काठमाडौं– देशभरका नर्स र स्वास्थ्यकर्मीहरूले पारिश्रमिक तथा श्रम–अधिकारका मागसहित एक महिनादेखि चलाउँदै आएको आन्दोलनमा आज विभिन्न स्वास्थ्यकर्मी संघसंस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका छन्।
संयुक्त विज्ञप्तिमा नर्स र स्वास्थ्यकर्मीहरूले भोग्दै आएका पारिश्रमिकका समस्या गम्भीर बन्दै गएको र श्रम शोषणको चरम अवस्था अन्त्य गर्न सरकारलाई तत्काल हस्तक्षेप गर्न माग गरिएको छ। विज्ञप्ति अनुसार, आन्दोलनलाई विभिन्न बहानामा कमजोर पार्ने प्रयास भइरहेकामा ती प्रयास असफल हुने चेतावनी पनि दिइएको छ।
नर्स संघर्ष समिति, नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल पब्लिक हेल्थ एसोसिएसन, नेपाल रेडियोलोजिकल सोसाइटी, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान), हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल सीएमए संघ, र नेपाल दृष्टि विशेषज्ञ संघलगायतका संगठनहरूले विज्ञप्तिमा हस्ताक्षर गर्दै नर्स र स्वास्थ्यकर्मीहरूको आन्दोलनलाई न्यायसंगत र अपरिहार्य भनेका छन्।
