असारको महिना । गाउँमा कामको माचो थियो । मकै थन्क्याउने र धान रोप्ने चटारो सबैका घरमा थियो। असार सकिएर साउन लाग्नै लाग्दा झमझम पानी परिरहेको थियो । खिमा (खिमकला राना) बिहानै उठेर घरको काम भ्याउँदै थिइन्।
उनलाई असारे मेलो भ्याउनका लागि परेली घरमा काममा जानु थियो । बिहान साढे आठ बजेको हुँदो हो, उनको मोबाइलको रिङटोन बज्यो । हतार हतारिँदै उठाइन् । उताबाट आवाज आयो, ‘लौन खिमा मेरो त दबाइ मेटियो (सकियो), अस्पताल जान पाइनँ, के गर्ने होला ?’ खिमाले सरासर जवाफ फर्काइन्, ‘बहिनी प्रेसरको औषधि त छुटाउन हुन्न, तुरुन्तै स्वास्थ्य केन्द्र जानू, त्यहाँ औषधि छ ।’
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी महिला स्वास्थ्य स्वयंसेविका खिमकलालाई उनकै गाउँ सामरुम्टाकी ४५ वर्षीया नरमाया थापाले फोन गरेकी थिइन् । उनको रक्तचाप बढेपछि पहिलो पटक उनै खिमकलाको सल्लाहमा अस्पताल पुगेकी थिइन् । चिकित्सकले नियमित औषधि सेवनका लागि सिफारिस गरेपछि केही वर्षयता उच्च रक्तचापको औषधि खाँदै आएकी नरमायाको पहिलो चिकित्सक हुन् खिमा।
खिमा नरमाया मात्रै होइन, साविक कुश्मीशेरा गाउँ विकास समिति वडा नम्बर ५, हालको जैमिनी नगरपालिका–१ कुश्मीशेराको सामरुम्टा, सेरा बजार लगायतका गाउँकी ‘पहिलो चिकित्सक’ हुन् । गाउँघरमा देखापर्ने स–साना स्वास्थ्य समस्यादेखि दीर्घ रोगका प्रारम्भिक लक्षणहरु समेत सर्वसाधारण पहिले खिमालाई देखाउँछन् । उनीसँग सोधपुछ गर्छन् र उनैको सल्लाह अनुसार उपचारमा लाग्छन्।
खिमकला रानालाई गाउँले सबैले खिमा नामले चिन्छन् । खिमकलालाई खिमामा बदलेको महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारीले हो । अहिले सबैले दिदी–बहिनीको साइनोभन्दा अघिपछि खिमा राखेर बोलाउँछन्।
२०५३ साल असारबाट खिमा महिला स्वास्थ्य स्वयंसेविका बनेकी हुन् । पहिलो चरणमा आधारभूत तालिम लिएपछि उनले काम थालिन् । जनस्वास्थ्यका समस्यामा जुध्न खिमा अग्रपंक्तिमा बसेर काम गरिन् । कहिले खोप, कहिले पोलियो थोपा, जुकाको औषधि, हात्तीपाइले त कहिले सचेतनाका सन्देश सामग्री बोकेर घरघर पुग्ने खिमालाई धेरैले चिकित्सकको अर्को रुपले हेर्छन् । ‘धेरै दुःख गरियो, हिलो धुलो, उकाली–ओराली कहिलै भनिन्, काखमा दूधे बालक च्यापेर खटाएका ठाउँमा भनेको समयमा पुगेको अनुभव छ भाइ,’ पंक्तिकारसँग रानाले भनिन्, ‘अहिले त स्वास्थ्यकर्मी छन्, पहिले त स्वास्थ्यकर्मी देख्नै गाह्रो । हाम्ले केही भन्नै नसकी समस्या लिएर समेत आउँथे, सोधौं फोन थिएन । भेटेर सोध्ने बेलासम्म बिरामी बाँच्ने थिए । यस्ता कैयौं समस्याको सामना गरेकी छु।’
परिवार नियोजन, नसर्ने रोग, बालरोग, कुपोषण लगायतका विभिन्न जनस्वास्थ्यको विषयमा खिमाले धेरथोर बुझेकी छन् । आधारभूत तहको तालिम लिएकाले थप बुझ्न, खोज्न र बताउन सजिलो हुने गरेको उनको अनुभव छ।
‘खिमाको मिजास, मिठो मुस्कान र हक्की स्वभावकै कारण धेरैले विश्वास गर्छन्,’ वडा सदस्य चित्रप्रसाद चापागार्इं भन्छन्, ‘कठिन समय गुजारेर प्रविधिको युगमा अभ्यास गरिरहेकी स्वयंसेविका हुन्, खिमा ।’ पहिले–पहिले स्वास्थ्यका सन्देश बोकेर घर–घरमा पुग्नु पथ्र्यो । अहिले जनस्वास्थ्यका हरेक विषय अनलाइन प्रविधि र मोबाइलको माध्यमबाट हुन्छन् । जैमिनी नगरपालिकाका स्वयंसेविकामध्ये पुराना पुस्ताकी भए पनि नयाँ प्रविधिसँग खेल्न रुचाउने स्वयंसेविका हुन् खिमा।
‘सबै त जान्दिनँ तर मोबाइलबाट हुने काम त सबै गर्छु । आजभोलि एसएमएस पठाउने, फोन गर्ने, केके हो केके गर्नुपर्छ,’ उनी भन्छिन् ‘एक पटक सिकाएपछि अभ्यास गर्ने बानी छ, धेरथोर गर्छु ।’ उनलाई पछिल्लो पटक एसएमएस सिस्टमले गर्भवती, सुत्केरी र नवजात शिशुको ख्याल गर्न सहयोग गरेको अनुभव छ।
तीन सन्तानकी आमा खिमकला हजुरआमा भइसकिन् । जैमिनी नगरपालिकामा नै प्राविधिक सहायकको रुपमा कार्यरत रहेका उनका श्रीमान् ज्ञानबहादुर थापाले उमेरमै छोडेर गए । तीनभाइ छोरा सबै कमाउने भएका छन् । तर परिवारको ज्येष्ठ सदस्य भएकाले सबै परिवारको जिम्मेवारी उनलाइ छ । श्रीमान्को मृत्युपछि पनि खिमाले परिवारलाई अभिभावकविहीन भएको महसुस गराएकी छैनन् । उसो त खिमा पहिले पनि अभिभाकत्व लिने नारी नै थिइन्।
खिमा राजनीतिक रुपमा पनि सक्रिय छिन् । राष्ट्रिय जनमोर्चा निकट महिला संगठनको विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी उनी २०७४ सालको स्थानीय निर्वाचनमा वडा सदस्यकी उम्मेदवार बनिन् । एकल अंकको झिनो मतान्तरले उनलाई नेपाली कांग्रेसकी तुलसी आचार्यले पराजित गरिन् । तर खिमाले हार मानिनन् । गाउँ टोल र वडाभरि हुने हरेक क्रियाकलापमा उनको परिस्थिति हुन्थ्यो । समाजमा हुने अफ्ठ्यारा–सजिला सबै परिस्थितिकी सहयात्री हुन् उनी।
खिमा अहिले स्वास्थ्यसँगै न्यायका कुरा गर्ने भएकी छन् । सक्रियता, लगनशिलता र क्रियाशिलता देखेर नगरले उनलाई मेलमिलापकर्ता बनाएको छ । उनी अहिले वडास्तरीय मेलमिलाप समितिकी सदस्य हुन् । उनी महिला स्वास्थ्य स्वयंसेविका मात्रै होइनन्, सबै स्वयंसेविकाका लागि उदाहरण पनि हुन्।