काठमाडौं- भक्तपुर क्यान्सर अस्पताल अब संघीय सरकार मातहत सञ्चालन हुने भएको छ। कात्तिक २४ गते मन्त्रिपरिषदको बैठकले भक्तपुर क्यान्सर अस्पताल संघीय सरकारले सञ्चालन गर्ने निर्णय गरेको थियो।
यसअघि भक्तपुर क्यान्सर अस्पताल नेपाल अर्बुद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको थियो। संस्थाको व्यवस्थापन र वैधानिकता माथि प्रश्न उठेपछि मन्त्रिपरिषदले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गर्ने निर्णय गरेको थियो।
निर्णय भएसँगै हाल अस्पताल सञ्चालनका लागि ११ सदस्यीय भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गरिएको छ। निर्देशकको नियुक्ति मात्र मन्त्रिपरिषदले गर्नेछ भने समितिको अध्यक्ष लगायत अन्य सदस्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियुक्त गर्ने अस्पतालका प्राडा ऋषिकेश नारायण श्रेष्ठले बताए।
उनले भने, ‘गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको अस्पताल अब संघीय सरकारले चलाउने निर्णय गरेको छ। यो संस्थाको व्यवस्थापन र वैधानिकतामाथि प्रश्न उठेपछि यस्तो निर्णय भएको हो।’
मन्त्रालयको १२औं तहको कर्मचारी समितिको अध्यक्ष र भक्तपुर नगरपालिकाको मेयर पदेन सदस्य हुने व्यवस्था गरिएको छ। अस्पतालका विज्ञहरु, जिल्ला अस्पताल भक्तपुरका मेडिकल सुपरिटेन्डेन्ट, नेपाल अर्बुद रोग निवारण संस्थाका तीन जना लगायत समितिको सदस्य हुने डा श्रेष्ठले जानकारी दिए।
संघीय सरकारले सञ्चालन गर्ने भएपछि अस्पतालको सेवा र विकास व्यवस्थित तरिकाले हुने उनले बताए। यसबाट क्यान्सरका बिरामी र अस्पतालका कर्मचारी सबैलाई फाइदा पुग्ने उनले बताए।
उनले भने, ‘अब भक्तपुर क्यान्सर अस्पताल पनि चितवनको बिपी कोइराला क्यान्सर अस्पताल जस्तै हुनेछ। अस्पतालको विकास हुन्छ। सरकारी शुल्कमा क्यान्सरका बिरामीले सेवा पाउँछन्।’
सरकारी शुल्कमा सेवा पाउने भएपछि क्यान्सरका बिरामीलाई फाइदा पुग्ने उनले बताए। यसअघि उक्त संस्थाको नियम अनुसार शुल्क निर्धारण गर्ने गरिएको उनले बताए। उनका अनुसार हाल भएका कर्मचारी विकास समिति अन्तर्गत रहनेछन्। तर अब भने लोकसेवाबाट मात्र कर्मचारी आउने व्यवस्था रहेको उनले बताए।
हालसम्म सरकारी जग्गामा गैरसरकारी संस्थाले कब्जा गरेको बताउँदै उनले भने, ‘बेवारिसे रुपमा सञ्चालन भइरहेको अस्पताललाई सरकारले व्यवस्थित बनाउन लागेको छ। यहाँका कर्मचारी पनि खुसी छन्। क्यान्सरका बिरामीले पनि सरकारी सरह सेवा पाउँछन्।’
भक्तपुुर क्यान्सर अस्पतालमा रेडियोथेरापी, केमोथेरापी, सर्जरी गरी सबै किसिमको क्यान्सरको उपचार हुने डा श्रेष्ठले बताए।
भक्तपुुर क्यान्सर अस्पतालमा दैनिक ५ सय बिरामीले सेवा लिँदै आएका छन् भने दैनिक ९ वटा क्यान्सरको निदान हुने गरेको छ। हाल यस अस्पतालमा २ सय ८० जना कर्मचारी छन्। बिरामीको उपचारका लागि १ सय ३८ शय्या रहेको अस्पतालले जनाएको छ।