काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले अहिलेको अवस्थामा न्याम्स र वीर अस्पताल छुट्याउन नहुने बताएका छन्। न्याम्सको २२औं स्थापना दिवसको अवसरमा स्वास्थ्यखबरसँग विशेष कुराकानी गर्दै प्राडा बस्नेतले तत्कालिन अवस्थामा न्याम्स र वीर अलग गर्न नहुने कुरामा जोड दिएका हुन्।
प्राडा बस्नेतले न्याम्स र वीर तत्कालिन अवस्थामा छुट्याउँदा न्याम्स अन्तरगत हाल चलिरहेका सम्पूर्ण शैक्षिक कार्यक्रम प्रभावित हुने बताए। उनले अहिले नै दुई संस्थालाई अलग गर्दा वीर अस्पतालको सेवा समेत प्रभावित हुने जानकारी दिए।
उपकुलपति बस्नेतले न्याम्स र वीर अस्पताल छुट्याउने हो भने पहिला भक्तपुरको दुवाकोटस्थित जग्गामा अस्पताल लगायतका संरचनाहरु बनिसक्नुपर्ने र अस्पताल सञ्चालनमा आउनु पर्ने बताए। उनले चिकित्सा शिक्षा ऐनमा रहेको व्यवस्था उल्लेख गर्दै दुवाकोटमा पाँच शय शय्याको अस्पताल सञ्चालनमा आइसकेपछि मात्र न्याम्स र वीर छुट्याउने विषय अगाडि बढाउन सकिने जानकारी दिए।
'अहिले नै न्याम्स र वीर अस्पताल छुट्याउन हुँदैन। चिकित्सा शिक्षा ऐनले कुनै पनि शिक्षण संस्था चलाउन आफ्नै अस्पताल हुनुपर्ने र तीन वर्ष चलेको हुनुपर्छ भनेको छ। यो अवस्थामा न्याम्स र वीर छुट्याउँदा त सबै कार्यक्रम प्रभावित हुन्छ,' उनले भने, 'न्याम्स र वीर छुट्याउने नै हो भने दुवकोटमा कम्तीमा पाँच सय शय्याको अस्पताल सञ्चालनमा आइसकेपछि वृहत गृहकार्य गरेर छुट्याउन सकिन्छ।'
उपकुलपति डा बस्नेतले दुवाकोटमा तीन चरणमा पाँच पाँच सय शय्याको गरेर १५ सय शय्याको अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए। उनले न्याम्सले छिट्टै एमबीबीएस कार्यक्रम सञ्चालन गर्न लागेको पनि बताए।
न्याम्स स्थापना दिवसका अवसरमा स्वास्थ्यखबरकी रिता लम्सालले प्राडा बस्नेतसँग न्याम्स स्थापनाको सन्दर्भ, न्याम्सले हालसम्म गरेका काम, काम गर्ने क्रममा भोगेका चुनौती, भावी योजना, आवासीय चिकित्सकहरुका समस्या, वीर र न्याम्स छुट्याउन हुने वा नहुने लगायतका विषयमा कुराकानी गरेकी छिन्। हेरौं डाक्टर बस्नेतसँगको भिडियो कुराकानी :