साधारण अवस्थामा जलवायु परिवर्तन एक नियमित प्रक्रिया हो, सायद जलवायु परिवर्तन नभएको भए पृथ्वीमा जीवन सम्भव पनि हुने थिएन। त्यसोभए जलवायु परिवर्तन हुनु, पृथ्वीको तापमान बढ्नु समस्या कसरि भयो त? हजारौ वर्ष लगाएर बिस्तारै बढ्दै गएको तापमान तथा बदलिंदै गएको जलावायुले पृथ्वीमा प्राणीलाई समय र अवस्थासँगै इभोलेट हुने मौका दियो। तर प्रीइन्डस्टियल पेरिएडदेखि औधोगिकरण, खनिज इन्धनको व्यापक प्रयोग एवं वन विनाशको कारण जलवायु परिवर्तन शिघ्र रुपमा भइरहेको छ। यसले गर्दा पृथ्वीका फ्लोराफौना एवं इकोसिस्टम नै नष्ट हुने अवस्था छ।
नेपाल र जलवायु परिवर्तन:
नेपालको उचाइ, भौगोलिक बनावटका कारण नेपाल जलवायु परिवर्तनबाट हुने प्रभावको उच्च जोखिममा छ। बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, यसले निम्त्याउने खाध्यान्न अभावसँगै बदलिँदो पर्यावरणका कारण मानव एवं पशुपंक्षीको स्वास्थ्य दिन प्रतिदिन प्रतिकुल बन्दै गएको छ। सन् २०१६ देखि २०४५ सम्म हालकै अवस्था रहे नेपालको औसत तापक्रम ०.९ डिग्री सेन्टिग्रेड बढ्ने आंकलन गरिएको छ। नेपालको जाडो अझ बढी सुक्खा हुने एवं मनसुनमा वर्षा ३ गुणा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ। साथै जलवायु परिवर्तनले निम्त्याउने बाढीका कारण प्रभावित हुने नेपालीको संख्या सन् २०१० मा १,५७,००० बाट २०३० सम्म ३५०,००० पुग्ने विभिन्न अन्तरास्ट्रिय रिपोर्टमा देखिएको छ। नेपाल जलवायु परिवर्तनमा नगन्य योगदानाकर्ता हो। तर पनि यसको असर झेल्ने देशहरुमध्ये अग्रस्थानमा आउँछ। जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा ह्रास आउनु, प्राकृतिक प्रकोपको संख्या बढ्दै जानु, तराइमा गर्मी मौसममा लु आदिको समस्या बढ्नु भने हिमाली क्षेत्रमा हिमालहरुबाट हिउँ पग्लिएर नयाँ हिमताल बन्नु, बनेका हिमताल फुटेर अन्य दुर्घटना हुने शिलशिला बढ्ने क्रममा छ।
के गर्ने?
जलवायु परिवर्तनका असरबाट बच्न नेपाल जस्तो देशले गर्न सक्ने भनेको विभिन्न अनुकुलनका अभ्यासहरु नै हुन्। अनुकुलनका लागि भौतिक पूर्वाधारको निर्माण गर्दा जलवायुको असर कम गर्न सक्ने पूर्वाधार निर्माण, पानीको सुरक्षित भण्डारण, खाद्य संकटबाट बच्न वैकल्पिक खाद्यश्रोतको पहिचान, भेक्टरको प्रजनन स्थलको निरीक्षण, आदि केही सामान्य उदाहरण हुन्। यो सबै गतिविधि गर्नका लागि प्रमुख कडी भनेको समुदायमा जलवायु परिवर्तनको कारण, यसको असर र यसको अनुकुलनबारे सचेतना बढाउनु नै हो।
जलवायु परिवर्तनको असमान प्रभाव:
कुनैपनि समस्याले महिला, बालबालिका, वृद्ध, अपांग, गरिबीको रेखामुनी रहेको समुदाय एवं पिछडीएको अन्य वर्गलाई बढी असर गर्छ। जलवायु परिवर्तनको असर पनि विभिन्न उमेर समूह, लिंग एवं समुदायको हिसाबले असमान रुपमा हुने गर्। विद्ध, बालबालिका, अपांग एवं महिला शारीरिक बनावटका कारणले विपदको समयमा भाग्न गाह्रो हुनेदेखि लिएर असमान शक्ति संरचनाका कारण विपदको समयमा आउने राहत पाउन पनि मुश्किल हुन्छ। अझ कतिपय समस्या (उदाहरणका लागि लू तथा वायु प्रदुषण) ले महिलालाई बढी असर गर्छ भनेर विभिन्न अध्ययनले पुष्टि गरिसकेको अवस्था छ। यसले गर्दा जलवायुको अनुकुलनको लागि लैंगिक, अल्पसंख्यिक, उमेर समुह एवं समुदाय लक्षित कार्यक्रम गर्न आवश्यक देखिन्छ। जलवायु परिवर्तनमा अनुकूलन निजी र सार्वजनिक दुवै क्षेत्रको प्रतिक्रियाहरू समावेश गरी समग्र विकास रणनीतिको हिस्सा हुनुपर्छ। सरकारले अनुकूलन कार्यक्रममा सार्वजनिक लगानीलाई प्राथमिकता दिन सक्छ।
व्यक्तिगत रुपमा गर्न सकिने अनुकुलनका उदाहरण:
घरलाई शित्तल बनाउन इन्शुलेशन भएको घर बनाउनेदेखि छत, बरण्डा आदिमा बोटबिरुवा लगाउन सकिन्छ। विदेशमा ठुलाठुला भवनमा यस्ता बोटबिरुवा रोपेर भर्टिकल गार्डेन बनाउने प्रविधि निकै मौलाएको छ। घरभित्र बिरुवा राख्नाले मात्र पनि घरभित्रको तापक्रम उल्लेखनीय रुपमा घटाउन मद्दत गर्छ। त्यसैगरी बढ्दो सुक्खापन, खडेरी आदिको समस्या समाधान गर्न स्थानीय बोटबिरुवा रोप्न सकिन्छ। यसबाहेक आफू बसेको ठाउँ कुन विपदको जोखिममा छ भनेर जानकार रहने, विपदको समयमा अपनाउनुपर्ने सावधानी, त्यस्तो अवस्थामा चाहिने अत्यावश्यक सामाग्री एवं सम्पर्क नम्बर सधैँ तयारि अवस्थामा राख्नुपर्छ।
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
जलवायु परिवर्तन सम्बन्धी सामुदायिक चेतना जगाउने, स्थानीय रूपमा सन्दर्भ सामाग्रीहरूको विकास गर्ने, स्थानीय तहको हरेक गतिविधि वातावरण संरक्षण एवं अनुकुलनको दृष्टिले प्रभावकारी छन् कि छैनन् भनेर अध्ययन गरेपश्चात मात्र कार्यक्रम लागू गर्ने जिम्मेवारी स्थानीय सरकारको हुने गर्दछ। त्यसैले अहिलेको अवस्थामा स्थानीय तह जलवायु परिवर्तनबाट कतिको प्रभावित भएको छ, आगामी वर्षहरुमा उत्पन्न हुने जोखिम के कस्ता छन् र अनुकुलनका लागि केकस्ता गतिविधि कसले गर्ने भनेर स्थानीय आवश्यकताको आधारमा ऐन एवं कार्ययोजना बनाउनु अपरिहार्य बनेको छ।स्थानीय तहले विकासको रुपमा पिच सडक बनाउने देखि लिएर विकासका अन्य निराम कार्य गर्दै गर्दा ति संरचनाहरु बढ्दो गर्मि, बाढी एवं अन्य जोखिममुक्त कसरि बनाउने भनेर सोच्न जरुरि छ। दस बर्ष अगाडि गर्मीमा पनि विद्यालय संचालन गर्दा अहिले तराइका कतिपय स्थानीय तहमा हरेक वर्ष गर्मीमा लु लाग्ने डरले कैयौ दिन विद्यालय छुट्टी गर्नुपर्ने भएको छ। यहि दिशामा अगाडि बढिरहने हो सायद पचास बर्ष पछी गर्मि याममा बाहिरको काम रातिमात्र गर्न सकिने अवस्था नआउला भनेर भन्न सकिने अवस्था छैन। त्यसैले विशेसगरी स्थानीय निकायले समयमा अनुकुलनको दृस्टीले सरकारी संरचनामा इन्जिनियरिंगका नया मापदण्ड बनाएर अघि बढ्ने कि? भनेर पनि सोच्न आवश्यक देखिन्छ। त्यसैगरी शहरमा अर्बान फरेस्ट, पार्क, भएका पानीका श्रोताहरुको संरक्षण गर्न पनि उतिकै जरुरि छ।
अन्तत: जबसम्म हामीले अप्राकृतिक रुपमा बदलिएको जलवायु र बढ्दो विपदलाई “प्राकृति” को बदलिँदो रुप भनेर व्याख्या गर्छौ, तबसम्म मानवीय कारणले भएको जलवायु परिवर्तनलाई रोक्न तथा यसको जोखिम न्यूनीकरण एवं अनुकुलन गर्न कठिन छ भन्ने कुरा स्थानीय निकाय एवं सर्वसाधारणले बुझ्न जरुरी छ।