काठमाडौं- मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासकलाई नै प्रमुख बनाउने तयारी भएको छ। जनस्वास्थ्य प्रशासकको दरबन्दी भएपनि कतिपय कार्यालयको प्रमुख तथ्यांक अधिकृत तथा अहेब रहेका छन्।
मन्त्रालयका विभिन्न निकायमा रहेका जनस्वास्थ्य अधिकृतलाई जिल्लामा पठाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा ओम अर्यालले जानकारी दिए। उनले भने, 'केही जिल्लामा पहिलेदेखि नै हुनुहुन्छ। केही जिल्लामा हामीले पठाइरहेका छौं र केही जिल्लाका लागि मुख्यमन्त्रीज्यूसँग छलफल भएको छ। उहाँ पनि सकारात्मक हुनुहुन्छ।'
उनका अनुसार अहिले सर्लाहीमा १० औं तहका डाक्टर नवलकिशोर झा छन्। सप्तरीमा जनस्वास्थ्य प्रशासक डा सतिश यादव छन्। त्यसैगरी जनस्वास्थ्य प्रशासक धनुषामा उमेश यादव र सिरहा जनस्वास्थ्य प्रशासक कृष्णदेव यादव छन्।
त्यसैगरी बारा र महोत्तरीमा तथ्यांक अधिकृत, पर्सामा डीटीएलए र रौतहटमा अहेब प्रमुख छन् । स्रोतका अनुसार मन्त्रालय अन्तर्गत रहेका जनस्वास्थ्य प्रशासकहरु निलारम्भ अधिकारीलाई पर्सा, चेतराज पण्डितलाई बारा, डा चाँदनी जैसवाललाई रौतहट र दशौं श्रवण नायकलाई महोत्तरी जनस्वास्थ्यको प्रमुख बनाउने तयारी अघि बढेको छ।