२०८१ साल जेठ महिनाको एकदिन बिहान करिब साढे आठ बजेतिर बसबाट झरेर हिँड्दै स्वास्थ्य चौकी जाँदै थिएँ। कार्यालय खुल्न नियमित समय भन्दा डेढ घण्टा चाँडो थियो। तत्काल कार्यालय सहयोगीलाई फोन गरें । चाँडै ढोका खोल्न आग्रह गरेँ। र, म पनि छिटो-छिटो पुगें।
म त्यहाँ पुग्दा बिरामीलाई दुईतीन जनाले समातेर राखेका थिए । बिरामी बेहोश थिए। त्यसपछि छिटो बेडमा राखि भाइटल साइन लिँदै सोधपुछ गर्दा हिजो रातिदेखि योनीबाट रक्तश्राव भएको बताउनुभयो। लगाएको कपडा पनि पूरै रगतले लत्पतिएको थियो। ब्लड प्रेसर जम्मा ६०/४० थियो। नाडीको गति १२० प्रति मिनेट। छाला हेर्दा फुस्रो र चिसो थियो। उहाँको चारदेखि छ घण्टासम्म निरन्तर रुपमा योनीबाट रक्तश्राव भएर 'हाइपोभोलेमिक सक'मा गएको पाएँ।
तत्कालै नशाबाट आइभीफ्लुड र केही औषधि दिने तयारी गरेँ। जिल्ला अस्पतालको आकस्मिक कक्षमा काम गर्दाको मेरो अनुभवले म ढुक्क थिएँ कि सजिलैसँग नशा खोलेर औषधि हाल्छु र होश आउँछ। तर, पहिलो प्रयासमा नशा खोल्न असफल भएँ। त्यतिबेला एकजना गोमती महरा सिस्टर (सिनियर अनमी) आइपुग्नुभयो। अब अलि आशा आयो। उपचार गर्न सजिलो हुन्छ भन्ने लाग्यो र उहाँको सहयोगमा तेस्रो प्रयासमा नशा खोल्न सफल भएँ।
बिरामीको उमेर ३० वर्ष। महिनावारी रोकिएको लगभग १२ हप्ता जति थियो। त्यो भन्दा अगाडि ६ वटा छोरीहरु रहेछन्। शल्यक्रिया मार्फत् कान्छी छोरी जन्माएका रहेछन्। कुरा बुझ्दै जाँदा छोरा पाउनकै लागि कलिलो उमेरको महिलासँग उमेर ढल्केको करिब ७५ वर्षको पुरुषले दोस्रो विवाह गरेको रहेछ। पहिलेको श्रीमतीबाट ५ छोरी भएकै कारणले छोरा पाउने आशमा दोस्रो विवाह गरेको समेत थाहा भयो। फेरि छोरो पाउने आशामा तेस्रो गर्भ रहन गयो।
बिडम्वना त्यो पनि अत्याधिक रक्तश्रावका कारणले बच्चा त खेर गयो-गयो, झन्डै आमाको पनि ज्यान जाने अवस्था थियो। उक्त अवस्थालाई सुधार गर्न अथवा मातृ मृत्युबाट बचाउन स्वास्थ्य संस्थाका कर्मचारी साथीहरुको सहयोगमा प्रयास गरें। नशाबाट दुई बोतल आईभी फ्लुड र एक ग्राम ट्रानजेमिक एसिडलगायत लक्षण अनुसारको औषधि उपचार गरें। केही समयपछि अलि आँखा खोले जस्तै गरिन्। हलचल गर्न थालिन्। अब अलि आशा पलायो।
बेहोश अवस्थामा रहेको एकजना आमाको ज्यान जोगाउन सफल भएजस्तो अनुभुति हुन थाल्यो। सँगै आएका अभिभावकहरुको अनुहार पनि उज्यालो हुन लाग्यो। खुसी व्यक्त गर्न थाले। तर, अझै थप उपचार र जाँचका लागि ठूलो ठाउँ (जिल्ला अस्पताल)मा पठाउन आवश्यक थियो। सिस्टरलाई थप जाँचका लागि आग्रह गरे। जाँच पश्चात रक्तश्राव कम भएको पाएँ।
रगतले भिजेका कपडाहरु फेर्न लगाई प्याडको व्यवस्थापन गरियो। जिल्ला अस्पताल प्रेषण गर्ने तयारीको लागि एम्बुलेन्सलाई खबर गर्दा नगरपालिका र जिल्ला अस्पतालको एम्बुलेन्स धनगढी भएका कारणले वडा अध्यक्षज्यूलाई गाडीको व्यबस्थापनका लागि अनुरोध गरें। अध्यक्षज्यूले नगरपालिकाले प्रयोग गर्दै आएको गाडीलाई लागि खबर गर्नुभयो। केही बेरमा गाडी पनि आइपुग्यो। बिरामी होशमा पनि आयो।
रक्तश्राव पनि रोकियो। स्वास्थ्य चौकी प्रमुखको सहयोगमा बिरामीलाई जिल्ला अस्पताल दार्चुला पठायौं। तेस्रो दिन उक्त बिरामीको अवस्था बुझ्न जाँदा सामान्य सुधारोन्मुख थियो। 'केही ढिला भएको भए ज्यान जान सक्ने थियो' भनेर जिल्ला अस्पतालका डाक्टरसाबहरुले भनेको कुरा बिरामीका आफन्तले हामीलाई सुनाए। र, धन्यवाद ज्ञापन गरे।
अझै पनि धेरैजसो मानिसहरुमा स्वास्थ्य प्रतिको सचेतनामा कमी र परम्परागत उपचार पद्धतिमा अन्धविश्वास रहेको देखिन्छ। भौगोलिक बिकटता, आर्थिक र शैक्षिक अवस्था कमजोर र गुणस्तरिय स्वास्थ्य सेवाको कम पहुँच आदिले गर्दा मातृमृत्युदरमा उल्लेखनीय सुधार नभएको पाइन्छ। समग्रमा एकजना आमाको ज्यान जोगाउनमा म मात्रै नभई मलाई सहयोग गर्ने स्वास्थ्य चौकीका सम्पूर्ण सहकर्मीहरु, वडा अध्यक्षज्यू लगायत विरामीका आफन्तहरुलाई समेत विशेष धन्यवाद दिन चाहन्छु। हामी सम्पूर्णको सहयोगमा एकजना आमाको ज्यान बचाउन सफल भएको अनुभव प्रस्तुत गर्न पाउने अवसर पाएकोमा म झनै आभारी छु।
(लेखक स्वास्थ्य चौकी दत्तुका सिअहेव हुन्।)