबाट राजीनामा माग गरेका हुन्।
आफ्ना माग पुरा नभएसम्म वा पुरा गर्न नसक्ने पदाधिकारीले पदबाट राजीनामा नदिएसम्म सोबारदेखि अस्पतालको सेवामा असर नपुग्ने गरी पदाधिकारी विरुद्धको आन्दोलन गर्ने उनीहरुले बताएका छन्। पदाधिकारीलाई दबाब दिनका लागि ब्यानर र पम्पलेट टाँस्ने, धर्ना दिने लगायतका कार्यक्रम गर्ने उनले बताए।
उनले भने, ‘अस्पतालका पदाधिकारीको काम कर्मचारीको हाजिरी मात्र चेक गर्नु होइन। अस्पतालका कर्मचारीलाई मिलाएर राख्ने, सेवा सुविधाको व्यवस्था मिलाउने, काम गर्ने वातावरण बनाउने हो। तर अहिलेका पदाधिकारीलाई कुर्चीको मात्र मतलब छ।’
आन्दोलित कर्मचारीहरुले आईतबार दिउँसो १ घण्टा अस्पतालका पदाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका थिए। तर वार्तामा बोलाएपछि उनीहरुले ताला खोलेका थिए। पौने एक घण्टा अस्पतालका पदाधिकारीहरुसँग छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएको आचार्यले बताए।
‘हामीलाई झुक्याउने काम भयो। वार्तामा बोलाएपछि हामीले ताल्चा खोलेका थियौं। तर पौने एक घण्टा भएको वार्तामा उनीहरुले कुनै निर्णय नै दिन सकेनन्। त्यसैले यी पदाधिकारीहरुले पदबाट राजीनामा दिनुपर्छ।’ उनले भने।
आफुहरुले पिपिई, मास्क लगायत सुरक्षा सामग्री नपाउँदा जोखिम मोलेर काम गर्न बाध्य भएको वीरका कर्मचारीहरुले गुनासो गर्दै आएका छन्।
आन्तरिक आय स्रोत अभावले भत्ता दिन सकेका छैनौ : डा केदार सेन्चुरी
अस्पतालको आन्तरिक आय स्रोत कमजोर हँुदा कर्मचारीहरुलाई कोभिड भत्ता लगायतका अन्य सुविधा उपलब्ध गराउन नसकिएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए। मन्त्रालयबाट पनि न्यून मात्रामा बजेट आएको र कोभिडका कारण सेवा लिने बिरामीको संख्यामा कमी आउँदा आन्तरिक आय स्रोत कमजोर भएको उनको भनाई छ।
उनले भने, ‘कोभिडका कारण सेवा लिन आउने बिरामीको संख्यामा कमी आएको छ। आन्तरिक आय स्रोतको अभाव छ। यस्तो विषम परिस्थितिमा भत्ता दिन हामीलाई गाह्रो छ।’
हाल कर्मचारीहरुलाई तलब दिन पनि समस्या भइरहेको उनले बताए। कोरोना हुनुअघि दैनिक १२ लाखको आम्दानी हुने गरेकोमा हाल १/२ लाख पनि नहुने उनले बताए।
मन्त्रालयले दिएको कोभिड भत्ता कर्मचारीलाई नदिई पिपिई, मास्क लगायत स्वास्थ्य सुरक्षाका सामग्री खरिदमा खर्च गरिएको उनी बताउँछन्।
उनले भने, ‘कोभिड भत्ता भनेर मन्त्रालयले केही बजेट दिएको थियो। तर कर्मचारीलाई भत्ता दिदा सबैलाई पुग्थेन। स्वास्थ्यकर्मीको सुरक्षाका लागि नै हामीले उनीहरुलाई भत्ता नदिईकन पिपिई लगायत सुरक्षाका साग्री खरिद गरेका हौं।’
आफुहरुले कोभिड भत्ता लगायतका लागि स्वास्थ्य मन्त्रालयसँग पहल गरेको निर्देशक सेन्चुरीले बताए। यद्यपि मन्त्रालयले वीर अस्पतालको मात्र नभई यो अन्य अस्पतालको पनि समस्या भएको बताउने गरेका कारण केही गर्न नसकिएको उनले बताए।
अस्पतालको आय स्रोत कमजोर हुँदा र मन्त्रालयले पनि न्यून मात्रामा बजेट दिएकाले कर्मचारीलाई तत्काल भत्ता उपलब्ध गराउन नसक्ने उनले बताए।