काठमाडौं - प्रत्येक वर्ष १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिने गरेको तथ्यांक सार्वजनिक भएको छ। विश्व अल्जाइमर दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको आयोजनामा भएको एक कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।
विश्व स्वास्थ्य संगठनकाअनुसार हाल विश्वभर ५ करोड ५० लाख मानिसहरु डिमेन्सिया रोगबाट प्रभावित छन्। जसमध्ये अल्जाइमर रोगले सबैभन्दा बढीलाई प्रभावित गरेको तथ्यांक छ। प्रत्येक वर्ष करिब १ करोड नयाँ डिमेन्सियाका बिरामीहरु थपिन्छन् भने यो संख्या २०५० सम्म दोब्बर हुने अनुमान गरिएको छ।
नेपालमा वृद्ध जनसख्याको वृद्धिसँगै डिमेन्सिया रोग, विशेष गरी अल्जाइमर महत्वपूर्ण चुनौती रूपमा देखा परेको छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७० अनुसार ज्येष्ठ नागरिक मानसिक स्वास्थ्यका लागि अल्जाइमर लगायतका तथा अन्य मानसिक समस्या पहिचान तथा व्यवस्थापन गरि सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्ने रणनीति लिएको छ।
‘अबको आवश्यकता :अल्जाइमर तथा डिमेन्सियामा क्रियाशिलता’ भन्ने मूल नाराका साथ ३१ औं विश्व अल्जाइमर तथा डिमेन्सिया दिवस शनिबार मनाइँदैछ।
नियन्त्रणमा सरकारी प्रयास
मानसिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार, नेपालका ६० वर्षभन्दा माथिका करिब ७ प्रतिशत व्यक्ति कुनै न कुनै प्रकारको डिमेन्सियाबाट प्रभावित छन्।नेपाल सरकारले अल्जाइमर रोगलाई सम्बोधन गर्न केही प्रमुख नीतिगत सम्बोधन समेत गरिसकेको छ ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विपन नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत अल्जाइमर रोगको लागि १ लाखसम्म उपचार सुविधा प्रदान गरिँदै आएको छ।
आगामी दिनमा अल्जाइमर लगाएतका अन्य डिमेन्सिया रोगलाई सम्बोधन गर्न डिमेन्सिया रोगको रोकथाम र जोखिम कम गर्न उपचार र स्याहारकर्ता वा परिवारलाई सहयोग र सहजीकरणलाई सम्बोधन गर्नुपर्ने हुन्छ। संघीय मन्त्रालय, प्रदेश, तथा स्थानीय तहसम्मको समन्वयात्मक लगानी र भुमीका आवश्यक रहेको हुँदा सबै निकायले आ(आफ्नो तहबाट प्राथमिकता तय गरी कार्यान्नवयनमा जान आवश्यक सरोकारवालाहरु बताउँछन्।