'आत्महत्या रोकथामबारे खुलेर संवाद गरौं: दृष्टिकोण बदलौं' भन्ने मूल नाराका साथ यसवर्ष अर्थात १० सेप्टेम्वर २०२४ मा विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ। यसरी दिवस मनाइरहँदा सम्म नेपालमा विगतका केही वर्षयता आत्महत्याको दरमा झन् बृद्धि भई अवस्था चिन्ताजनक बन्दै गइरहेको छ। तसर्थ यस संकटलाई सम्बोधन गर्न सामूहिक जिम्मेवारीको बोध हुनु आवश्यक छ। नेपाल प्रहरी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कले नेपालमा आत्महत्याको दर निरन्तर बढ्दै गएको देखाएको छ। सन् २०२३ मा ७२२३ (सात हजार दुईसय तेइस ) जनाले आत्महत्याको कारणले ज्यान गुमाएको तथ्याङ्क छ, जुन प्रति दिन औसत २० जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन्। यो तथ्याङ्क अघिल्लो वर्षहरूको तुलनामा तीव्र रूपमा भएको वृद्धि हो जसले बढ्दो मानसिक स्वास्थ्य सङ्कटलाई पनि उद्धृत गर्दछ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देशहरूमध्य नेपालमा प्रति एक लाख व्यक्तिमा ९ जनाले आत्महत्या गर्ने गरेका छन्। तर, आत्महत्याको बारेमा भएको नेपाली समाजकोे बुझाइ, लाञ्छना र सामाजिक रूढिवादी सोचकोे डरका कारण घटना लुकाउनु र रिपोर्टिङ नै कम हुनुले यो सङ्ख्यामा एकिन तथ्याङ्क भने पाउन सकिँदैन। आत्महत्याबाट सबै भन्दा बढी युवाहरूले ज्यान गुमाएको तथ्याङ्क छ, जसमा १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिहरू पर्छन्।
यसप्रकार नेपालमा बढ्दो दरमा रहेको आत्महत्याका धेरै कारणहरू कारकका रूपमा रहेका छन्। मानसिक स्वास्थ्य विकारहरू जस्तै दुश्चिन्ता उदासीनता, डर, त्रास र अन्य मानसिक स्वास्थ्यमा आएका विचलनहरू आत्महत्याको जोखिम बढाउने महत्वपूर्ण कारकहरू हुन्। दुर्भाग्यवश, नेपालमा मानसिक स्वास्थ्य सेवाहरू सीमित छन्, प्रति एकलाख व्यक्तिमा ०.१७ मनोचिकित्सक र मनोपरामर्शविद्हरू मात्र उपलब्ध हुनुले मानसिक स्वास्थ्य हेरचाहमा पहुँचको अभाव र मानसिक स्वास्थ्यका क्षेत्रमा भएको हालको विकराल समस्यालाई प्रष्ट पार्छ। विशेष गरी ग्रामीण क्षेत्रमा आर्थिक कठिनाइहरू र आर्थिक तनाव बढ्दो आत्महत्या दरसँग प्रत्यक्ष जोडिएको छ। कोभिड १९ को महामारी र त्यसपछिको आर्थिक मन्दीले ग्रामीण तथा शहरी दुबै क्षेत्रमा थप आर्थिक सङ्कट र दबाब बढाएको छ, जसले गर्दा मानसिक रोगीहरुको सङ्ख्यामा वृद्धि भई आत्महत्याका घटनामा समेत वृद्धि भएको छ।
नेपाली समाजमा आत्महत्यालाई धेरै नराम्रो कार्य अर्थात कलंकित विषयका रुपमा लिने गरिएको छ। आत्महत्याको सोचलाई सामाजिक कलंक र प्रायः वर्जित विषयको रूपमा हेरिनुले मानसिक स्वास्थ्यमा विचलन आएका व्यक्तिहरूले मद्दत खोज्न र उनीहरूले दैनिक गर्नुपरेको संघर्षहरूबारे खुलेर व्यतm गर्न सकिरहेका हँुदैनन् जसले, मानिसहरूमा झन एक्लोपन र निराशा निम्त्याउँछ। मादक पदार्थ, रक्सी र लागूपदार्थको दुरुपयोग आत्महत्याको अर्को कारक हो। लागूपदार्थको सेवनले प्रायः मानसिक स्वास्थ्य अवस्थालाई बिगारी निर्णय क्षमतालाई कमजोर बनाउँछ र आत्महत्याको जोखिम बढाउँछ। मानवीय सम्बन्धमा दरार, वैवाहिक द्वन्द्व, घरेलु हिंसा, र अन्तरव्यक्तिगत समस्याहरू पनि आत्महत्याका अन्य कारणहरू हुन। विशेष गरी महिलाहरू यस्ता समस्याको जोखिममा हुन्छन। यसरी आत्महत्याका घटनामा दिनप्रतिदिन हुँदै गईरहेको बृद्धिलाई मध्यनजर गर्दै नेपालमा आत्महत्या रोकथामको लागि हामी सबै – व्यक्ति, परिवार, समुदाय, सरकारी निकाय, गैरसरकारी संस्था, र अन्य सरोकालवालाहरूको बहुपक्षीय प्रयास अपरिहार्य छ। हाम्रा साना र ध्यान नपुगेका कार्यहरू आत्महत्याको जोखिममा रहेका मानिसहरूका लागि ठूलो सहयोग हुनसक्छ। सरकारले विशेष गरी ग्रामीण र सेवा नपुगेका क्षेत्रमा मानसिक स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकता दिनुपर्छ। यसमा मानसिक स्वास्थ्य पेशेवर (परामर्शदाता स्वयंसेवक र कर्मचारी) हरूको सङ्ख्या बढाउने र मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवाहरूमा एकीकृत रूपमा समावेश गरिनुपर्छ। मानसिक स्वास्थ्य र आत्महत्यासँग सम्बन्धित सामाजिक अपहेलना विरुद्ध लड्न सचेतना, शिक्षा र जागरूकता महत्वपूर्ण हुन्छ। सार्वजनिक अभियानहरूमार्फत मानसिक स्वास्थ्य साक्षरता प्रवद्र्धन गर्ने, मानिसहरूलाई मद्दत खोज्न प्रोत्साहित गर्ने, र मानसिक स्वास्थ्य समस्याहरू खुला रूपमा छलफल गर्न सकिने वातावरण सिर्जना गर्न सके केहीहद्सम्म आत्महत्याको जोखिम न्यूनीकरण गर्न सकिन्छ।
संवेदनशील समूह, जोखिममा रहेका व्यतिmहरूलाई परामर्श, सहायता समूह गठनमा सहयोग र संकट व्यवस्थापन जस्ता सेवाहरू प्रदान गर्नाले यस्ता मानिसहरूमा आत्महत्याको जोखिम कम गर्न मद्दत पु¥याउन सकिन्छ। परामर्शदाता स्वयंसेवक र कर्मचारीहरूका लागि तालिम, शिक्षक, स्वास्थ्यकर्र्मी, र समुदायका नेताहरूलाई आत्महत्याको चेतावनी चिन्हहरू पहिचान गर्न र उचित व्यवहार गर्न सिकाउनु आत्महत्या रोकथाममा एक शक्तिशाली माध्यम हुनसक्छ। यस्ता कार्यहरूले जोखिममा रहेका व्यक्तिहरूलाई पहिचान गर्न र आवश्यक सहयोग प्रदानका लागि स्रोतहरूसँग जोड्न महत्वपूर्ण भूमिका खेल्छन्।
विभिन्न सञ्चार माध्यमहरूले आत्महत्याको बारेमा रिपोर्ट गर्दा उत्तरदायी भूमिका निर्वाह गर्नुपर्छ। मुद्दालाई सनसनीपूर्ण बनाउन वा आत्महत्याको जोखिम निम्त्याउन सक्ने स्पष्ट विवरणहरू प्रदान गर्नबाट जोगिनका लागि सञ्चार आचारसंहिता जस्ता नैतिक दिशानिर्देशहरू पालना गर्दै मानवीय संवेदनालाई समेत ख्याल गर्नुपर्दछ। यसप्रकार गरिएको जिम्मेवारीपूर्ण रिपोर्टिङले समस्यालाई कम गराउन र जागरूकता बढाउन विशेष योगदान गर्छ।
निष्कर्ष
आत्महत्या रोकथाम गर्न सकिन्छ। यसलाई सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ। नेपालमा, जुन स्थानमा आत्महत्याको दर डरलाग्दो गतिमा बढिरहेको छ, त्यस स्थानमा कदम पहली गर्नु हामी सबैको साझा दायित्व पनि हो। मानसिक स्वास्थ्य सेवाहरू बढाएर, सामाजिक लाञ्छना, दुव्र्यवहार र हेलाको भावना घटाएर, जोखिम समूहहरूलाई साथ, समर्थन दिएर, र उदारता, मायालु वातावरण, खुलापन र हेरचाहको संस्कृतिलाई बढावा दिएर हामी आगामी दिनमा आत्महत्याको दर कम गर्न सहयोग गर्न सक्छौं। हामीले यो बुझ्नु आवश्यक छ कि आत्महत्या हाम्रो समाजमा मृत्युको प्रमुख कारण होइन तसर्थ आजैबाट आत्महत्या रोकथामबारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौँ।