काठमाडौं- आन्दोलनरत नर्सहरुले शनिबार नर्सका प्रतिनिधि र सरकारबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै आज मंगलबार पनि नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालयमा घेराउ गरेको छन्।
नर्सिङ संघर्ष समितिले सरकार र नेपाल नर्सिङ संघबीच भएको वार्ताप्रति असहमति जनाउँदै आन्दोलन तथा विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै आएको छ।
माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी राखिने नर्स तथा अभियन्ता जिता बरालले बताइन्।आन्दोलनरत नर्सहरुको माग पूरा नहुँदै अधुरो सम्झौता गरेको भन्दै नर्सहरुले आइतबार पनि नर्सिङ संघको कार्यालय घेरेका थिए। माग सम्बोधनका लागि सोमबार बैठक बस्ने भनिए पनि झुक्याउन खोजिएको भन्दै नर्सिङ संघर्ष समितिकी संयोजक ज्योति रानाभाट बैठकमाअनुपस्थित भएकी थिईन्।
आन्दोलनरत्त नर्सहरुले सहमतिमा आपती जनाएपछि संघले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई आफ्ना सम्पूर्ण माग पूरा गर्न ४८ घण्टाको समय दिएको थियो । जुन आज ४ बजेबाट सकिँदैछ । ४८ घण्टाभित्र आफ्ना मागहरू सम्बोधन नभएमा देशभरका सम्पूर्ण सरकारी, निजी, गैर सरकारी स्वास्थ्य संस्था र मेडिकल कलेजहरूमा अत्यावश्यक बाहेकका सम्पूर्ण नर्सिङ सेवाहरू ठप्प पार्ने घोषणा संघले समेत गरेको थियो।
सरकारले नर्सिङको समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ।