काठमाडौं-
'एकबारको जुनी हो, कहिले क्यान्सर हुनी हो... मेरो अरु को नै छर डक्टर…'
विज्ञानका बोझिला लेक्चर सुनिने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरियम हलमा बुधबार गीत गुन्जियो। माहोल शान्त बन्यो । गायक हेमन्त शर्माले आफ्नो सर्वप्रिय गीत 'मूल हौं भने रसाइदेऊ'लाई क्यान्सर सचेतनासँग जोड्दै गए:
यो ज्यान पर्यो तिम्रै भर
मेरो अरु को नै छर डक्टर
रुवाए नै रुवाइदेऊ हसाएँ नि हँसाइदेऊ
गायक हेमन्त शर्माका स्वरले पाटन अस्पतालको हललाई आशाको ऊर्जा भर्यो। उनले केवल गीत गाएनन्, स्तन क्यान्सरविरुद्धको लडाइँमा सकारात्मकता, आत्मबल र जीवनप्रेमको सन्देश दिए। श्रीमतीलाई ब्रेस्ट क्यान्सर भएपछि गायक शर्मा पछिल्लो समय अस्पतालमा बिताइरहेका छन्। चिकित्सक भेटिरहेका छन्। त्यही क्रममा भेटिएका साथीको सिफारिसमा भेटिएका चिकित्सक क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीबाट उनले श्रीमतीको उपचारका लागि सल्लाह लिए। डा शाहीले 'ब्रेस्ट क्यान्सर सचेतना' कार्यक्रमका लागि उनलाई बोलाए। डेंगुले थलिएका गायक शर्माले नकार्न सकेनन्।
उनले भने, 'श्रीमतीजी पनि आउन चाहन्थिन्। चौथोले केमो चलिरहेको छ। त्यसैले थलिएकी छिन्। जसलाई जतिबेला जे बेथा लाग्छ, त्यही ठूलो हुन रहेछ भन्ने महशुस गरें अस्पताल आएपछि। सचेतना फैलाउने कार्यमा आफूले सकेको गर्नुपर्छ भनेर म यहाँ उभिएको छु।'

उसो त बुधबारको उक्त कार्यक्रममा विविधतायुक्त थियो। दुईजना क्यान्सर रोग विशेषज्ञमा डा शाहीसँग डा आरपी बराल थिए। उनीहरुले क्यान्सर रोग र त्यससँग जोडिएका विषयमा त्यहाँ उपस्थित उपचाररत र विजेताका जिज्ञासा मेटाउने प्रयास गरे। तर, हरेक कुराको ज्ञान आफूसँग मात्रै नहुने कुराको महशुसीकरण समेत चिकित्सकद्वयमा देखियो।
क्यान्सर रोगपछि हुने मानसिक समस्याका विषयमा सल्लाह दिन मानसिक रोग विशेषज्ञ डा पवन शर्मालाई बोलाइएको थियो।
उनले क्यान्सरका बिरामी र मानसिक स्वास्थ्यका विषयमा प्रस्तुति दिए। उनले बिरामी भएपछि तनाव हुने कुरा स्वभाविक रहेको चित्रण गरे। ब्रेस्ट क्यान्सर भएका ५० प्रतिशतलाई डिप्रेशन हुने अनुसन्धानले देखाएको बताए।

उनले भने, 'यसो सोच्दा डर लाग्छ। स्वभाविक हो। सम्झिनुहोस्, अहिले भूकम्प आयो भने के हुन्छ ? यदि भूकम्प नै आयो भने शरिरले आफ्नै तरिकाले म्यानेज गर्ने गर्छ । त्यसैले यस्तो भइहाले के होला भन्ने तहका सोच बनाएर मानसिक रुपमा जटिलता ल्याउनुहँदैन। भयो भने स्वीकार गर्ने र सामना गर्ने विकल्प हुँदैन।' क्यान्सरमा शारिरीक उपचारसँगै मनको बलियो बनाउनु पनि उत्तिकै जरुरी भएको बताए।
त्यसैगरी क्यान्सर भएपछि बिरामीले चिकित्सकलाई सोध्ने साझा प्रश्न हुन्छ- के खाने, के नखाने? त्यसको जवाफका लागि पोषण विज्ञ योगिता सापकोटाको व्यवहारिक प्रस्तुति थियो।
पोषण विज्ञ योगिता सापकोटाले सन्तुलित खानाको सरल सूत्र सुनाइन्, 'प्लेटको आधा भाग सागसब्जीले भरिनुपर्छ।' त्यसैगरी बाँकी आधाको आधामा अन्न, आधामा माछामासु गेडागुडी आदि हुनुपर्ने बताइन्। उनले सप्तरंगी खानेकुराहरुमा जोड दिँदै अनावश्यक सप्लिमेन्ट नलिन सुझाइन्। साथै जीवनशैली अनुशासित बनाउन सुझाइन्।

क्यान्सर विशेषज्ञ डा. आर.पी. बरालले उपचार प्रविधि र पद्धति दुवैले क्यान्सर भएर पनि लामो समय बाँच्नेहरुको संख्या बढेको बताए। नेपालमै उपचार सम्भव रहेको उल्लेख गरे। उनले भने, 'पहिले भनिन्थ्यो— क्यान्सर ह्याज नो एन्सर, तर अहिले हामी भन्छौं- क्यान्सर ह्याज मल्टिपल एन्सर।'
क्यान्सर जितेका नेता तथा सेलिब्रिटीहरुले यसको सचेतनाका लागि बोलिदिनुपर्ने बताए। पूर्व राष्ट्रपति डा. रामवरण यादवको उदाहरण दिँदै उनले थपे, 'क्यान्सर भनेको क्युरेबल रोग हो। डराउनु पर्दैन भनेर उहाँहरुले भनिदिदुपर्छ। पत्रकारलर् क्यान्सरका नकारात्मक कथा होइन, निको भएका प्रेरक कथाहरू लेख्नुस्।'
स्कुल तहदेखि नै क्यान्सरबारे सचेतना कार्यक्रम सुरु गर्नुपर्ने बेला आएकोमा उनले जोड दिए। विशेषगरी पाठ्यपुस्तकमा यसलाई समावेश गर्नुपर्ने उनको भनाइ थियो।
नेपाल क्यान्सर सोसाइटीकी अध्यक्ष प्रमिता खनालले क्यान्सर सर्भाइभरलाई ‘विचारा’को होइन, ‘योद्धा’को दृष्टिबाट हेर्नुपर्ने बताइन्। उनले परिवार र समाजको सहयोग उपचारको मेरुदण्ड रहेको बताइन्। आफूहरुले क्यान्सर भएकाहरुको मानसिक र उपचार सहयोग गरिरहेको बताइन्। साथै समाजस्तरमा चेतनाका कार्यक्रम गरिरहेको उल्लेख गरिन्। उनले पनि भनिन्, 'उपचारको पाटो त छँदैछ। उनीहरुलाई ढाडस पनि चाहिन्छ । त्यसकारण हामी विजेताहरुले बिरामीलाई भेटेर र भिडियो कलमार्फत् कुराकानी गरिरहेका हुन्छौं।'

नेपाल ब्लड क्यान्सर सोसाइटीकी कोषाध्यक्ष शोभा खत्रीले आफूले दुईपटक क्यान्सर जितेका विषयमा अनुभव सुनाइन् । सुरुमा द म्याक्स फाउन्डेसनको सहयोग नेपाल ब्लड क्यान्सर सोसाइटी मार्फत् नेपाल आएको उल्लेख गरिन्। आफूले सहयोगका लागि गरेको प्रयासबारे जानकारी दिइन्।

द म्याक्स फाउन्डेसनका तर्फबाट श्वेता अग्रवाल र सविना घलेको प्रस्तुति थियो। नेपालमा म्याक्स फाउण्डेशनले स्तन क्यान्सरसहित विभिन्न १४ प्रकारका क्यान्सरका बिरामीहरुलाई १५ किसिमका औषधि निशुल्क वितरण गर्दै आएको उनीहरुले बताए। पाटन अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर सेन्टर बाँकेबाट बिरामीहरुलाई औषधी वितरण हुँदै आएको अग्रवालको भनाइ थियो।

'औषधी मात्रै होइन, फाउण्डेशनले आफूले उपलव्ध गराएको औषधी नियमित सेवन गर्ने स्तन क्यान्सरका बिरामीलाई त आतेजाते यातायात खर्चको समेत उपलव्ध गराउने गरेको छ,' घलेले थपिन्। संस्थाले भूगोल वा आर्थिक अवस्थाका कारण कसैको उपचार प्रभावित नहोस् भन्ने लक्ष्य लिएको अग्रवालले बताइन्।
‘पाटनलाई सेन्टर अफ एक्सिलेन्स बनाइने’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि पौडेलले क्यान्सर उपचारका लागि पाटन अस्पताललाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गर्ने बताए। उनले छुट्टै अत्याधुनिक भवन निर्माण गर्ने र त्यसमा सबै खाले क्यान्सरको निदान र उपचार हुने व्यवस्था मिलाउने योजना रहेको सुनाए।

उनले भने, 'पाटन अस्पतालका उपकुलपति भएको छु भर्खरै। हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लक्ष्य नेपाली बिरामीको क्यान्सरको उपचार स्वदेशमै उपचामा होस् भन्ने हिसाबले सुरु गर्छौं।'
साँघुरो ठाउँ र कम जनशक्तिकाबीच पाटनले क्यान्सर रोगको उपचारका छुट्टै पहिचान बनाएको भन्दै यसलाई विस्तार गर्ने योजना अघि सारेको बताए। उनले अस्पतालमा क्यान्सरका विभिन्न औषधि निशुल्क उपलब्ध रहेको बताए।
अस्पतालका क्यान्सर रोग विशेषज्ञ शाहीले क्यान्सर सचेतना दिवसलाई प्रभावकारी बनाउन विविधता अपनाएको बताए। उनी आफैंले सहजीकरण गरेको कार्यक्रममा विभिन्न कोणबाट क्यान्सर सम्बन्धी छलफल भएको थियो। उनी आफैंले पनि क्यान्सर विजेताका प्रश्नको जवाफ दिएका थिए।