काठमाडौं - कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगाय सुविधा नदिएको भन्दै आन्दोलित बनेका कर्मचारीले सोमबार वीर अस्पतालमा धर्ना दिएका छन्।
अस्पतालका पदाधिकारी विरुद्धको आन्दोलन थालेका उनीहरुले बिहान १० देखि ११ बजेसम्म धर्ना दिएका हुन्। आन्दोलित कर्मचारीले अस्पतालको दुवै गेटमा कालो ब्यानर समेत टाँसेका थिए। आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन जारी रहने नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए।
चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलित छन्। अस्पतालका अस्थाई र करारका कर्मचारीले पनि साउनदेखि तलब नपाएको अध्यक्ष आचार्यले बताए।
पटक पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै उनीहरुले अस्पतालका न्याम्सका उपकुलपति, अस्पतालका डिन, निर्देशक, रजिष्ट्रार र रेक्टरको पदबाट राजीनामा माग गरेका हुन्।
आफुहरुले पिपिई, मास्क लगायत सुरक्षा सामग्री नपाउँदा जोखिम मोलेर काम गर्न बाध्य भएको वीरका कर्मचारीहरुले गुनासो गर्दै आएका छन्। अस्पतालको आन्तरिक आय स्रोत कमजोर हुँदा कर्मचारीहरुलाई कोभिड भत्ता लगायतका अन्य सुविधा उपलब्ध गराउन नसकिएको अस्पतालले जनाएको छ।