काठमाडौं- नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाटले नर्सिङ संघले आन्दोलनरत नर्सहरूलाई धोका दिएको आरोप लगाएकी छन्। उनले निजी अस्पताल सञ्चालकहरूसँग मिलेमतो गरेर नर्सहरूको हकहित मिचिएको दाबी गरेकी छन्।
रानाभाटका अनुसार नर्सिङ संघले आन्दोलनरत नर्सहरूको असहमति हुँदाहुँदै सहमति भएको भन्दै झुटो प्रचार गरेको छ। उनले भनिन्, “यो सम्झौता आन्दोलनरत नर्सहरूको सहमति बिना गरिएको धोका हो। नर्सिङ संघका प्रतिनिधिहरू निजी अस्पताल सञ्चालकहरूसँग घुस खाएर आम नर्समाथि विश्वासघात गरेका छन्।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको सहमतिअनुसार निजी मेडिकल कलेज र ठूला निजी अस्पतालहरूले कात्तिक महिनादेखि सरकारी पाँचौं तह बराबर अर्थात् ३४,७३० रुपैयाँ तलब दिने सहमति भएको छ। अन्य निजी अस्पतालहरूले हालका लागि सो दरको ८० प्रतिशत तलब प्रदान गर्ने र एक महिनाभित्र वर्गीकरण गरेर क्रमशः सरकारी सरह पुर्याउने सहमति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
तर, रानाभाटले भने सरकारले तोकेको तलबभन्दा कम दरमा सहमति हुनु नर्सहरूको अपमान भएको बताएकी छन्। उनका अनुसार, सरकारी पाँचौं तह बराबर तलब तथा अतिरिक्त भत्तासहित करिब ४० हजार रुपैयाँ हुनुपर्नेमा ३४ हजारमै सहमति गर्नु अन्यायपूर्ण निर्णय हो।