डा. सुधा शर्मालाई नेपालको नयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा नियुक्त गरिएको छ। देशमा स्वास्थ्य सेवा समानतालाई अगाडि बढाउन काम गर्ने हामीहरूका लागि यो आशावादी क्षण हो। प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ तथा पूर्वस्वास्थ्य सचिव रहेकी डा. शर्माले यस भूमिकामा प्राविधिक विशेषज्ञताका साथै क्लिनिकल सहानुभूति र नीतिगत व्यावहारिकताको अनुभव लिएर मन्त्रालय प्रवेश गरेकी छिन्, जुन कुरा नेपालको स्वास्थ्य सेवा प्रणालीलाई तत्काल आवश्यक छ।
डा. शर्माले आफ्नो पेशागत जीवनमा नीतिगत, राजनीतिक र जनस्वास्थ्यका चुनौतीबीच सन्तुलन कायम गर्दै उच्च पदमा सेवा गरेकी छिन्। उनी स्वास्थ्य सेवामा पहुँचका संरचनागत बाधाहरू राम्ररी बुझ्छिन् र ती अवरोधहरु हटाउनका लागि ठोस योजनाहरु पनि बनाउने दक्षता राख्छिन्।
मन्त्री बन्ने बित्तिकै उनले लिएको पहिलो कदमले उनको प्राथमिकता स्पष्ट देखाउँछ। हालैका जेन्जी आन्दोलनमा घाइते भएकाहरूका लागि मनोपरामर्श सुविधा दिने घोषणा गर्दै उनले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्य सेवाको अभिन्न अंशका रूपमा मान्यता दिएकी छिन्। उनले आफ्नो मन्त्रालयको सञ्चालनमा पारदर्शिताको पनि प्रतिबद्धता जनाएकी छिन्, जुन प्रतिबद्धताले नेपालमा स्वास्थ्य नीतिको विकास र कार्यान्वयन गर्ने तरिकालाई रूपान्तरण गर्न सक्छ।
गत मार्च १०, २०२५ मा बिनयतारा फाउन्डेशनले स्वास्थ बीमा प्रणाली सुधारबारे बहु-क्षेत्रीय संवाद कार्यक्रम आयोजना गरेको थियो। उक्त संवादमा नीतिनिर्माता, सरकारी अधिकारी, स्वास्थ्यकर्मी, नागरिक समाज र बिरामीका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रम स्वास्थ्य खबर फाउन्डेशनको सहकार्यमा आयोजित थियो र नेपाली राष्ट्रिय टेलिभिजन तथा १२ लाखभन्दा बढी फलोअर भएको अनलाइन प्लेटफर्म ‘नेपाल लाइभ, झन्डै ४ लाख फलोअरु भएको स्वास्थ्य खबर र एक राष्ट्रिय टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो।

स्वास्थ्य नीति संवादका क्रममा डा. सुधा शर्मा र नेपालको स्वास्थ्य प्रणालीका अन्य महत्वपूर्ण सरोकारवालाहरू
सो अवसरमा डा.शर्माले प्यानलिस्टका रूपमा सहभागी हुँदै नेपालको स्वास्थ्य बीमा प्रणालीको आलोचनात्मक मूल्यांकन गरेकी थिइन्। उनले नीतिगत असंगति, बीमाको दुरुपयोग, दोहोरो बीमा प्रणाली र नियामक कमजोरीलाई प्रमुख समस्या भनेर औंल्याइन्। उनका सुझावहरू व्यवहारिक र अनुभवमा आधारित थिए, जसले स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारतर्फ इङ्गित गर्दछ।
क्यान्सर लामो समयदेखि नेपालको स्वास्थ्य नीतिमा उपेक्षित रहँदै आएको छ। रोकथाम, प्रारम्भिक पहिचान र उपचारका लागि आवश्यक स्रोत र संरचना अभावले गर्दा धेरै नेपाली नागरिक क्यान्सरको उपचारबाट वञ्चित छन्। जसले उपचार पाएका छन्, तिनले पनि अत्यधिक आर्थिक बोझ व्यहोर्नुपरेको छ। डा. शर्माले यी चुनौतीहरूलाई राम्ररी बुझ्नुभएको छ। उहाँको नेतृत्वले प्रारम्भिक पहिचान कार्यक्रम, क्यान्सर सम्बन्धी जनशक्ति विकास, र प्यालियटिभ केयर जस्ता नीतिहरू लागू गर्न बलियो सम्भावना सिर्जना गरेको छ।
सरकार र बिनयताराजस्ता गैर–नाफामुखी साझेदारबीचको सहकार्य अझ बलियो बनाउने यो अवसर पनि हो। बिनयताराले क्यान्सर उपचारलाई पहुँचयोग्य बनाउनका लागि स्वास्थ्य शिक्षा कार्यक्रम, स्वास्थ्य सेवामा पहुँच वृद्धि र मधेश प्रदेशमा पहिलो क्यान्सर अस्पताल निर्माणजस्ता पहल गर्दै आएको छ।
बिनयतारा फाउन्डेशनले देशका दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, क्यान्सर परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। ती शिविरहरूले धेरै नागरिकहरूलाई अझै आधारभूत स्वास्थ्य सेवा नै उपलब्ध नभएको देखाएका छन्, क्यान्सर परीक्षण त परको कुरा भयो। फाउन्डेशनले निर्माण गर्न लागेको २०० शैयाको क्यान्सर अस्पतालले उपचारमा ठूलो सहयोग पुर्याउनेछ, तर भौतिक संरचना मात्र पर्याप्त हुँदैन। त्यससँगै नीति सुधार, प्रारम्भिक परीक्षणको सहज पहुँच र उपचारपछि बिरामीका लागि सहयोग प्रणाली पनि आवश्यक छ।
नीतिगत संवादको निष्कर्षमा बीमा प्रणालीलाई दीगो बनाउन प्रिमियम दर बढाउने, कार्यक्रमहरूलाई एकीकृत गर्ने, डिजिटल प्रविधि प्रयोग गरी पारदर्शिता बढाउने र लक्षित समूहमा पहुँच विस्तार गर्ने सिफारिसहरू गरिएका थिए। स्वास्थ्य सचिव डा. विकास देवकोटाले ती सिफारिसहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए।
अब डा.शर्माको नेतृत्वमा स्वास्थ्य मन्त्रालयले ती सिफारिसहरूलाई व्यवहारमा उतार्ने विश्वास जागेको छ। चुनौतीहरू अझै पनि धेरै छन्, सीमित स्रोत, राजनीतिक अस्थिरता, स्वास्थ्यकर्मीका लागि अपर्याप्त तालिम, भौगोलिक कठिनाइ र परिवर्तनप्रति प्रतिरोधी संरचना। तर डा. शर्माको अनुभव, दृष्टिकोण र प्रतिबद्धताले नेपाली स्वास्थ्य प्रणालीमा सकारात्मक मोड ल्याउने अपेक्षा छ।
एक चिकित्सकको हैसियतले र नेपालमा क्यान्सर उपचारको समान पहुँच सुनिश्चित गर्ने प्रतिबद्धतासाथ, म डा. शर्माको नियुक्तिलाई प्रमाणमा-आधारित र बिरामी–केन्द्रित स्वास्थ्य नीति निर्माण गर्ने महत्वपूर्ण अवसरको रूपमा देख्छु, जुन नेपाललाई लामो समयदेखि जरुरी छ तर विरलै प्राप्त भएको छ।
डा. सुधा शर्मालाई फेरि पनि हार्दिक बधाई। नेपालमा स्वास्थ्य सेवामा पहुँच सुधारका लागि काम गरिरहेका हामी सबै उहाँको दृष्टिकोण र नेतृत्वलाई सहयोग गर्न तयार छौँ। आगामी चुनौतीपूर्ण यात्रामा सहकार्य गर्न हामी प्रतिबद्ध छौँ, किनभने नेपालका बिरामीहरू उच्चस्तरीय स्वास्थ्य सेवाका हकदार छन्। ।
(डा. विनय शाह बिनयताराका सह-संस्थापक र अध्यक्ष हुन्, जुन विश्वव्यापी क्यान्सर असमानताहरूलाई सम्बोधन गर्न समर्पित गैर-नाफामुखी संस्था हो।)